News 24 Television
गृहमन्त्रीलाई माओवादीको प्रश्न- 'खाने आफू, दोष चाहिँ कर्मचारीलाई ?'

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो आरोप लगाएका हुन् ।

उनले भूटानी शरणार्थी प्रकरणले देशको शिर निहुराएको बेला भिजिट भिसा सेटिङ प्रकरणले थप शिर निहुराएको टिप्पणी गरे । राजनीतिक संरक्षणबिना भिजिट भिसाको नाममा मानव तस्करीजस्तो गम्भिर अपराध सम्भव नभएको समेत उनले बताए ।

भिजिट भिसाको आवरणमा भएको तस्करीमार्फत गृहमन्त्री आफू संलग्न रहे पनि कर्मचारीलाई दोष दिएर उम्किन खोजेको उनको आरोप छ । उनले बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? भन्दै प्रश्न गरे ।

गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न उनले माग समेत गरे । गृहमन्त्री लेखकले भाषण अर्कै गर्ने गरेको तर आचरण ठिक नरहेको उनकाे टिप्पणी छ ।

सांसद सुवेदीले भने, ‘आज परिस्थितिले छुट्टै विषयमा बोल्नुपर्ने बनायो । यो साताभर एउटा गम्भीर विषयमा चर्चा भइरहेको छ । मूलभुतरुपमा गृह मन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नतामा त्रिभूवन विमानस्थलमा भ्रष्टाचार भइरहेको । त्यो पनि थोरै रकम हैन दिनमा पचास लाख पैयाँसम्म उठाइरहेको भन्ने जो चर्चा छ । यो अहिले सर्वाधिक चर्चाको विषय छ । हामीलाई थाहा छ कुनैदिन भुटानीशरणार्थी प्रकरणले देशको शीर निहुँरायो । कम्तिमा पनि छ महिनासम्म यसबारे देशविदेशमा बहस चल्यो । यतिखेर फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको छ । बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ? यो दुःखद कुरा हो । गृह मन्त्रालयको उच्च नेतृत्वको संलग्नतामा मानव तस्करी भएको छ । हाम्रो देशको छवि अब कस्तो होला ?’

भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधि सभामा अवरोध गरेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update