News 24 Television
कुलमान र हितेन्द्रको फरक दाबीले अन्यौलमा जनता, आखिर को गलत ?

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक फेरिएसँगै विद्युत आपूर्ति अनियमित हुनुका साथै प्राधिकरणको नाफाघाटामा समेत सर्वसाधारण अन्यौलमा पर्ने स्थिति देखिएको छ । अघिल्ला कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई करिब ४६ अर्ब सञ्चित नाफामा देखाएका थिए । पछि उनलाई हटाएर राखिएका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण ५ अर्ब नोक्सानीमा रहेको भन्दै श्वेतपत्र नै जारी गरे । 

गत वैशाख १९ गते शाक्यले विद्युत प्राधिकरणको आ.व. २०८०/०८१ सम्मको कुल सञ्चित नाफा करिव ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको भए पनि चालु आ.व. को फागुन मसान्तसम्म ह्रासकट्टीको दाबी सहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानीमै रहेको बताएका थिए । चालु आ.व.को फागुनसम्मको नाफा मात्रै ९ अर्ब ४८ करोड रुपैयाँ भएको उनको भनाइ छ । तर आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टी गर्दा भने प्राधिकरण नोक्सानमा देखिनको उनले बताए । 

कुलमानले भने प्राधिकरण नोक्सानीमा रहेको कहिल्यै बताएनन् । कि त उनले आयकर ऐनअनुसार ह्रासकट्टीसहितको अडिट गराएनन् या यो विवरण सार्वजनिक गरेनन् । गत साउन २५ गते तत्कालीन कार्यकारी निर्देशक घिसिङले विशेष पत्रकार सम्मेलन गर्दै चालु अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले खुद नाफा १३ अर्ब ३१ करोड कमाएको बताएका थिए । आर्थिक वर्ष २०७२/०७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसपछि २०७३/०७४ मा १ अर्ब ५० करोड खुद नाफा कमाएर नाफाको यात्रा तय गरेको उनले बताएका थिए । कुलमानकै आगमनपछि प्राधिकरणले सुरु गरेको नाफाको इतिहास गत आर्थिक वर्षस ४६ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको उनको दाबी थियो, जबकि ८ वर्षअघिसम्म प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा थियो ।

कुलमान र हितेन्द्रको खुद सञ्चित नाफाको कुरा चाहिँ मिलेको छ, तर ह्रासकट्टीपछि हुने घाटाको कुरा मिलेको छैन । यसले गर्दा जनता ठूलो अन्यौलमा परेका छन् । अडिट प्रणालीको फरकले गर्दा यसो भएको कतिपयको विश्लेषण छ, यद्यपि यसबारे जनतासामु स्पष्ट पार्नुपर्ने सरोकारवाला सबैको दायित्व हो । यस अन्यौलबाट उन्मुक्तिका लागि माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युत प्राधिकरणको नाफाघाटा प्रकरणबारे तीन वटै पक्ष झिकाएर छलफल गर्न माग गरेका छन् । बुधवारको संसदको पूर्वाधार विकास समिति बैठकमा उनले कुलमान प्राधिकरणमा हुँदा एउटा अडिट सिस्टम र अहिले हितेन्द्र आइसकेपछि अर्को तरीकाले अडिट गरिएको बताए । संसदीय समिति स्पष्ट हुनका लागि हितेन्द्र, कुलमान र महालेखा परीक्षकलाई बोलाएर छलफल गर्न उनको माग छ । प्रतिपक्षले कुलमानको रक्षा गर्ने र सत्तापक्षले खेदो खन्ने कामको अन्त्य गर्न पनि यसरी त्रिपक्षीय छलफल गरी स्पष्ट हुन जरुरी रहेको बताउँदै उनले कुलमान दोषी देखिए कानूनअनुसार कारबाही गर्नुपर्ने धारणा राखे ।

राम्रो गरेको जतिलाई राम्रो र नराम्रो गरेको भए नराम्रो भन्नुपर्नेमा सांसदको सापकोटाको जोड छ । यद्यपि ऊर्जामन्त्री दीपक खड्का भने हाकाहाकी कुलमान गलत र हितेन्द्रले जारी गरेको श्वेतपत्र सही रहेको बताउँछन् । प्राधिकरणको नाफाघाटा सम्बन्धमा कुलमान एमडी हुँदैका बेलामा बोर्ड निर्णय गरेर प्रस्तावलाई अडिट गर्नुपर्छ भनेको तर उनले नमानेको मन्त्रीको भनाइ छ । समयमै महालेखा परीक्षकले प्राधिकरणको घाटा देखाइरहेको तर कुलमानले भने नाफा मात्र सार्वजनिक गरेको उनको दाबी छ ।

यसरी सत्तापक्षले कुलमानलाई गलत देखाउन खोजेको छ भने प्रतिपक्ष र अधिकांश सर्वसाधारणले कुलमान सही र हितेन्द्र तथा वर्तमान ऊर्जामन्त्री र प्रधानमन्त्रीको गलत मनशाय रहेको आरोप लगाउँदै आएका छन् । यससँगै कुलमान जानु र पछिल्लो समय विविध कारण देखाउँदै प्राधिकरणले अस्वाभाविक रुपमा विद्युत कटौती (लोडशेडिङ) गर्नुले पनि सर्वसाधारण थप हैरान भएका छन् । विद्युत प्राधिकरणको विभिन्न क्षेत्रबाट विरोध समेत भइरहेको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन भन्छन्– ‘ऊर्जामन्त्रीजस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ । त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर उनीहरुले हटाउने छाँटकाँट देखिएन । बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।’ 

उर्जामन्त्री खड्का भने लोडसेडिङको हल्ला केवल सामाजिक सञ्जालको मात्रै भएको र यथार्थमा लोडसेडिङ नरहेको बताएका छन् । सस्तो लोकप्रियताका लागि हल्ला आएको र विदेशबाट समेत फोन गरेर लोडसेडिङ भएको भन्दै आफूलाई दुःख दिने काम भइरहेको उनको गुनासो छ । साथै, मर्मत–सम्भारका लागि बाहेक अन्य कुनै पनि बहानामा अब लोडसेडिङ नहुने पनि उनले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update