
काठमाडौँ । बुटवलको सुप्रिम सहकारी प्रकरणमा सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
हाल रुपन्देही जिल्ला कारागारमा रहेका रविको पक्षबाट दायर बन्दी प्रत्यक्षीकरण रिट तथा उच्च अदालतको आदेश बदर गर्नेबारेको निवेदनमाथि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले शुक्रबार उक्त आदेश सुनाएको हो ।
यसअघि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको थियो, सर्वोच्चले सोही आदेशलाई सदर गरेको हो । साथै छविलाल जोशीलाई पनि थुनामै राख्न आदेश भएको छ । छविलाई जिल्ला अदालत रुपन्देहीले नै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
आदेश सुनाउनुअघि रास्वपा कार्यकर्ता तथा रविका समर्थकहरु सर्वोच्च अदालतको गेट अघि भेला भएका थिए । साथै, रुपन्देही कारागार अगाडि पनि भीड बढेको थियो । सर्वोच्चले उच्च अदालतको आदेश सच्याउँदै रविालाई थुनामुक्त गर्ने आदेश दिन्छ भन्नेमा उनीहरु आशावादी देखिए पनि आदेश भने अनपेक्षित आएको उनीहरुको प्रतिक्रिया छ ।