News 24 Television
सांसदहरुको शरम हरायो ! दिनहुँ झगडा

काठमाडौं । संसदीय समितिमा दिनहुँ भनाभन र चर्काचर्कीका घटना बढ्न थालेका छन् । कतिपय अवस्थामा त सांसदहरु अमर्यादित र आक्रोशभावले पेस भइरहेका छन् ।

समितिका सभापतिहरु समेत समिति सदस्यहरुसँग भनाभन गर्न व्यस्त देखिन्छन् । पछिलो समय संसदीय समितिमा सांसदहरुका अमर्यादित व्यवहार छरपष्ट हुनेक्रम बढिरहेका छ । बैठकमै हानाहानसम्मको अवस्था आइरहेका छन् भने भनाभन न दिनहुँजसो हुने गरेका छन् । 

समितिका सभापतिहरु समेत समिति सदस्यहरुसँग बाजाबाजमा उत्रिने गरेका छन् । विहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच यस्तै भनाभन चल्यो । उनीहरुको संवादको स्तर सुन्दा लाग्छ, उनीहरु आफ्नो भान्सामा झगडा गरिरहेका छन् । 

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बैठक बसिरहेको थियो । बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभनको अवस्था सृजना भएको आरोप माओवादी सांसद मोदीको छ । संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्यपूर्ण भएको उनको प्रतिक्रिया छ ।  

सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनको भनाइ छ । सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाएका थिए ।

यस्तै, सभापतिले हरेक पटकको बैठकलाई अमर्यादित बनाउने काम गरेको भन्दै आलोचना गरेपछि मोदीले आफूलाई समितिका सभापतिले नभई आफ्नो पार्टीले पठाएको जवाफ दिएका थिए । भनाभनको क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युवर ल्याएर स्टन्ड गरेको बताएका थिए । 

समितिको बैठकमा छलफलभन्दा ज्यादा झगडा मच्चिने गरेको छ । भनाभनकै बीच पनि संसदीय समितिले केही निर्णय भने गरेको छ । पतञ्जली जग्गा प्रकरणबारे गरिएको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय भएको बताइएको छ । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति ऋषिकेश पोखरेलले पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय र विभिन्न ठाउँहरुमा सोधपुछ थरी प्रतिवेदन बनाएकोमा बैठकले थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय गरेको बताए । 

बैठकले सार्वजनिक लेखा समितिमा आएका उजुरीहरुबारे अध्ययन गर्न गठित सात वटा उपसमितिको समय एक महिनाका लागि थप गर्ने निर्णय गरेको छ । साथै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा कसैको पनि अविश्वास नरहेको र अख्तियारमा थप अनुसन्धानका लागि पठाइसकिएको छ । 

प्रसंग फेरि संसदीय समितिमा सांसदका झगडाहरुकै जोडौं । सार्वजनिक लेखा समितिको यो भनाभन मात्रै होइन, अन्य सबै समितिको हिसाब हेर्दा महिनामा कम्तिमा पनि ५, ६ बैठकमा सांसदहरुले उग्र रुप देखाएका हुन्छन् । 

-   बुधबार मात्रै पनि नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार गरेकी थिन् । 

-   सभापति साहका अनुसार सांसद कुसारी ढिलोगरी बैठकमा आएकी थिइन् । त्यसपछि उनले समय नलिकनै बोल्न थालिन् । 

-   यसपछि सभापति साहले उनलाई रोकेका थिए। तर, सांसद कुसारी बम्किइन् र माइक प्रहार गरिन् । तर, लागेन ।

-    उनी स्वयंले समेत यो तथ्य स्वीकार गरिसकेकी छन् । 

-  केही दिन अघि मात्रै समिति बैठकमा रास्वपा सांसद विनिता कठायतले सभापतिसँग बाजाबाज गरेकी   थिन् । 

-    यि नै विनिता कठायतले यहि महिना अघि अनुगमनमा गएको टोलीले गरेको खर्चको विवाद झिकेर एनजीओको भातमासु खाएर ठुला कुरा गर्ने भन्दै चर्का–चर्का स्वरमा हंगामा मच्चाएकी थिन् । 

-    केही महिना पहिले सांसद प्रेम सुवालले पनि समिति सभापतिलाई बैठकमै कुटौला झै गरेका थिए । 

यि केही घटना मात्रै हुन्, यस्ता थुप्र्रै उदाहरण छन्, सांसदका अमर्यादित व्यवहारका । संसद सभ्य र सालिनतापूर्वक प्रस्तुत हुने थलो हो । जनताका आवाज उठाउने थलो हो । तर, सांसदहरुले झगडा गर्ने थलोका रुपमा गलत प्रयोग गरिरहनु कतिको स्वभनिय हो ?

यसबार सोच्ने बेला भएन र ? समिति सभापतिले पेलेको पेलै गर्ने अनि सांसदहरु उफ्रेको उफ्रेई गर्ने हो भने सांसदीय समितिको बैठक होइन, झगडा घर भनि जनताले बुझ्ने अवस्था यति गति हो भने धेरै छैन । सभापति र समिति सदस्यले आफ्नो पदीय मर्यादाको ख्याल गरि जनहितका सवालमा गम्भिर बन्ने कि ? 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update