
काठमाडौं । सरकारले हरेक वर्ष जेठ १५ मा औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरेको छ । सरकारका विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा दिवस मनाउने गरिएकोमा यो वर्ष एमालेले पहिलो पटक विशेष उत्सवका रुपमा यो दिवस मनाएको छ । राजावादी शक्तिहरुको सक्रियता बढ्दै जाँदा एमालेले काउन्टर स्वरुप गणतन्त्र दिवस मनाएको हो । यसले गणतन्त्र रक्षाका लागि एमाले तयार रहेको सन्देश दिएको छ ।
पछिल्लो समय गणतन्त्र र त्यसका नेतृत्वकर्ताहरु बिरुद्ध जनआक्रोश बढिरहेको छ । यहि जनआक्रोशकाबीच राजावादी शक्तिहरुले पनि आफ्नो सक्रियता बढाएका छन् ।
गणतन्त्रकै विरुद्ध निर्णायक आन्दोलन भन्दै विभिन्न समूहमा विभाजित राजावादीहरु एकगठ्ठा भएर सडकमै उत्रिएपछि गणतन्त्रको रक्षाका लागि एमाले नेता कार्यकर्ताहरु गणतन्त्रवादीहरुको उपस्थिति कमजोर हुन नदिने प्रयत्नमा लागेका छन् ।
उनीहरु राजावादीलाई काउन्टर दिने शैलिमै सडकमा ओलिएका छन् । गणतन्त्र दिवसकै दिन राजावादीहरुले ब्यवस्थाविरुद्ध मुर्दावाद भन्दै नारा लगाउँदा एमालेले सडकमा गणतन्त्रलाई उत्सवका रुपमा मनाएको हो ।
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय राजावादी र राजसंस्थाको माग राख्नेहरुको खुलेरै प्रतिवादमा उत्रिने गरेका छन् । विहीबार टुँडिखेलमा सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा पनि प्रधानमन्त्री ओलीले राजावादीको चर्को आलोचना गरे । उनले जनताको हित र अभिमत भन्दा शाही इशारा ठूलो हुन नसक्ने भन्दै राज्यका अंगहरु सुधार गर्नुपर्ने औंल्याए ।
बिहिबार अर्थात जेठ १५ गते गणतन्त्र दिवसकै दिन राजावादीहरु ब्यवस्थाविरुद्ध नाराबाजी गरिरहँदा एमाले नेता कार्यकर्ताहरु प्रतिकात्मक तरबार र ढाल लिएर सडकमा प्रदर्शन गरे । उत्सवका रुपमा झाँकी प्रदर्शन र नाँचगान गरे । ६ दशक लामो लोकतान्त्रिक आन्दोलनले सार्थकता पाएको दिनको रुपमा जेठ १५ लाई उत्सवका रुपमा मनाइएको एमाले नेताहरुको भनाई छ । राजावादीहरुले जतिसुकै चर्का कुरा गरे पनि मुलुक उल्टो दिशामा फर्किन नसक्ने उनीहरुको तर्क छ ।
गणतन्त्रको विरुद्ध राजावादीहरु आक्रामक रुपमै अघि बढ्न खोजेपछि गणतन्त्रवादी शक्तिहरु सबै एक भएर अघि बढ्नुपर्ने बहस संसद भित्रै पनि उठ्न थालेको छ ।
राजावादीहरुले यस भन्दा अगाडि पनि विभिन्न समयमा राजसंस्था पुनस्र्थापनाको माग राख्दै प्रर्दशन गर्दै आईरहेका छन् ।
गत चैत्र १५ गते विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन गर्दा माओवादी सहितका साना कम्युनिष्ट पार्टी मिलेर बनेको समाजवादी मोर्चाले पनि उनीहरुलाई काउण्टर दिन भृकुटी मण्डपमा प्रदर्शन गरेको थियो । यसले राजसंस्थाको माग उठाई रहदा सत्ता पक्ष र प्रतिपक्ष दलमा रहेका लोकतान्त्रिक तथा गणतन्त्रवादी शक्तिहरु गणतन्त्रको रक्षार्थ बलियो खम्बा बन्न त जरुरी छ नै, गणतन्त्रकै उपहास गर्ने गरी गर्ने नेतातन्त्रको सुधार पनि आवश्यक देखिन्छ ।