
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गर्नुभयो । उहाँले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविन शुरु नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
उनले भने, ‘यो कुनै एक कर्मचारीले नागरिकता बनाउन गएको बेला नागरिकसँग घुस मागेको विषय होइन । यो त म्यानपावरदेखि एयरलाइन्ससम्म, कर्मचारीदेखि मन्त्रीज्युसम्मको सचिवालय जोडिएको छ । प्रश्न मन्त्रीज्यूमाथि उठेको छ । अनुसन्धान हुनुपर्छ । राजीनामा आउनुपर्छ । तर हामी राजीनामा मात्रै माग्दै छैनौँ । संगठित ढंगले गरिएको यो भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ । संगठित अपराध र सम्पती शुद्धीकरणसँग जोडिएर छानविन गर्न एक उच्चस्तरीय छानविन आयोग नबनेसम्म संसद चल्न सक्दैन ।’
गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले नारावाजी गरेपछि मंगलवारको भसाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।