News 24 Television
‘रैती बन्न तयार’ समूह सक्रिय छ, प्रतिवाद गरौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी तत्वहरु सक्रिय हुँदा देशको राजनीति अन्योलपूर्ण र अस्तव्यस्त बनेको टिप्पणी गरेका छन् । 

आईतवार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी शक्तिहरु चुप लागेर बस्दा लोकतान्त्रिक प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको टिप्पणी गरेका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै जनताको अधिकारलाई तिलाञ्जली दिएर लाज नमानिकन जनतालाई रैती बनाउन लागिपरेको टिप्पणी गरे ।

केही रैतीहरू बिहान–बेलुकी नै पूर्वराजा शाहको वरपर घुमिरहेकाे प्रधानमन्त्री ओलीको आरोप छ । उनले नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालीमा समर्पित केही मान्छेहरुले नागरिकमा असन्तुष्टि बढाएको बताए । प्रतिगामी शक्तिहरुले व्यवस्था र संविधान विरोधी काम गर्न सामाजिक सञ्जालमा लगानी गरेको उनको आरोप छ । सामाजिक सञ्जाल र डिजिटल प्लेटफहरुमा जनतामा असन्तुष्टि, समाजमा नकारात्मक सोच र भ्रम छर्ने उद्देश्यले योजनावद्ध लगानी भइरहेको दाबी गरे ।

उनले भने, ‘अहिले राजनीति अलि भाँडिएको छ । प्रतिगामी तत्वहरु निकै धेरै सक्रिय छन् । हामी चुपचाप लोगेको हुनाले उनीहरुको मनोबल माथि उठेको छ । मनोबल सधैं उच्च रहनुपर्ने हाम्रो हो । हाम्रा महान गन्तव्य, लक्ष्य र उद्देश्यहरु छन् । तरपनि हाम्रो मनोबल चाँही त्यति दह्रो नहुने विपक्षीहरु जो प्रतिगामी छन् सोझै लाज नमानिकन तिमीहरु रैति बनेर बस म राजा हुन्छु भनेर भन्ने गर्दछन् । केही रैतिहरु गएर बिहान बेलुकै उसको वरिपरी घुमिराखेका छन् । हामीलाई कुनै अधिकार चाहिँदैन प्रभु हामी रैति हुन तयार छौँ भन्दैछन् । नागरिक सर्वोच्चता चाहिँदैन भनेर दलालिमा समर्पित केही मान्छेहरु छन् । त्यस्मा मान्छेले अरुमा असन्तुष्टि बढाउन खोजेका छन् बढाएका पनि छन् । सामाजिक सञ्जाल जस्ता भ्रम फिजाउने कुराहरुमा लगानी गरेका छन् । विभिन्न डिजिटल प्लेटफर्महरु, व्यक्ति–व्यक्तिले दुरुपयोग गर्ने र जिम्मेवारी लिनुनपर्ने खालका कुराहरुमा पनि त्यस्तै गरी आइरहेको छ । यो चिजहरुमा हामी आफैं वैयक्तिक रुपमा सक्रिय भएर पैसा खर्च गर्ने कुरामा, भ्रष्टाचार गर्ने कुरामा, पैसा खर्च गरेर यो चलाएर, त्यो चलाएर जाने पक्षमा होइन आफ्नो बलबुतामा अगाडि बढ्ने पक्षमा हो । यस्तो स्थिति भएको हुनाले यस्तो कुरामा हामी आफैंले बुझेर सक्रिय हुन जरुरी छ ।’

निर्वाचित वडा अध्यक्षहरुलाई प्रधानमन्त्री ओलीले प्रतिगामी र व्यवस्था विरोधी गतिविधिबाट सचेत रहन र जनतामाझ सत्य कुराहरू राख्न सक्रिय भुमिका खेल्न आग्रह गरे । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update