News 24 Television
मन फेर्दै देउवा ! कुन शक्तिमाथि कस्तो खतरा ? 

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा गणतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै गर्दा धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ भन्दै धर्मबारेमा केहि रिजर्भेसन राख्ने गर्थे । तर, गणतन्त्र, प्रणाली र संविधानमाथि उठेका प्रश्नपछि देउवा पनि गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितामा कांग्रेस दृढ रहेको भन्न थालेका छन् ।

देउवाले धर्मनिरपेक्षतामाथि देखाएको दृढता र अन्य पार्टीहरुको बुझाईकाबीच चलिरहेको राजनीतिक शंकाकाबीच कस्तो स्थिति सिर्जना होला ? यो आम चासोको विषय बनेको छ । 

नेपालको संविधान निर्माण गर्दा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता लगायतका विषय समावेश गरिए । यी विषयलाई संविधानको मुख्य अंग नै मान्ने गरिएपनि संविधान संशोधनको विषय चलिरहेका बेला धर्मनिरपेक्ष राष्ट्रको विषयमा भने बढि विवाद देखिन्छन् । 

कांग्रेसमा ठूलो मत हिन्दु राष्ट्रको पक्षमा देखिन्छ भने कांग्रेस सभापति शेरबहादुर देउवाले समेत २०८० को मंसिर ११ गते नवलपुरमा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधनको क्रममा भनेका थिए, धर्मनिरपेक्षताबारे पार्टीमा छलफल गर्न सकिन्छ । कांग्रेसमा हिन्दु राष्ट्रको पक्षमा खुला रुपमा हस्ताक्षर अभियान नै चलाइयो । यता, नेकपा माओवादी केन्द्र धर्मनिरपेक्षताबारे आफूलाई जननीको रुपमा नै चिनाउने गर्छ । राज्यको निश्चित धर्म नहुने र सबै समान रुपमा धार्मिक आस्था राख्न पाउने गरि निरपेक्षतामा जानुपर्छ भन्नेमा विश्वास गर्छ । 

यता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने धर्म निरपेक्ष मुलुक बनाउनुलाई अभिसापको रुपमा नै व्याख्या गर्नेमा पर्छ ।

सत्ता र प्रतिपक्षी जो जता भएपनि धर्मनिरपेक्षताको विषयमा चलिरहेको जुहारीकै बीच गणतन्त्रविरुद्ध राजावादी शक्तिहरुले घेराबन्दीको अभ्यास गर्न थालेपछि कांग्रेस पनि अहिलेको अवस्थामा शंका र त्रासमा रहेको देखिन्छ । २०८० सालमा भाषण गर्दा धर्मनिरपेक्षताबारे छलफल गर्न सकिन्छ भनेका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले भनिरहेका छन, कांग्रेस गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितामा दृढ छ । अर्थात व्यवस्थाप्रतिका गतिविधिमा देउवा सजग देखिन्छन् ।

देउवाले धर्मको विषयलाई राजसंस्थासंग जोड्दा समस्या निम्तिन सक्ने राजनीतिक अंकगणितका कारण पनि संविधानको बचाउमा धर्मनिरेक्षतालाई पनि जोड्न थालेको  देखिन्छ । 

संविधान संशोधन गर्ने भन्दै एमालेसंग भएको ७ बुँदेको कार्यान्वयन होला, नहोला तर, यसको दबाब पर्नेमा ढुक्क रहेका देउवाले सोलोडोलो जाने स्थिति बन्नसक्ने र कांग्रेसकै नेताहरु धर्मको पक्षमा लाग्दा धर्मसंग राजाको विषय पनि आउने शंकासहित सचेत बनेको चर्चा चलिरहेको छ । तर, कांग्रेस नेताहरु डा. शेखर कोइराला, डा. शशांक कोइरालाले खुलेरै नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा वकालत गर्दै आएका छन् भने यो विषयमा समेत देउवाले सुझबुझपूर्ण कदम चाल्ने गरि बोल्न थालेको देखिन्छ । यसरी समग्र अवस्था हेर्दा वर्तमान प्रणालीमाथि खतरा पैदा गर्ने कुनैपनि झुकाव कांग्रेसका लागि स्वीकार हुने विषय बन्न नसक्ने देखिन्छ । साथै नेकपा एमाले र नेकपा माओवादीलगाएतका दलहरु समेत शासन प्रणालीमाथिका प्रश्नलाई निष्तेज पार्ने प्रयासमा अग्रसर देखिन्छन् ।  

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update