
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो कडा बचाउ गरेका छन् । राजनीतिक इमान्दारिताको हाँक दिएका लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै प्रधानमन्त्री केपी ओलीको समेत रक्षा गरिदिए । यसरी चलिरहेको राजनीतिक साउतिमा के गृहमन्त्रीको दाबीमा विश्वास गर्ने आधार तयार भए ? प्रतिपक्षीको अडान जायज र तर्कसंगत नहुने स्थिति सिर्जना भयो ? चासो बढेको छ ।
गृहमन्त्री रमेश लेखकले भिजिट भीसा प्रकरणमा आफूलाई निर्दोष रहेकोमा जोड दिए । गृहमन्त्री लेखकले न्याय आफ्ना लागि पनि त चाहिएला नि भन्दै गरेको प्रश्न र न्यायको याचनासम्म उनले गरेका सवालहरु भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्नेमै केन्द्रित देखिन्छन् ।
गृहमन्त्री र तीर्थराज कनेक्सन !
भिजिट भीसा प्रकरणमा गृहमन्त्री लेखकले आफूविरुद्ध कतैपनि उजुरी नपरेको र कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिनुपर्ने थिति बसाल्न खोजिएको हो भन्दै आफ्नो बचाउँ गरेका छन् ।
त्यस्तै उनले भिजिट भिसा प्रकरणमा अख्तियारको छानविनमा परेका त्रिभूवन विमानस्थल अध्यागम कार्यालयमा निर्देशक तीथराज भट्टराईसँग आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन् ।
भट्टराईलाई आफुले गृह मन्त्रालयमा नल्याएको उनले जिकिर गरेका छन् । गृहमन्त्री लेखकले भट्टराईलाई २०७७ मा तत्कालिन गृहमन्त्री रामबहादुर थापाल गृह मन्त्रालयबाट गोरखा र महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएको स्मरण गराउँदै २०७९ सालमा माओवादी अध्यक्ष प्रचण्डले केही समय गृहमन्त्रीको समेत कार्यभार सम्हालेको बेला गृह मन्त्रालयमा ल्याइएको बताए ।
पछि हेटौडास्थित मुख्यमन्त्री कार्यालयमा रहेका भट्टराईलाई रवि लामिछाने गृहमन्त्री हुँदा पुनः गृहमा ल्याएको लेखक बताउँछन् ।
यीनै तथ्यहरुलाई आधार मान्दै उनले भट्टराईसँगको सम्बन्ध बाहिर चर्चा भएको जस्तो नभएको दाबी गरेका छन् । तर प्रतिपक्षी दलहरुले भने उनको राजीनामालाई नै बटल लाइन बनाएको भन्दै संसद बैठक अवरोध गर्दै आएका छन् ।
संसद अवरोधका कारण बैठक नै नबसी बिहीबारसम्मका लागि बैठक स्थगित नै भइसकेको छ । यता, प्रतिपक्षी दलहरुले बजेट कार्यक्रममा बाधा नपु¥याउने भन्दै संसदमा राजीनामाको विषयलाई भने प्राथमिकताका साथ अघि बढाउने भनिरहेका छन् ।
प्रतिपक्षी दलहरुले भिजिट भीसा प्रकरणमा गृहमन्त्रीलाई जोडेर आक्षेप लगाइरहेको बेला गृहप्रशासनभित्रको कर्मचारी सरुवा बढुवामा देखिएको अस्वभाविक कदम र सेटिङको रकम बाँड्न निर्माण गरिएको समितिमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरुको समेत संलग्नताको आरोपले राजनीतिक स्थिति फरक बन्न पुगेको छ । तर, बुधवार बालुवाटारमा कांग्रेस शीर्ष नेताहरु र प्रधानमन्त्री ओलीबीचको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिने विषयलाई ठाडै अस्वीकार गरेको छ ।
सत्ता र प्रतिपक्षी दलबीच यस्ता आरोप–प्रत्यारोप चल्दै गर्दा बजेट कार्यक्रम प्रभावित हुनसक्ने खतरा समेत नदेखिएको होइन । तर, प्रतिपक्षी दलहरुले बजेट ल्याउन दिने भनिरहेको बेला गृहमन्त्रीको राजीनामा प्रकरण केहि मत्थर हुने त होइन भन्ने चासो समेत देखिन्छ ।
सत्ताको साउति
प्रधानमन्त्री केपी ओलीले एमालेका वडाध्यक्षहरुलाई काठमाडौं कब्जा गर्न दिएको निर्देशनले कांग्रेसमा समेत ठूलो खैलाबैला चल्यो । कांग्रेसका नेताहरुले यसबारे औपचारिक टिप्पणी समेत गरे भने कांग्रेसले यसबारे छलफल गरेको समेत स्वीकार ग¥यो । तर, कांग्रेस नेताहरुले आपत्ति जनाउदै गर्दा एमाले आफैले पनि ओलीको त्यो अभिव्यक्ति प्रधानमन्त्रीका रुपमा नभई पार्टी अध्यक्षको रुपमा भएको भनेको छ ।
एमालेले काठमाडौं कब्जाबारेको अभिव्यक्तिलाई पार्टी अध्यक्षको हैसियतमा भएको भनिरहेको बेला गृहमन्त्री रमेश लेखकले भने रोचक बचाउ गरेका छन् । गृहमन्त्री लेखकले काठमाडौं कब्जा सांगीतिक रुपले गर्नुपर्ने भनेको दाबी गरिदिएका छन् ।
एमाले आफैले स्वीकार गरेको विषयलाई गृहमन्त्री लेखकले दिएको प्रष्टोक्तिले पनि सत्ताको साउति र मिलापबारे धेरै कुरा छर्लङ्ग पारेको आरोप लाग्न थालेको छ । यद्यपी सत्ता साझेदार दलभित्रको आन्तरिक मामलामा हुने टिप्पणी र सरकारको हैसियतमा हुने टिप्पणीमा समेत कांग्रेस एमालेको सानदाच बचाउले भने थुप्रै शंकाहरु उब्जाइदिएको छ ।