
काठमाडौं । गृहमन्त्री रमेश लेखक पदीय संकटमा फसेका छन् । कांग्रेसभित्रैबाट राजीनामा माग्नेदेखि बचाउ गर्नेसम्मका विषय आइरहेको बेला एमालेले पनि यसलाई सरकारको आन्तरिक विषय भनिरहेको छ । यो घटनाक्रम चलिरहँदा के अब भिजिट भीसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन बाध्य पारिएला त ?
रमेश लेखक भनिरहेका छन्, आरोप प्रमाणित भए राजनीति छाडिदिन्छु । तर, उनको तर्क भने अनैतिक भएको भन्दै आलोचना चुलिएको छ । आरोप प्रमाणित भए जेल जानुपर्छ, अनि कसरी हुन्छ राजनीति ? यस्ता प्रश्नहरु सर्वसाधारणले गरिरहेका छन् । यी प्रश्नको घेराबन्दीमा परेका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएर छानविनका लागि बाटो खोलिदिनुपर्ने कांग्रेसबाटै आवाज उठिरहेको छ ।
कांग्रेसमा कोइराला पक्षका नेताहरुले राजीनामा दिनुपर्ने भनि चर्को स्वरमा नै भनिरहका छन् । कांग्रेस सांसद चन्द्र भण्डारीले समेत रमेश लेखकलाई लक्षित गर्दै बाघ बन्न मुसाको शिकार गर्न नहुने भन्दै ब्यङ्ग्य कसिरहेका छन् । तर, कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने राजीनामा दिन नपर्ने तर्कमा अघि बढिरहेका छन् ।
गृहमन्त्रीमाथि लागेको आरोप र राजीनाका आवाजबारे छलफलका लागि कांग्रेसले सोमबार बैठकनै बोलाइसकेको छ । कांग्रेसभित्र राजीनामाको विषयलाई लिएर मतभेद चर्किएको बेला एमाले भने सरकारको विषयमा पार्टीले केहि नभन्ने भनिरहेको छ ।
सरकारको विषय भएपनि पार्टी नै सरकारमा रहेको स्थितिमा एमालेले केहि भन्नु पर्छ वा पर्दैन ? त्यो राजनीतिक नैतिकता र इमान्दारिताको विषय रह्यो । तर, प्रधानमन्त्री केपी ओली भने राजीनामाको विषयलाई सुशासनसँग जोड्दा भड्किएको देखिन्छ ।
कांग्रेस–एमाले सत्ताका सुत्राधार रहेका रमेश लेखक राजनीतिक इमानको पेचिलो प्रश्नमा फसिसकेको बेला राजीनामा नदिने मुड बनाएको देखिन्छ । तर, आफ्ना सभापति रवि लामिछाने पूर्पक्षका लागि थुनामा पुगेपछि रन्थनिएको रास्वपाले पनि आक्रोशपूर्ण ढंगले राजीनामा दिनुपर्ने र नदिए संसद ठिक ढंगले अघि नबढ्ने चेतावनी दिइसकेको छ ।
राजनीतिक रुपमा यस्ता प्रश्नहरु पेचिला मात्रै बनेका छैनन्, बजेटको सम्मुखमा आएको विवादले सरकारलाई संकटतर्फ लैजाने खतरा बढेको छ । यता, लेखक भने गृहमन्त्रालयबाट छानविनमै रहेका कर्मचारीबाट वक्तव्य जारी गराउनेदेखि गुपचुप सरुवामा सक्रिय देखिएका छन् । गृहमन्त्रालयले आन्तरिक सरुवामा छलाङ नै मारेको आरोप लागिरहेको छ भने अध्यागमनका कर्मचारीहरुको समेत भागाभाग मच्चाइएको बताइन्छ । यसरी भिजिट भीसा प्रकरणले ठूलो नैतिक संकटमा फसेका उनीमाथि अनुसन्धान निष्पक्ष हुनेमा समेत शंका छ । यस्तो अवस्थामा उनको राजीनामालाई नै बटम लाइन बनाउन खोज्दा संसदमा समेत केहि समय तनाव हुने देखिन्छ ।