News 24 Television
राजावादी पुरै भिड्ने मुडमा ! सरकार पनि मैदान उत्रने ! 

काठमाडौं । संघीय राजधानी काठमाडौंमा दुई विपरीत ध्रुवका राजनीतिक शक्तिहरूको आमनेसामने हुँदैछन् ।  एकातर्फ गणतन्त्रको उत्सव, अर्कातर्फ राजसंस्थाको पुनस्र्थापनाको हुंकार । त्यसैले अहिले रत्नपार्कदेखि चक्रपथसम्म देशको राजनीतिक तापक्रम अस्वाभाविकरूपमा चुलिएको छ । सरकारको चासो सुरक्षा चुनौतिमा केन्द्रित छ । तर, सडकमा उत्रन लागेका समूहहरूको चेतावनीले शान्ति र अस्थिरताको सिमाना धमिलो बन्दै गएको छ । 

काठमाडौंमा विहीबार एकातर्फ गणतन्त्रको उत्सवको माहोल देखिने छ भने, अर्कातर्फ राजसंस्थाको पुनस्र्थापनाको हुंकार । अर्थात, दुई फरक विचारधाराका शक्तिशाली प्रदर्शनले देशको राजनीतिक तापक्रम चुलिएको छ । 

राजसंस्था पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले रत्नपार्कस्थित शान्तिवाटिकाबाट प्रदर्शन सुरु गर्ने बताएको छ भने नेकपा एमालेले यसै दिन गणतन्त्र उत्सव मनाउने तयारी गरिरहेको छ । तर, यस्ता गतिविधिमा सरकारको चासो झन् बढेको छ । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म राजावादी प्रदर्शनका लागि अनुमति दिएको छैन । राप्रपालगायत राजावादी दलहरूले भने अनुमति नपाए पनि आन्दोलन गर्ने अडान दोहोर्याइरहेका छन् । जनविद्रोहका लागि अनुमति माग्ने चलन संसारमा कतै पनि हुँदैन भन्ने तर्क उनीहरूको छ । राजसंस्था पुनस्र्थापना, हिन्दु राज्य पुनस्र्थापना र संघीयता खारेजीलगायत माग पुरा नभएसम्म सडक खाली नगर्ने राप्रपा लगायत राजावादी नेताहरुले बताउँदै आएका छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार र गृहमन्त्री रमेश लेखकले मंगलबार आआफ्नो तर्फबाट केन्द्रीय सुरक्षा समितिको बैठक डाकेर राजावादी प्रदर्शनबारे ब्रिफिङ लिएका छन् । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले आन्दोलन सानो हुने तर अराजकता हुन सक्ने निष्कर्षसहितको रिपोर्ट पेस गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजावादी प्रदर्शनलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएको जनाइएको छ । सोहीअनुसार मंगलबार रातिदेखि काठमाडौं प्रहरी उपत्यकाभित्र सर्च अपरेसन सुरु गरिसकेको छ । प्रमुख नाका, होटल तथा बस पार्कहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । शान्ति सुरक्षाको उचित प्रबन्ध गरिएको सरकारको दाबी छ । 

विद्रोहको चेतावनी !

यता, राप्रपाले भने आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने दाबी गर्दै हिंसा भए प्रधानमन्त्री ओली नै जिम्मेवार हुने चेतावनी दिएको छ । उनीहरूले प्रधानमन्त्रीमाथि उत्तेजक अभिव्यक्ति दिएर भिडन्तको वातावरण सिर्जना गर्न खोजेको आरोप पनि लगाएका छन् । त्यस्तै, एमाले कार्यकर्ताले आफूहरूको कार्यक्रममा अवरोध गरे प्रतिकार गर्ने चेतावनी राप्रपाको छ । तर, प्रदर्शनलाई दबाउने प्रयासले स्थिति झन् विस्फोटक बन्न सक्ने जोखिम उत्तिकै देखिन्छ ।

सुरक्षाको चुनौति

दुई महिना अघि चैत १५ मा संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । सो घटनामा एक पत्रकार र एक प्रदर्शनकारीको ज्यान गएको थियो भने सुरक्षाकर्मीको गोली लागेर २० जना घाइते भएका थिए । केही व्यक्तिको घरमा आगजनी र तोडफोडसमेत भएको थियो ।

त्यस घटनाबाट झस्किएको सुरक्षापंक्तिले अहिले फेरि एकै दिन दुई पक्षको प्रदर्शनका कारण असहज स्थितिको सामना गर्नुपरेको छ । अघिल्लो प्रदर्शनमा सुरक्षा निकायबीच तालमेलको अभाव देखिएको थियो । यसपटक यस्तो कमजोरी नहोस् भन्नेतर्फ विशेष ध्यान दिइएको दाबी प्रहरीको छ । यस्तो अवस्थामा जेठ १५ को प्रदर्शनले शान्तिपूर्ण बाटो रोज्छ कि फेरि तीनकुने घटनाकै प्रवृति दोहोरिन्छ ? सबैको चासो र चिन्ता बढेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update