News 24 Television
गृहमन्त्रीकै कारण संसद बन्धकः बजेट कार्यक्रम अनिश्चयतर्फ, राजीनामा के होला ?

काठमाडौं । गृहमन्त्री रमेश लेखक पदीय गरिमा कायम गर्न नसकेको आरोपपछि राजनीतिक र नैतिक संकटमा फसेका छन् । कांग्रेस नेता लेखक राजनीतिक जीवनको उत्कर्षमा पुग्दै गर्दा अध्यागमनमा भिजिट भीसा सेटिङजस्तो गम्भीर आरोपमा फसेपछि उनको पदमात्रै धरापमा परेको छैन्, राजीनामा नदिंदा उनीमाथिको आरोप थप बलियो र जनतामा शंकासहित छरपष्ट हुन थालेको छ ।

गृहमन्त्री रमेश लेखक कानूनका विद्यार्थी पनि हुन् । अधिवक्ता समेत रहेका लेखक कांग्रेसमा तार्किक नेताको छवि निर्माणमा अघि बढिरहेको बेला गृहमन्त्रीको जिम्मेवारी भने संकटको कारण बन्न पुगेको छ । लेखकमाथि लागेको आरोप पुष्टी होला, नहोला तर संसदमा प्रतिपक्षी दलले राजीनामा माग्दै गरिरहेको अवरोधले उनको राजनीतिक जीवन नै संकटमा हेलिएको छ । 

कांग्रेसले उनलाई छानविनका लागि राजीनामा दिन लगाएकोमात्रै भएपनि उनी यतिधेरै चर्चा र बद्नामित हुने थिएनन्, सायद । तर, कांग्रेसले राजीनामा दिन नपर्ने भन्दै निर्दोषिताको सर्टिफिकेट दिएपछि उनी राजनीतिक जीवनको संकट र दबाबमा फसेका छन् । तर, संसदमा कांग्रेसले भनिरहेको छ, बोल्न देउ । यतिमै नरोकिएको कांग्रेसले राजीनामा माग्ने कामलाई पुर्वाग्रहीपूर्ण कदम समेत भनेको छ ।

कांग्रेसले बोल्न देउ भनेपनि प्रतिपक्षी दलहरुले राजीनामालाई नै बटम लाइन बनाएका छन् । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा नदिएसम्म संसद नचल्ने भनिरहेका छन् । 

यता अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भनेको छ । 

प्रतिपक्षी दलले राजीनामा माग्दा उनै लेखकले संसदमा कुनै बेला पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको विषयलाई नै नजिरको रुपमा लिन थालेका छन् । यसरी चलिरहेको जुहारीकाबीच संसद बैठक बुधबार बिहान ११ बजे बस्ने गरि स्थगित नै भएको छ । संसद बैठक मंगलबार सार्दा–सार्दा सहमति नजुटेपछि बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ । 

कांग्रेस–एमाले सत्ता निर्माणका सुत्राधार समेत रहेका लेखककै कारण संसद बन्धक बनेपछि उनी के गर्लान ? चासो देखिएपनि उनको पार्टी र सभापति शेरबहादुर देउवासहित एमालेले पनि रक्षा गरिरहेको छ । अहिलेको यस्तो रक्षाले लेखकलाई केहि राहत महशुस भएपनि अन्ततः उनको यो आरोप चुनावी एजेण्डा एमालेभित्रैबाट बन्नेछ । 

यस्तो कुरालाई ध्यान दिन नसक्दा लेखक संकटमा फस्दै गएका छन् । तर, कांग्रेस–एमाले राजीनामाको विषयमा तयार नहुँदा संसद मात्रै बन्धक बन्ने अवस्था बनेको छैन, बजेट कार्यक्रम नै प्रभावित हुने खतरा देखिन्छ । 

धरापमा गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले आफ्नो कुनैपनि संलग्नता नरहेको भनिरहेका छन् । उनले भिजिट भीसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भनिरहेपनि प्रतिपक्षी दलले मात्रै नभई उनकै दलका केहि नेताहरु र सर्वसाधारणले समेत राजीनामा र निष्पक्ष अनुसन्धानको अपेक्षा स्वभाविक गरेको देखिन्छ । 

तर, अनुसन्धान गर्ने निकायमाथि नै उनले नेतृत्व गरिरहने विषय भएकाले पनि उनी विश्वासको संकटमा फसेका छन् । प्रश्न उठिसकेपछि उनले राजीनामा दिएर छानविन गर भन्नुको सट्टा राजीनामा नदिने अड्डीले संकट, शंका र समस्या थप पेचिलो बन्न पुगेको छ । 

यस्तो स्थितिमा गृहमन्त्री लेखक नैतिक संकटमा मात्रै फसेका छैनन्, कांग्रेसमा प्रभावशाली शक्ति विस्तार गरिरहेका उनी ठूलो राजनीतिक संकटमा समेत फसेका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भोगिरहेको जस्तो नियति नै भोग्नुपर्नेसम्मका स्थिति सिर्जना हुनुले पनि उनीमाथि दबाब र आलोचना चुलिन पुगेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update