News 24 Television
लञ्च मिटिङदेखि ओलीसम्मः दुर्गा प्रसाई मुख्य अभियुक्त हुँदा रवीन्द्र र धवलमाथि के छ आरोप ?

काठमाडौं । चैत्र १५ को गते तीनकुने प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । दुर्गा प्रसाई, रवीन्द्र मिश्र र धवलशमशेर जबरासहित सय बढिलाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझाएको प्रतिवेदनले राजावादी प्रदर्शन, तीनकुने हिंसा र राजनीतिक दाउपेचका श्रृङ्खलालाई थप उजागर गर्ने स्थिति बन्न थालेको छ । 

तीनकुने हिंसात्मक आन्दोलनको घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यलयमा पुगेको छ । काठमाडौँ जिल्ला प्रहरी प्रहरी परिसरले शुक्रबार घटनाको अध्यनअनुसन्धान गरेर वकिलको कार्यालयमा प्रतिवेदन बुझाउँदा आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई मुख्य प्रतिवादी कायम गर्दै अभियोजन गर्न राय पेश गरेको छ । 

प्रसाईले तीनकुने अन्दोलनमा अन्धाधुन्ध गाडी गुडाएपछि आन्दोलन चर्किएको थियो भने दुई जनाले ज्यान गुमाउनु परेको थियो । मेडिकल व्यवसायी प्रसाई सहित ८ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिइएको छ । 

यस्तै, १०८ जनालाई मुद्धा चलाउनुपर्ने राय प्रहरीको छ । तीनकुने आन्दोलनमा कितिपुर बस्ने सविन महर्जनले गोली लागेर ज्यान गुमाएका थिए भने आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।

यस्तै प्रहरीले आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम र अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही अनुप बिक्रम ठकुरीलाई पनि हत्या मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय दिएको छ । 

दुर्गाविरुद्ध मुख्य अभियोजन, मिश्र र धवललाई राज्यविरुद्धको कसुर

आरोपीहरूविरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान सम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गर्ने गरि अनुसन्धान प्रतिवेदन बुझाएको छ । 

यस्तै, प्रदर्शनमा संलग्न मध्ये राज्यविरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव कसुरमा म्याद थप भएका २७ जना हिरासतमा छन् । अनुसन्धानको क्रममा ३७ जनालाई हाजिर जमानीमा रिहा गरिएको छ ।

राज्यविरुद्धको कसुरमा अनुसन्धान गरिएका मध्ये ३ जना अनुसन्धानको क्रममा रिहा भएका थिए । उक्त कसुरमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र सर्वाैच्च अदालतको आदेशले रिहा भए । 

राप्रपाका महामन्त्री धवल शमशेर जबरालाई प्रहरीले उपचार गर्ने शर्तमा रिहा गरेको थियो । खेमराज सेढाईंलाई पनि प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरेर वैशाख २५ मा रिहा गरेको थियो । आपराधिक उपद्रव कसुरमा अनुसन्धानको दायरामा आएका ३४ जनालाई प्रहरीले हाजिर जमानीमा छाडेको थियो ।

यता, प्रहरीले तीनकुने घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउँदा उता भने राजवादी र गणतन्त्रवादी पुनः भिड्ने मुडमा देखिएका छन् । 

राजावादीले जेठ १५ अर्थात् गणतन्त्र दिवसका दिन राजाधानी काठमाडौँमा बृहत आन्दोलनको घोषाणा गरेका छन् । सोहि अनुसार राजवादीले तयारी थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा हौसिएका राजवादी शक्तिले उक्त दिन गणतन्त्र ढाल्ने चेतावनी दिएका छन् ।

यता, आन्दोलनलाई विशेष बनाउन पूर्वराजा शाहले राजवादी आन्दोलनका नेताहरुसंग लञ्च मिटिङ समेत गरेका छन् । लञ्च मिटिङमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए । निर्णायक आन्दोलनको दाबी गरिरहेका राजावादीले राजसंस्था र हिन्दुराज्य स्थापनाको एजेण्डा बोकेका छन् । 

राजावादी शक्ति जुर्मुराउन थालेपनि प्रधानमन्त्री केपी ओलीले राजसंस्था आउनै नसक्ने जिकिर गरिरहेका छन् । प्रधानमन्त्री ओलीले जनतको बलमा स्थापित व्यवस्था फाल्ने कुचेस्टा गरे सम्पुर्ण राज्यशक्ति लगाएर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

गणतन्त्र दिवसकै दिन राजावादी शक्तिले प्रदर्शन गर्ने समय तोक्नु र सरकारले सुरक्षा व्यवस्थाबारे चुस्तता खोज्न थाल्नुले देश मुठभेडतर्फ त जाँदैन भन्ने चिन्ता समेत देखिन्छ । तर, राजावदी शक्तिहरुले मानव अधिकार गुहार्दै आन्दोलन शान्तिपूर्ण हुने र सरकारले दकम गर्न खोजेको भनिरहेका छन् । यस्तो बेला शान्तिपूर्ण आन्दोलनलाई सरकारले कसरी लिन्छ वा शान्तिपूर्ण दाबी गरिएको आन्दोलन तीनकुने प्रकरण जस्तै त बन्दैन भन्ने आम चासो व्याप्त छ ।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update