-1748444230.jpg)
काठमाडौँ । नेपालमा राजावादी शक्तिहरुको गतिविधि बढ्दो छ । जसअनुसार नै उनीहरुले जेठ १५ मा विशेष आन्दोलन गर्ने भनेर घोषणा नै गरेका छन् । र, उनीहरु यो आन्दोलनबाटै राजतन्त्रको पुनस्र्थापन गरिछाड्ने हुँकार दिइरहेका छन् । राप्रपा, राप्रपा नेपाललगायत सबै राजावादी दलहरु एकै ठाउँ उभिएर राजसंस्था पुनस्र्थापनाको मुद्धालाई स्थापित गर्न निर्णायक आन्दोलन गर्ने तयारीमा छन् । तर राजतन्त्र पुनस्र्थापनाका लागि नेपालमा धेरै आन्दोलन र आवाज उठ्ने गरेका भएपनि राजावादी घटकहरु भावी राजा को ? राजसंस्थाकै मुद्धा लिएर अघि बढ्दा राजाका रुपमा कस्लाई अघि सार्ने ? भन्ने विषयमा स्वयम राजावादीहरु नै अन्योलमा छन् ।
तर यही जेठ १५ को आन्दोलनको पूर्व सन्ध्यामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नवयुवराज हृदयेन्द्रलाई राजा बनाउन सकिने प्रश्ताव अघि सारेका छन् । राजावादीहरुको संयुक्त भेलाकै अघि उनले पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वयुवराज पारश शाहको विकल्पमा नवयुवराज हृदयेन्द्रलाई नै राजा बनाउन सकिने प्रश्ताव अघि सारेका हुन् ।
उनले हृदयेन्द्र राजा बन्नका लागि उपयुक्त भइसकेको समेत दावी गरे । सर्बसम्मतिमै हृदयेन्द्रलाई राजा बनाउन सकिने र त्यसमा ज्ञानेन्द्र शाहले पनि सहमति जनाउनुपर्ने अध्यक्ष थापाको प्रस्ताव छ ।
हुनत पूर्वराजा ज्ञानेन्द्र शाहलाई उमेरको कारणले राजावादीहरुले नै राजाको रुपमा स्वीकार गर्न सक्ने देखिँदैन । त्यस्तै पूर्वयुवराज पारश शाहलाई पनि बेलाबखतको अस्वभाविक व्यवहार र केही विवादित घटनाहरुले राजा स्वीकार्न सक्दैनन् । जुन कारणले राजावादीहरु राजसंस्था पुनस्र्थापनाका लागि जोडतोडले आन्दोलन गरिरहेपनि राजाका लागि सर्वस्वीकार्य पात्रको खोजीमा देखिन्छन् ।
राजसंस्था र बेबी किङको चर्चा !
राजसंस्था एक व्यक्ति राजा बन्नको लागि मात्रै रहने व्यवस्था होइन् । राजा र राजसंस्था फरक पाटो भएकालेपनि अहिले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारशलाई छोडेर तेस्रो पुस्ताका २१ वर्षीय नवयुवराजलाई राजा मान्न सकिने विचारहरु राजावादीबाटै आइरहेका हुन् । हुनत यसअघि गणतन्त्रको रापताप चलिरहेको बेला काँग्रेस नेता एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजसंस्थालाई जिवितै राख्न भन्दै हृदयेन्द्रलाई नै ‘बेबी किङ’को रुपमा प्रस्ताव गरेको बताइन्छ ।
जुनबेला हृदयेन्द्र जम्मा ४ वर्षका थिए । तर त्यो बेलाको प्रस्तावले गिरिजाप्रसाद कोइराला नै आलोचित भएको तथा ज्ञानेन्द्र शाहले नै पनि हृदयेन्द्रलाई राजा मान्न तयार नभएको भन्ने चर्चा गरिन्छ । यद्यपि अहिले हृदयेन्द्रलाई राजा स्वीकार गर्न ज्ञानेनद्रमाथि राजावादीहरुबाटै दबाव हृजना हुन थालेको हो । हृदयेन्द्रेलाई राजा बनाउने सम्बन्धमा कमल थापाले मात्रै पहिलो पटक बोलेका होइनन् । राप्रपा बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पनि यसअघि देखि नै पटक पटक हृदयेन्द्रलाई राजाका रुपमा अघि सार्नुपर्ने विषयलाई जोड दिँदै आएका छन् ।
हृदयेन्द्रको नेपाल आगमन र नारायणहिटीमा पूजापाठ
हृदयेन्द्र अमेरिकामा मास्टर्स गर्दैछन् । उनी केही साता अघि नेपाल आएका थिए । उनी राजावादीहरुको आन्दोलनको छेको पारेरै नेपाल आएको राजावादीहरु पक्षधरकै दावी पनि छ । यस्तै पूर्वराजा ज्ञानेन्द्रले गत शनिबार मात्रै नाती हृदयेन्द्रलाई सँगै लिएर नारायणहिटीमा पूजापाठ गरेका थिए । ज्ञानेन्द्र हृदयेन्द्रलाई सँगै लिएर नारायणहिटी जानुलाई पनि राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ । ज्ञानेन्द्र शाह राजतन्त्र ढलेपछि पहिलोपटक नारायणहिटी प्रवेश गरेका हुन् ।
प्रधानमन्त्रीको टिप्पणी कस्तो ?
मुलुकमा राजावादी गतिविधि बढ्दा सरकारलाई चुनौती थपिएको छ । तर यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओली भने राजसंस्थाको मागलाई अनावश्यक भन्छन् । उनले राजावादीका पक्षबाट भइरहेका सबै हर्कतहरु अनावश्यक भएको सार्वजनिक टिप्पणी गरिरहेका छन् । यहाँसम्मकी हृदयेन्द्रलाई राजा बनाउने भन्ने विषयलाई समेत ओली निरर्थक भन्दै आएका छन् ।
राजावादीहरुको आन्दोलनलाई प्रधानमन्त्रीले खिसिट्यूरी नै गरे पनि उनीहरु अझ संगठित भएर निर्णायक आन्दोलन गर्ने मोडमा छन् ।
यस्तैमा ज्ञानेन्द्रलाई छोडेर हृदयेन्द्रलाई राजाको प्रस्ताव गरेका राजावादी नेताहरुलाई स्वयम ज्ञानेन्द्रले कस्तो जवाफ देलान् ? भन्ने विषय आम चासोको रुपमा हेरिएको छ । यदी हृदयेन्द्रलाई राजा बनाउन ज्ञानेन्द्र नै तयार भए नेपालको राजनीतिले कस्तो मोड लिन्छ् भन्ने आम कौतुहलता पनि उत्तिकै बढ्दो छ ।