
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारको लागि भन्दै आम नागरिकमाथि गोली प्रहार गर्नु माओवादीको हिंसाको चरम कायरता भएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकारकानाममा समाज विकासका लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने व्यक्तिहरुमाथि गोली प्रहार गर्नु तत्कालीन समयमा माओवादीको हिंसाको चरम कायरताको चिन्ह भएको बताए । त्यस प्रकारका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरुले गल्ती गरेको महशुस गर्ने गरेको उल्लेख गरे ।
सिटौलाले भने, ‘जनताको अधिकारको लागि जिल्लामा जनताको अधिकारको लागि, समाज विकासको लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरुको गोली प्रहार माओवादीको हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला । यस्ता प्रकृतिका घटनाहरुबारे चर्चा गर्दा माओवादीका नेताहरुले गल्ती गरेको रियलाइज पनि गर्दछन् । कतिपय ठाउँमा गल्ती भएको छ भन्छन् । कति हृदयदेखि भन्छन् । कति हाम्रो सामुन्ने कुरा गर्दछन् । तर जे होस्, पञ्चायत कालदेखि जनताको अधिकारको लागि नेपाली काँग्रेस संगठित भएर लागेको छ ।’