News 24 Television
ज्ञानेन्द्रको छहारीमा राजावादी, व्यवस्था नै भत्काउने टार्गेट !

काठमाडौँ । छिन्नभिन्न अवस्थामा रहेका राजावादीहरु एकाएक मोर्चाबन्दीमा बाँधिन पुगेका छन् । राजतन्त्रको पुनस्र्थापना र हिन्दू राष्ट्रको एजेन्डा बोकेर पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  राप्रपा नेपाल तथा राष्ट्रिय शक्ति नेपाल लगायत राजावादी दलहरु फरक संगठन र फरक झण्डामुनी छन् । यद्यपि पछिल्लो समय राजावादी आन्दोलन बढ्दै जाँदा उनीहरु एकै मोर्चामा सामेल बनेका हुन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति मातहत नै रहेर जेठ १५ गतेदेखि राजावादीहरुले संयुक्त रुपमै वृहत र निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन् । जहाँ सबै राजावादी शक्तिहरुको सहभागीता रहनेछ । 

ज्ञानेन्द्रको छहारीमा राजावादी !

मुलुकमा कुशासन र भ्रष्टाचार बढ्यो । राजानीतिक दलहरु सुध्रिएनन् । वर्तमान सरकार र राजनीतिक दलहरुले यसको निकाश दिन सकेनन् । जसले राजसंस्था पुनस्र्थापनाको माग जबरजस्त स्थापित गराएको छ । तर यस्तो अवस्थामा पनि राजावादी दलहरु नै छिन्नभिन्न अवस्थामा रहे । यसैलाई एकीकृत र मोर्चाबन्दी गराउन पूर्वराजा ज्ञानेन्द्र शाह आँफै सक्रिय देखिएका छन् ।  पूर्वराजाकै आग्रहपछि राजावादी दलहरु एकै र्मोर्चामा उभिएका हुन् । 

राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपाको महाधिवेशनमा आफूलाई हराइएको भन्दै ज्ञानेन्द्र शाहसँग बिच्किएका थिए । तर अहिले उनी पूर्वराजाकै आग्रहमा मोर्चामा सामेल छन् । अर्कोतर्फ आफूलाई भेट दर्शन नदिएको भन्दै गुनासो गरिरहने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपनि अहिले पूर्वराजाकै आग्रह र डिजाइन अनुसार मोर्चाबन्दीमै छन् । 

यसअघि राजसंस्था पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिको संयोजक नवराज सुवेदीलाई बनाइएको भन्दै राजावादीहरुमा तीव्र असन्तुटि देखिएका थिए । यद्यपि पूर्वराजा ज्ञानेन्द्रले नै राप्रपाका ७ नेताहरुलाई निर्मल निवास बोलाएर लञ्च मिटिङ नै गरेर राजावादीहरु एक हुन नसकेकोप्रति गुनासो गरेका थिए । यसपछि पनि राजावादीहरु एकीकृत हुने अवस्थामा पुगेका हुन् । 

जेठ १५ को आन्दोलनको छेको पारेर राजावादी संगठनका नेतृत्वलाई फेरी छलफल गर्दै पूर्वराजले पुनः आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन् । ज्ञानेन्द्रले बिहीबार मात्रै होटेल सोल्टीमा राजेन्द्र लिङ्देन, कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट र जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसँग दिवा खानासहित करिब २ घण्टा छलफल गरेका थिए । जहाँ पूर्वराजा शाहले राजसंस्था र हिन्दु राष्ट्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने भनेका थिए । साथै पूर्वराजाले आन्दोलनलाई शान्तिपूर्वक बनाउन सुझावसमेत दिएको बुझिएको छ ।   

फेरि मुठभेडको खतरा !

राजावादीहरु व्यवस्था नै बदल्ने हेतुले गणतन्त्र दिवसकै अवसर पारेर अनिश्चितकालीन र निर्णायक आन्दोलनमा उत्रिँदैछन् । उनीहरुले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा सम्झौता नगर्ने नेताहरुलाई नछोड्ने चेतावनी पनि दिँदै आएका छन् । यद्यपि प्रधानमन्त्रीलाई भने हेलिकप्टरबाट भागेर जान छुट दिनेजस्ता उत्तेजक अभिव्यक्ति उनीहरुबाट  आइरहेको छ । यस अभिव्यक्तिलाई सरकारले पनि चुनौतीकै रुपमा लिँदै राजावादीको आन्दोलनलाई प्रतिबन्ध लगाउनसक्ने सम्मको टिप्पणी गरिरहेको छ । तर पूर्वतयारी र अभिव्यक्ति हेर्दा राजावादीहरु पनि त्यसै ‘व्याक’ हुने अवस्था छैनन् । 

विगतका आन्दोनलमा पनि प्रदर्शनकारी र प्रहरी एकअर्काविरुद्ध आक्रामक बन्दा ठूलै जनधनको क्षति हुने गरेका छन् । यसअर्थमा जेठ १५ पछिका आन्दोलनमा पनि सरकार र आन्दोलनकारीहरु संयमित नभए विगतकैजस्तो व्यथा नहोहोरिएला भन्ने अवस्था छैन । तसर्थ जेठ १५ पछिका आन्दोलनहरुमा पनि सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै पक्षले संयमता अपनाउन जरुरी देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update