
काठमाडौं । राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि नियमित र निरन्तर आन्दोलन हुने बताएका छन् । राजावादी दल र शक्तिहरुले गर्ने भनेको प्रदर्शन शान्तिपूर्ण हुने र भद्र अवज्ञाको स्वरुपमा हुने जिकिर गर्दै गर्दा सरकार भने आक्रामक देखिन्छ । गणतन्त्रविरोधि गतिविधिलाई निस्तेज पार्ने भनिरहेको बेला राजावादी प्रदर्शन र आन्दोलनको उद्देश्य नै राजा ल्याउने भनिएकाले यो आन्दोलनले राजालाई गद्दीमा ल्याउने काम गर्ला ?
जेठ १५ गते गणतन्त्र दिवस । गणतन्त्र दिवस मनाउन भन्दै सरकारले तयारी तीब्र पारिरहेको छ । गणतन्त्र दिवस मनाउनका लागि सरकारले विभिन्न औपचारिक कार्यक्रम समेत गर्ने तय गरिरहेको छ । यता, सोहि दिन राजावादी शक्तिहरुले पनि आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको भनिरहेका छन् ।
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, कमल थापा नेतृत्वको रष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, केशरबहादुर विष्ट र नवराज सुवेदीले एकै मञ्चबाट सम्पादकहरुसंग छलफल गर्दै आफ्नो आन्दोलन शान्तिपूर्ण, भद्र र सौम्य हुने जिकिर गरिरहे । तर, सरकारले नै आन्दोलनलाई घुसपैठ गरेर भड्काउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका उनीहरुले कार्यक्रम रत्नपार्कमै हुने र शान्तिपूर्ण हुने भन्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले गरिरहेको जोडलाई समेत जोड्न खोजेका छन् ।
लिङ्देनदेखि थापाले मञ्च सेयर गर्दै राजा ल्यानउे भनिरहेको बेला राजा को हुने भन्ने विषयमा भने उनीहरुको मत रोचक देखिन्छ । कमल थापाले भनिरहेका छन, हृदयेन्द्र राजा हुने सहमति जुटे ज्ञानेन्द्रले त्याग गर्नुपर्छ । मान्नुपर्छ ।
जनआन्दोलन गरिरहेको दाबी गरेका कमल थापाले राजसंस्था, हिन्दु राष्ट्र लगायतका विषयमा एजेण्डा राखिरहेका छन् । तर, उनीहरुले अहिले पनि समझधारीकै विषयको वकालत गरिरहेका छन् ।
खुला रुपमा आन्दोलनबाट राजा ल्याउने भनिरहेका थापाजस्ता राजावादी नेताहरुलाई सरकारले भने रोचक जवाफ दिने गरेको छ । प्रधानमन्त्री केपी ओलीले राजावादी शक्तिमात्रे नभई पूर्वराजा ज्ञानेन्द्र शाहमाथि समेत टिप्पणी गरिरहेका छन् ।
प्रधानमन्त्री केपी ओलीले स्थिति भड्काउन खोजेको आरोप लागेपछि सरकारमाथि चौतर्फी हमला समेत भइरहेको छ । यसले राजावादी शक्तिलाई लाभ भइरहेको स्थिति छ । गणतन्त्रवादी शक्तिहरुले राजावादी गतिविधि आफै निस्तेज हुने जिकिर चलिरहेको बेला राजावादीहरु भने हौसिएका छन् ।
जेठ १५ गते राजावादी र गणतन्त्रवादीबीच आन्दोलनको क्रममा समस्या सिर्जना हुनसक्नेतर्फ समेत धेरैले शंका गरिरहेका छन्। एमालेबाट बागमतीमा निर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा समेत ओलीले दिएको निर्देशनले हंगामा मच्चिन थालेको छ भने राजावादी र गणतन्त्रवादी प्रदर्शन आपसमा भिड्ने स्थिति बन्न नदिन समेत सरकारले सचेतता अपनाउन आवश्यक देखिन्छ । यद्यपी शान्तिपूर्ण भनिएको आन्दोलन कसरी अघि बढ्छ र सरकारले कस्तो व्यवहार गर्छ भन्ने कुराले समेत धेरै कुरा निक्र्याैल गर्नेछ ।