
काठमाडौं । पछिल्लो समय मकवानपुरको हेटौंडामा उत्पादन भएको गुन्द्रुकको चर्चा हेटौंडामा मात्रै नभएर देशका अन्य सहरमा हुन थालेको छ । साथै विदेशमा समेत हेटौंडाको गुन्द्रुकको उत्तिकै चर्चा छ । महिला उद्यमी कृषि समुहले रायोको गुन्द्रुक उत्पादन गरेर बिक्री गर्न थालेपछि अहिले गुन्द्रुकको माग धान्न मुस्किल परेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घलेगाउँका महिला समूह सफल उद्यमी बनेका छन् । गुन्द्रुक बनाउने तालिम लिएर काम सुरु गरेको केही समयमै उनीहरु सफल उद्यमी बनेका हुन् । कञ्चनजंगा कृषि सहकारी संस्था २०७१ सालमा घलेगाउँकै केही पुरुषहरुले दर्ता गरी सञ्चालन गरेका थिए । तर सहकारी घाटामा गएपछि नियमित सञ्चालन गर्न सकेनन् ।
बर्षौंदेखि बन्द रहेको सहकारी विगत दुईवर्ष अघि यहाँका महिलाहरुले आफ्नो स्वामित्वमा ल्याए । सहकारी मार्फत उद्यम गर्ने सोच राखेका महिलाहरुले हेटौंडा उपमहानगरपालिकामामा सीपका लागि निवेदन दिए । नगरपालिकाले गुन्द्रुक बनाउने तालिम लिएर उद्यमी बन्न सुझाव दियो । उतिबेला मन लागि नलागि गरेको कामले यतिबेला गुन्द्रुकले हेटौंडाकै पहिचान बनाइदिएको छ ।
बिहान घरको काम गरेर दिउँसोको खाली समयलाई सदुपयोग गर्दै उद्यमी बन्न पाउँदा सहकारीमा आवद्ध सदस्यहरु दंग छन् ।
हाल सहकारीमा डेढ सय भन्दाबढी सदस्य छन् । अहिले कञ्चनजंगा कृषि सहकारी संस्थामा आवद्ध महिलाहरुलाई कसरी उद्यमी बनाउने भन्नेमा नै उनीहरु चिन्तित देखिन्छन् ।
महिलाहरुले यो बर्ष मात्रै १० क्विटल गुन्द्रुक बिक्री गरेका छन् । आफ्नै प्रेरणाले उद्यमी बनेको यो समूहको प्रगतिले हेटौंडा उपमहानगरपालिकाकी मेयर मख्ख छिन् ।
कसरी शुरु भयो गुन्द्रुक उत्पादन ?
शुरुमा सहकारीमा आवद्ध ११ जना महिलाहरु मिलेर १५ कठ्ठा जग्गा भाडामा लिएर रायोको साग लगाएका थिए । उनीहरुका लागि हेटौडा उपमहानगरपालिका उनीहरुको सारथि बनिदियो ।
१५ कठ्ठा जग्गाबाट सुरु गरेको साग खेती अहिले ३० कठ्ठामा फैलिएको छ । अहिले पिँडालुको मस्यौराको माग आइरहेको भन्दै पिँडालु खेति पनि सुरु गरिएको छ । साग बर्खामा पनि फलाउनका लागि टडेँलो हाल्न थालेका सुरु गरेका छन् ।
उत्पादनमा खर्चिएको ज्याला सहकारीमै बचत
गुन्द्रुक उत्पादनका लागि खर्चिएको समयको ज्याला उनीहरुको हातमा आउँदैन । प्रत्येक महिना कामको हिसाब हुन्छ । अनि सहकारीमा रहेका खातामै रकम जम्मा हुन्छ ।
काम धेरै भएका बेला सहकारीमा आवद्ध सदस्यहरुले नै रोजगारी पाउँछन् । एक घण्टा श्रम गरेको ज्याला १ सय रुपैंया तोकिएको छ । जति धेरै काम गर्न सक्यो, उति नै रकम खातामा जम्मा हुन्छ ।
अनि खाँचो परेका बेला सोही पैसा निकालेर घरको गर्जो टार्दै आएका छन् । यो उद्यमले उनीहरुलाई हेटौंडाकै सफल उद्यमीको पहिचान बनाएको छ । यसले स्वरोजगार मात्र बनाएको छैन, महिलाहरुको आत्मबल पनि बढाएको छ ।