
काठमाडौँ । यतिखेर काँग्रेसबाट गृहमन्त्री रहेका रमेश लेखक भिजिट भिसामा चर्को कमिसन र मानव तस्करी प्रकरणमा मुछिएपछि यसले सडकदेखि सदनसम्म उनको राजीनामा माग भइरहेको छ । संसदमा प्रतिपक्षी दलहरु र विशेषगरी रास्वपाले गृहमन्त्रीको राजीनामा माग गर्दै दुई दिन लगातार बैठक अवरोध गरेका छन् । बजेट ल्याउनुपर्ने चटारोका बीच संसद अवरुद्ध हुनु अप्रिय भए पनि रास्वपाले काँग्रेसकै सिको गरेको हो । ठीक एक वर्षअघि संसदमा यस्तै तमासा काँग्रेसले देखाएको थियो । त्यतिखेर रास्वपाबाट गृहमन्त्री रहेका रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि काँग्रेसले उनको राजीनामा र संसदीय छानबिन समितिको माग राख्दै महिनादिन भन्दा बढी समय संसद अवरुद्ध ग¥यो । पालो सबैको आउँछ भनेझैँ अहिले रविकै नियति रमेशमाथि दोहोरिएको छ । रास्वपाले पनि संसद अवरोध, राजीनामा माग र उच्चस्तरीय छानबिन आयोगको माग राखेको छ ।
मंगलबार रास्वपाले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न गर्दै संसद अवरोध ग¥यो । रास्वपा सांसद शिशिर खनालले उक्त प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन हुनुपर्ने अडान राखे । भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालयसम्म जोडिएको भन्दै उनले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, अन्यथा संसद चल्न नदिने चेतावनी दिए । बुधबार पनि रास्वपा लगायत विपक्षी दलहरुले सोही माग अघि सारेर संसद अवरोध कायमै राखे ।
पोहोर चैतदेखि जेठसम्म काँग्रेसले निरन्तर संसद अवरोध गर्दा त्यस कार्यमा हालका गृहमन्त्री पनि अग्रणी भूमिकामा थिए । उनले एक वर्षअघि बोलेको कुरा अहिले उनी स्वयं र उनकै पार्टीप्रति लागु हुने देखिन्छ । त्यतिबेला मिडियामा समाचार आएकै भरमा र विपक्षीले आरोप लाएकै भरमा गृहमन्त्री छामिछानेले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने लेखक लगायत काँग्रेसी नेताहरुको एकस्वर थियो । अहिले सोही प्रश्न गृहमन्त्री लेखकमाथि उठेको छ, तर उनको बचाउमा काँग्रेस नेताहरु र प्रधानमन्त्रीसम्म उत्रिएका छन् । लेखक स्वयंले चाहिँ जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरेमा राजनीति नै त्याग्ने भन्दै आरोपको भरमै राजीनामा दिनुनपर्ने आशय व्यक्त गरे ।
अहिलेका प्रधानमन्त्री केपी ओलीले एक वर्षअघि रविको खुबै बचाउ गरेका थिए, काँग्रेससँग संसदमै भनाभन गरेका थिए, छानबिन समिति बनाउनै नहुने बताउथे । तर सत्ताको नेतृत्वमा पुगेपछि उनैले रविलाई जेल पुर्याएका छन् । तर काँग्रेसी गृहमन्त्रीको भने बचाउ गरिरहेका छन् । रविको राजीनामा माग्नेमा अग्रणी रहेका अर्का काँग्रेस नेता रामहरि खतिवडा पनि अहिले रमेशको बचाउमा खुलेरै लागेका छन् । उतिबेला खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न तत्कालीन गृहमन्त्री रविलाई चेतावनी दिँदै दाग लागेका मन्त्रीलाई सरकारमा राख्न नहुने बताएका थिए ।
अहिले खतिवडाको बोली फेरिएको छ, आफ्नै पार्टीका गृहमन्त्रीमाथि मानव तस्करीजस्तो जघन्य आरोप लाग्दा गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको बताउँछन् । भिजिट भिसा प्रकरणमा अख्तियारले छानविन गरिरहेको भन्दै कर्मचारीमाथि अनुसन्धान गरिँदा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने उनको तर्क छ ।
यद्यपि काँग्रेसकै केही नेताहरु भने गृहमन्त्री मुछिइसकेपछि राजीनामा दिँदा उनकै उचाइ बढ्ने बताउँछन् । छानबिन गर्ने निकायहरुकै प्रमुख नेतृत्वमाथि प्रश्न उठ्दा छानबिन निष्पक्ष नहुने भएकाले लेखकले राजीनामा दिएर अनुसन्धानमा सघाउन काँग्रेस नेता शेखर कोइराला, सुनिल शर्मा लगायतले कुरा उठाएका छन् । रविको मुद्दा उठाउन अग्रणी देखिएका काँग्रेस महामन्त्री गगन थापा भने अहिलेसम्म लेखकबारे मौन छन् ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत दलहरुले समेत गृहमन्त्रीको राजीनामा सडक र सदन दुवै ठाउँबाट माग गरिरहेका छन् । उनीमाथि छानबिन हुनुपर्ने सबैको एकस्वर भए पनि काँग्रेसले पार्टीगत निर्णय गरेरै उनलाई चोख्याउने प्रयास गरेको छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ । यद्यपि विपक्षी दलहरूले यस प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन् ।