News 24 Television
एमाले र राजावादीको दोहोरो भिडन्तको सम्भावना !

काठमाडौं । सरकारको अलावा सत्तारुढ दल नेकपा एमालेले पनि विहीबार काठमाडौंमा धुमधामका साथ गणतन्त्र दिवस मनाउँदै छ । नेपालमा गणतन्त्र स्थापना भएको १७ बर्षे पुरा भएको अवसरमा भब्य उत्सवका रुपमा दिवस मनाउने बताइएको छ । राजावादीहरुले गणतन्त्र दिवसकै दिन ब्यवस्थाविरुद्ध आन्दोलन चर्काउने तयारी गर्दा एमालेले गणतन्त्र उत्सव मनाउने बनाएको हो । एमालेले राजावादी शक्तिलाई समेत चेतावनी दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमाले विहिबार काठमाडौँको सडकमा उत्रिदैछ । १७ औँ गणतन्त्र दिवस भब्य मनाउन लागिएको बताएको एमालेले भृकुटिमण्डपमा हजारौँ कार्यकर्ता उतार्ने लक्ष्य राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा एमाले कार्यकर्ताले काठमाडौं उपत्यका नै ढाकिने छ ।

नेपाली जनताका हकहित र अधिकार स्थापित भएको दिनको सम्झनामा उत्सव मनाउँदा एक हजार बढि स्वयसेवक परिचालन हुने एमालेले जनाएको छ । सामाजिक र सास्कृतिक महत्व दर्शाउने झाँकी सहित उत्सव मनाइने एमालेको भनाई छ । एमाले नेतृत्वले नेता कार्यकर्तालाई गणतन्त्र दिवसमा उपस्थिति हुन आह्वान समेत गरिसकेको छ । 

यता, नागरिकमा भने के खाउँ के लाउ भन्ने अवस्था छ । गरिबी र ब्यरोजगारीले सिमा नाग्दा हरेक दिन त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल बाट ५ हजारका दरले नेपाली विदेश पलायन भइरहेको अवस्था छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा भने एमाले महासचिव पोखरेलले गणतन्त्रको ठुलै गुनागान गाए । नेपालमा गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान बनेपछि परिवर्तनको बाढि आएको जिकिर उनका थियो । नागरिकमा प्रत्यक्ष प्रभावपर्नेगरी प्रतिव्यक्ति आय, औसत आयु सहितका विषयमा ठुलो सफलता हात पारे पनि देशमा केहि छैन भन्ने भ्रम चलाइएको गुनासो गरे ।

महासचिव पोखरेलले नेपाली जनताको बलबाट फालिएका पुर्वराजा ज्ञानेन्द्र शाहका गतिविधि शैह्य नहुने चेतावनी समेत दिए । पछिल्लो समय राजावादी शक्तिहरुले गणतन्त्रवादीलाई चुनौती प्रस्तुत गरिरहेका छन् । राजावादीले विहिबार नै काठमाडौँमा निर्णायक आन्दोलन गर्ने बताइरहेका छन् । पछिल्लो समय व्यवस्था माथि नै खतरा बढेको भान एमालेमा छ । 
नवराज सुवेदी संयोजक रहेको संयुक्त जनआन्दोलन समितले राजसंस्था स्थापना र हिन्दुराज्य स्थापनाको एजेण्डा सहित निर्णायक आन्दोलनमा होमिदा दोहोरो भिडन्त अवस्था बन्ने सम्भावना बढ्दै गएको छ । 

राजावादीले रत्नपार्कलाई आन्दोलनस्थलका रुपमा प्रयोग गर्ने दाबी गरिरहेका छन् । एमालेले नजिकै भृकुटिमण्डपमा गणतन्त्र दिवसको उत्सव मनाउँदैछ । 

यस्तो अवस्थामा दोहारो भिडन्तको अवस्था सृजना हुने खतरा बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी आन्दोलनलाई भारी पर्नेगरी जेठ १५ मा काठमाडौँ कब्जा गर्ने अभिब्यक्तिले हंगामा मच्चिरहेको त छ नै । यसले दुई पक्ष आमनेसामने हुने सम्भावना उत्तिकै छ । 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्देशन शिरोधार गरेका कार्यकर्ताले राजावादी आन्दोलन उग्र भएमा ठेगान लगाउने जिकिर गरेका छन् । 

प्रधानमन्त्री ओलीको उर्दीमा सडकमा ओर्लीन लागेको एमाले गणतन्त्र दिवस भन्दापनि राजावादी आन्दोलन मथ्थर पार्न लागि पर्ने देखिएको छ । एमाले नेता कार्यकर्ताका पछिल्ला अभिव्यक्ति र हरकतले राजावादी रोक्न बढि केन्द्रीत भएको दर्शाउने गरेको छ । विशेषगरी राजावादी आन्दोलनका शिर्ष नेता अर्थात् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई हेलिकप्टर लिएर भाग्न चेतावनी दिएपछि एमाले आक्रमक बनीरहेको छ । 

ओलीले काठमाडौँ कब्जाको धम्की दिनु र लिङ्देनले हेलिकप्टर तयार पार्नु भनेर दिएको चेतावनीले कतै  एमाले भर्सेस राजवादी विच मारामारको स्थिति बन्ने त होइन भन्ने त्रासदी उत्तिकै छ । दुवै पक्षले अहिलेसम्म कार्यक्रमको लागि प्रशासनबाट स्वीकृति समेत नलिएको बताइएको छ ।  सरकार र आन्दोलन पक्षले चनाखो बन्नुपर्ने राजनीतिका पण्डितहरुले विश्लेषण गर्ने गरेका छन् ।  

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update