News 24 Television
जेठ १५ उथलपुथलको संकेतःराजावादी आन्दोलनलाई प्रतिबन्ध लगाउँदै सरकार !

काठमाडौं । गणतन्त्रवादी र राजावादीबीच जेठ १५ मा महाभिडन्त हुने देखिएको छ । राजावादीले राजसंस्था र हिन्दुराज्य स्थापनाको आन्दोलन गर्देछन् भने गणतन्त्रवादीले गणतन्त्र स्थापना दिवस मनाउँदैछन् । 

राजनीतिका फरक ध्रुवमा रहेका शक्तिले एकैदिन कार्यक्रम गर्दा माहोल चर्किने देखिएको छ । राजवादीले शान्तिपूर्ण आन्दोलन गर्ने दाबी गरिरहेका छन् । तर चैत १५ को राजावादीको हिंसात्मक आन्दोलनले झस्किएको सरकारले भने राजावादी आन्दोलनलाई प्रतिबन्ध लगाउने संकेत गरेको छ । 

जेठ १५ का दिन नेपाली राजनीतिमा ठुलो हलचल पैदा हुने संकेत देखिएको छ । एकातर्फ गणतन्त्रवादीले स्थापना दिवस मनाउँदा अर्काेतिर राजावादीले सोहि दिन ठुलो आन्दोलन चर्काउने घोषणा गरिसकेका छन् । 

यस्तो अवस्थामा फेरि पनि मुठभेडको सम्भावना बढेको छ । व्यवस्था र अवस्था परिवर्तन भन्दै राजावादीहरुले राजसंस्था र हिन्दुराज्य स्थापनाको निर्णायक आन्दोलन गर्ने बताइरहेका छन् । शान्तिपुर्ण आन्दोलनको तयारी भइरहेको तर सरकारले दमन गरे प्रतिवादमा उत्रिने राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही बताउँछन् । 

यतिबेला सम्पुर्ण राजावादी शक्ति पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा बनेको नवराज सुवेदीनेतृत्वको संयुक्त जनआन्दोलन समितिमा गोलबद्ध छन् । देशभित्र र बाहिर रहेका नेपालीलाई आन्दोलनमा होमिन राजवादीले आह्वान गरेका छन् । 

जेठ १५ मा संघीय राजधानी काठमाडौँमा हजारौँ नागरिक उतार्दै सरकार र गणतन्त्रवादीलाई चेतावानी दिने तयारीमा राजावादी लाग्दा सोही दिन गणतन्त्रवादीले विशेष कार्यक्रम गर्दैछन् । नेपाली जनताको बलिदानबाट २०६५ साल जेठ १५ मा गणतन्त्र स्थापना भएको सम्झनामा सरकारले हरेक वर्ष जेठ १५ मा विशेष रुपमा गणतन्त्र दिवस मनाउँदै आएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गणतन्त्र दिवस मुल समारोह समिति नै बनेको छ । त्यसैले गणतन्त्र दिवसको उत्सवमा राजावादीहरुको आन्दोलनले नकारात्मक सन्देश जाने भएकाले पनि सरकारले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध नै लगाउने संकेत गरेको छ । 

चैत १५ को तीनकुने आन्दोलन हिंसात्मक बन्दा पत्रकारसहित दुई जनाले ज्यान गुमाउनु परेको थियो । उक्त हिंसात्मक आन्दोलनका क्रममा सोही आन्दोलनको रिपोर्टिङ गरिरहेका पत्रकार सुरेस रजकलाई जिउँदै जलाइयो । 

सोही प्रदर्शनमा आन्दोालनकारी सविन महर्जन मारिए । गोली लागेर घाइते निहत्था नागरिकहरु अहिले पनि अस्पतालको शैयामा उपचारकै क्रममा छन् । राजावादी र सरकार दुबैले संबेदनशिलता गुमाउँदा उक्त घटना हिंसात्मक बनेको थियो । 

उसो राजवादीले सरकारलाई दोष दिइहरका छन् भने सरकारले आन्दोलन पक्षलाई दोष दिइरहेको छ । यस्तो अवस्थामा जेठ १५ लाई लिएर राजनीतिक बृत फेरि तातेको छ । 

जेठ १५ किन विशेष छ ?

२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको दिन हो । जनताले जनताका लागि गरिने शासनलाई सामान्य भाषामा गणतन्त्र भनिन्छ । गणतन्त्र स्थापनाअघि नेपाल एकात्मक राज्य ब्यवस्थामा थियो । अर्थात् मुलुक राजाको हुकुमी शासनमा चलेको थियो । ०६२÷६३ को जनआन्दोलनको बलमा नै नेपालबाट राजतन्त्रको विधिवत् अन्त्य भएर गणतन्त्र स्थापना भएको हो ।

 नेपाल जनताको त्याग र बलिदानको संघर्षबाट स्थापित गणतन्त्र नेपाली जनताका लागि विशेष दिनका रुपमा मानिन्छ । मुलुकलाई एकात्मक राज्यसत्ताबाट बहुदलीय राजनीतिक प्रणालीमा प्रवेश गराउन महत्वपुर्ण भुमिका खेलेका राजनीतिक पार्टीका नेता कार्यकताले हरेक बर्ष जेठ १५ लाई गणतन्त्रलाई विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । 

राजवादीले जेठ १५ मै आन्दोलन किन रोजे ?

आगामी जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको १७ बर्ष पुरा हुँदैछ । गणतन्त्र स्थापनाको दिनलाई राजावादीले कालो दिनका रुपमा समेत लिने गरेका छन् । त्यो हिसावले राजावादीले जेठ १५रोजेका हुन् । पछिल्लो समय गणतन्त्र स्थापना भएको झण्डै दुई दशक पुग्न लाग्दा समेत जनताले राहत महसुस गर्न नपाएको जनगुनासो बढिरहेको छ । 

यहि अवस्थामा जनताको असन्तुष्टि क्यास गर्दै राजतन्त्रको मुद्धा स्थापित गर्न सकिन्छ भन्ने भान राजावादीले गरेका छन् । उक्त दिन ठुलो आन्दोलनको ध्वनी गुञ्जाउन सकेमा मुद्धा थप स्थापित हुने विश्वास राजावादीको छ । 

तीनकुने आन्दोलनबाट सरकार र राजावादीले सिक्ुनपर्ने पाठ

चैत १५ मा तिनकुने हिंशात्मक आन्दोलनले नेपाली जनताको मनमै चोट पुगेको छ । राजावादी र सरकारको असक्षमताले दुई जनाले अनाहकमा ज्यान गुमाउन पुगे । तीनकुने घटनाको घाउ अहिलेसम्म निको हुन सकेको छैन । पुनः जेठ १५ को लागिराजवादी र सरकारको तयारी देख्दा ठुलै दुर्घटनाको  आकलन गर्न थालिएको छ । 

के राजावादी आन्दोलन मथ्थर भएको हो ?

पछिल्लो समय राजावादी आन्दोलन मथ्थर भएको विश्लेषण सत्तारुढ दलकै नेताहरुले गरिरहेका छन् ।  हुन पनि गत फागुन २५ मा पुर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौँ फिर्तीमा देखिएको जनलहर त्यसयता देखिएको छैन । विशेगषगरी तीनकुने आन्दोलन हिंसात्मक भएयता त राजावादी शक्तिहरु तितरवितर नै भए ।राजावादी शक्तिले एक्लाएक्लै आन्दोलनको बाटो रोज्दा जनसहभागिता न्युन देखियो । राप्रपाले बल्खुमा गरेको प्रदर्शन तथा राप्रपा नेपालले रत्नपार्कमा गरेको सभाको उपस्थिति देखेर नै गणतन्त्रवादीहरुले राजावादी आन्दोलन मत्थर भएको विश्लेषण गरेका हुन् । 

त्यतिबेलासम्म सुवेदीको नेतृत्व स्वीकार नगरेका राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्ट लगायतका नेताहरु एकएक उनको नेतृत्व स्वीकार गरेर एउटै मञ्चमा उभिएर हातेसाङलो नै बनाएका छन् । 

विभिन्न ६ राजावादी दल तथा तथा ४ दर्जन बढि समुहहरु एकढिक्का भएर जेठ १५ को तयारीमा जुटेका हुन् । अझ आन्दोलनको पूर्वसन्ध्यामा राजावादी आन्दोलनका कमाण्डर सुवेदीले रास्वपालाई समेत आन्दोलनमा साथ दिन भन्दै पत्र नै पठाएपछि एक पटक सबैलाई झस्काएको छ । तर रास्वापाले भने राजावादी आन्दोलनलाई तत्काल साथ नदिने बताएको छ । अनिश्चितकालिन आन्दोलन घोषणा गरिएको जेठ १५ ले कस्तो रुप लिन्छ निकै चासोको विषय बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update