News 24 Television
चीन भ्रमणबाटै विद्यादेवीको नयाँ अध्याय पक्का ! भ्रमण दल कस्तो ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार चीन भ्रमणमा निस्किदै छिन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा चीन जान लागेकी पूर्वराष्ट्रपति भण्डारीको भ्रमण दलमा सरकारका मन्त्री र एमाले विदेश विभाग प्रमुखको अर्थपूर्ण सहभागीताले अनेक प्रश्न उब्जाएको छ, भने पूर्वराष्ट्रपतिको हैसियतले हुन लागेको भ्रमणमा नेपाल सरकारको आर्थिक स्रोत परिचालन हुने खतरा समेत बढेको छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिवार अर्थात जेठ १० गते चीन भ्रमणमा निस्किदैछिन् । जम्बो टोली लिएर चीन जान लागेकी भण्डारीले चीनमा उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने भनिएपनि कोसंग भन्ने अझैं चिनियाँ पक्षले निश्चित नगरिसकेको बताइन्छ । तर, भण्डारीको भ्रमण दलमा एमाले प्रचार विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, भण्डारी निकट मानिने नेता कर्ण थापासहित एमाले नेतृ एवं पूर्वसांसद गोमा देवकोटा, स्वर्गीय मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी, भण्डारी राष्ट्रपति हुँदाका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी र सार्वजनिक प्रसारण संस्थानका अध्यक्ष डा. महेन्द्र विष्ट हुने बताइएको छ । 

यसले अनेक प्रश्नहरु उब्जाएको छ । नेपाल भारतबीचको सम्बन्धमा दरार आएको भनिएको बेला पूर्वराष्ट्रपति भण्डारीले गर्न लागेको चीन भ्रमणलाई एमालेले पार्टीकरण गर्ने र यसलाई सरकारी रंग दिने तयारी गरिरहेको बताइन्छ । उसोतः भण्डारीको चीन भ्रमणको बेला चीनको बेइजिङस्थित दूतावासले स्वागत कार्यक्रमदेखि भ्रमणको संयोजन समेत गर्ने भनिएको छ । यता, सरकारका उद्योगमन्त्री र एमाले विदेश विभाग प्रमुख पनि संगै जाने भएकाले शंकाहरु स्वभाविक बन्न पुगेका हुन् ।

भण्डारीको सक्रिय राजनीति मोह र भ्रमण

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने र एमालेको नेतृत्व गर्ने चर्चा पहिलेदेखि नै चलिरहेको छ । यता, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आफू अझैं केहि समय नेतृत्वमा रहने विषयमा प्रष्ट पार्दै आएका छन्। तर, भण्डारीले सक्रियता लोभलाग्दो ढंगले बढाएकी छन् । यस्तोमा भण्डारीको जब्बर सक्रिय राजनीतिको आकांक्षा र ओलीको छेकबारले अब चीन भ्रमणबाट थप रोचक मोडमा पुग्ने विश्लेषण हुन थालेको छ । 

एमालेको सक्रिय राजनीतिमा आउने र एमालेलाई सहि दिशामा लैजाने भण्डारीले आफू निकट नेताहरुलाई भन्ने गरेकी छन् । यस्तो स्थितिमा भण्डारीको चीन भ्रमणमा एमाले अध्यक्ष केपी ओलीले नै चलाखीपूर्वक नेताहरुलाई खटाएको समेत हल्ला चलिरहेको छ । तर, भण्डारीको चीन भ्रमण पूर्वराष्ट्रपतिका हैसियतले हो वा एमालेको नेतृ ? यो प्रश्न भने पेचिलो बन्न पुगेको छ । 

अझं, भण्डारीको भ्रमण दलमा मन्त्रीसमेत सहभागी हुने र चीनस्थित दूतावास पनि सक्रिय हुने स्थिति बनेपछि कतै नेपाली जनताको कर पसिना पुर्वराष्ट्रपतिको भ्रमण सफल पार्न खर्च हुने त होइन भन्ने चासो समेत देखिन्छ ।

भ्रमणमा के हुदैछ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको ग्वान्जाओ हुँदै बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले चीन भ्रमणको क्रममा उनले आइतबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोह तथा रात्रिभोजमा भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछिन । रात्रिभोजमा चीनको छिमेकी मुलुकहरूबाट आमन्त्रित नेताहरूसमेत सहभागी हुने कार्यक्रम छ  । 

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओबिच सोमबार अपराह्न भेटवार्ता तय भएको छ । जेठ १३ गते भण्डारीले तियानमेनस्क्वायरमा माओत्सेतुङको समाधि हल र फरबिडन सिटीको अवलोकन भ्रमण गर्नेछिन् । 

सोही दिन बेइजिङ इकोनोमिक डेभलपमेन्ट डिस्ट्रिक्टको भ्रमण समेर पूर्वराष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डल गान्सु प्रान्त जाने कार्यक्रम छ । त्यसपछि भण्डारी गान्सु प्रान्तको विकास मोडलको अवलोकन गर्नेछिन् । भण्डारीले चिनियाँ उपराष्ट्रपतिसंग भेट गर्ने भनिएको छ भने शीर्ष रहको भेटवार्ताबारे भने जानकारी दिइएको छैन् ।

विद्यादेवी र चीन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा चीनको राजकीय भ्रमण गरेकी थिइन् । उनले २०७६ को ११ बैशाखदेखि २० गतेसम्म राजकीय भ्रमण गरेकी थिइन भने चिनियाँ राष्ट्रपति सी जिन पिङले २०७६ मा दुई दिन नेपालको राजकीय भ्रमण गरेका थिए । 

भण्डारीले चीनको राजकीय भ्रमणको बेला सीसंग भेटवार्ता गरेकी थिइन भने तत्कालीन नेकपा विभाजनमा समेत भण्डारीले पहल गर्दा चीनको समर्थन रहेको भन्ने गरिन्थ्यो । उसोतः भण्डारी अहिले नेपालको कम्युनिस्ट आन्दोलन र यसका विभिन्न आयाम बोकेर चीन भ्रमणमा निस्किन लागेको चर्चा चलिरहेको छ भने एमालेभित्र भण्डारीलाई नेतृत्वमा ल्याउने आवाजको प्रतिनिधित्व गर्ने गरि सहभागी हुने भनिएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update