
काठमाडौँ । नेकपा (एमाले)ले आगामी जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाएको निर्णय गरेको छ । आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आम जनसमुदायलाई जेठ १५ गते गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको पार्टीका महासचिव शङ्कर पोख्रेलले जानकारी दिए । उनले गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गरिने उनले बताए । महासचिव पोख्रेलका अनुसार काठमाडौं उपत्यकामा उत्सवको आयोजना गर्न नेपाल जन सांस्कृतिक महासङ्घलाई संयोजनको जिम्मा दिइएको र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।
उनले भने, “समसामयिक विषयमा केन्द्रित भएको यो बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रूपमा देशव्यापी मनाउने र त्यसका लागि आम जनसमुदायलाई गणतन्त्रलाई उत्सवको रूपमा आयोजना गर्न आह्वान गर्ने निर्णय गरेको छ । त्यसै गरी, पार्टी कमिटीका तर्फबाट र पालिकाका तर्फबाट गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि पालिका स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवको रूपमा आयोजना गर्नको लागि नेपाल जन सांस्कृतिक महासङ्घलाई त्यस कार्यक्रमको संयोजन गर्ने हिसाबले अगाडी बढ्ने र पार्टी कार्यालयको तर्फबाट आवश्यक संयोजन गर्ने निर्णय भएको छ ।”
महासचिव पोख्रेलले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्ने ऐतिहासिक उपलब्धिको रूपमा रहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा एमालेले जोड दिएको जिकिर गरे । जनताको सम्प्रभुताको विरुद्धमा हुने कुनै पनि गतिविधिहरू एमालेलाई स्वीकार्य नहुने चेतावनी समेत दिए ।