News 24 Television
गृहमन्त्री लेखक नै ट्रर्यापमा, फन्दामा पार्ने जाल कांग्रेसभित्रैबाट ! 

काठमाडौं । गृहमन्त्री रमेश लेखक विवादमा मात्रै फसेका छैनन्, पदबाट बाहिरिनुपर्ने आवाज समेत उठ्न थालेका छन् । नैतिकता देखाउदै राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्रैबाट उठिरहेका बेला गृहमन्त्री लेखकले भने गलत नगरेको जिकिर गरिरहेका छन् । तर, अध्यागमनमा भएको सेटिङ, उनको सचिवालयमा रहेकाहरुको विगत, सम्पर्क लगायत कुराले अरुलाई नैतिकताको पाठ सिकाइरहने लेखक ठूलो दबाबमा परेका छन् । 

रमेश लेखक । अहिलेका गृहमन्त्री । नेपाली कांग्रेस केन्द्रीय सदस्य । प्रतिनिधिसभा सदस्य । अधिवक्ता । उनका यस्ता कयौन परिचय छन् । कानून क्षेत्रकामात्रै नभई राजनीतिक रुपमा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि रहेका लेखक अध्यागमनमा हुने सेटिङको संरक्षणकर्ताको रुपमा आरोपित हुन थालेका छन् । तर, उनै लेखक कुनै बेला सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका तत्कालीन गृहमन्त्रि रवि लामिछानेलाई कडा प्रश्न गर्ने नेता थिए । नैतिकताको कसीमा रहेर राजीनामा दिनुपर्ने भनिरहन्थे । 

उनले पटक–पटक रविको राजीनामा माग्दै राजनीतिमा नैतिकता ठूलो विषय हुने र आरोप लागिसकेपछि छानविनका लागि मार्गप्रशस्त गर्नुपर्ने भनिरहन्थे । 

यस्ता आदर्श र नैतिकताका कुरा गरिरहने उनै लेखक अध्यागमन सेटिङको हर्ताकर्ताको रुपमा आरोपित छन् । भिजिट भीसामा सेटिङ मिलाउने काममा सहयोगीको भूमिकामात्रै नभई संरक्षक समेत रहेको आरोप उनिमाथि लागिरहेको छ । लेखकको सचिवालयमा रहेकाहरुमाथि गम्भीर आशंका गरिएका छन् । 

पहिले पनि अनेक आरोपमा मुछिएकाहरु उनको सचिवालयका हर्ताकर्ता देखिन्छन् भने, अध्यागमनबाट सेटिङ जालो फुस्किने भएपछि सरुवा लिएर पनि अख्तियारको फन्दामा परिसकेका तीर्थराज भट्टराईसंग समेत अनौठो सम्बन्ध सम्पर्क भेटिएको थियो । यसरी सार्वजनिक रुपमा प्रश्न र आलोचना तीब्र बनिसकेपछि कांग्रेस नेता डा. शेखर कोइरालाले पदबाट राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने सुझाव दिएका छन् ।

आफुले पहिले अरुका लागि दिने नैतिकताका पाठमा गृहमन्त्री लेखक अहिले रनभुल्लमा  छन् । लेखकले राजीनामाको माग गर्दै आरोपित गरेका तत्कालीन गृहमन्त्री रवि लामिछाने अहिले सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा बन्दी जीवन विताइरहेका छन् । तर, यता, नैतिकताको पाठ सिकाउदै राजीनामा माग्ने उनै लेखक पनि गम्भीर आरोप खेपिरहेका छन् । 

राजीनामाको चर्को दबाब परिरहेको छ । तर, उनले भनिरहेका छन्, दुई\चार दिनमा बोल्छु । गलत गरेको छैन् । गलत गरेको देखिए राजनीतिमा देखिन्न । 

लेखकले गरेको यस्तो दाबीको भरपर्दो आधार भने देखिन्न । एकपछि अर्को गर्दै लेखकविरुद्धका आरोपहरु छरपष्ट हुन थालेका छन् । 

सरकारले पनि यसमा मौनता साँधिरहेको देखिन्छ । अख्तियारले अनुसन्धान गरिरहेको भनेपनि यसबारेका प्रगति विवरण अहिलेसम्म लुप्त छन् । यसरी पार्टीभित्रैबाट घेराबन्दीमा परेका लेखकले के गर्लान् ? के नैतिकताको पाठ सिकाइरहने उनले अनुसन्धानका लागि राजीनामाको बाटो रोज्लान् ? प्रश्न र शंकाहरु थप पेचिला बन्न पुगेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update