News 24 Television
विद्यादेवीको चीन भ्रमणः रणनीतिक राजनीतिको सक्रियता, कम्युनिस्टलाई सन्देश के ?

काठमाडौं । अहिले मुलुकको राजनीति गरम छ । सत्ता राजनीतिमात्रै होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी राजनीति पनि खास शान्त छैन । यहि परिवेशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अर्थात नेकपा एमालेकि पूर्वनेतृ छिमेकी मुलुक चीन भ्रमणमा छिन् । 

भ्रमणमा उनलाई चीनले दिइरहेको प्राथमिकतालाई रणनीतिक कदमसँग समेत जोडेर हेरिएको छ । खासमा के चाहन्छ चीन ? विद्यादेवी चीनको रोजाईमा किन ? अनि यि सबै पछाडीको स्वार्थ के त ?

कम्युनिस्ट विचारधारालाई राजनीतिक आधार बनाउँदै नेपालमा दुई कार्यकालसम्मै राष्ट्रपति बन्न सफल व्यक्ति हुन्, विद्यादेवी भण्डारी । उनी यतिबेला छिमेकी मुलुक चीनको भ्रमणमा व्यस्त छिन् । उनको भ्रमणमा चीनको विशेष प्राथमिकता छ । उनको स्वागतसत्कारदेखि कार्यक्रम व्यवस्थापन एवम् भेटवार्ता चीनले रणनीतिक रुपमा गरिरहेको छ ।

सत्ता राजनीतिको नेतृत्व सम्हाली रहेको नेकपा एमालेभित्रै यतिबेला आन्तरिक कलह छ । गुटगत झलकहरु सतहमै छरपष्ट भइरहेका छन् । यहि अवस्थाका बीच विद्यादेवी पुनः एमालेको सक्रिय राजनीतिमा आउने चर्चा व्यापक नै छ । आन्तरिक गुटका दृष्यले पनि यतै संकेत गरिरहेका छन् । यो अवस्था त छदैछ, नेपालमा कम्युनिस्ट शक्ति छरपष्ट छ । न एकता छ न त, निर्णायक कदम चाल्न योग्य देखिन्छ । 

चीन कम्युनिस्ट मुलुक, उ चाहन्छ कम्युनिस्ट शक्ति नेपालमा पनि एकसाथ बलियो बनुन्, अनि चीनसँग राम्रो मित्रता होस । एमाले र अन्य कम्युनिस्टसँग आफ्नो सम्बन्ध थप बलियोका लागि सधैं बढिभन्दा बढि विश्वास गर्न सकिने पात्र खोज्दैछ चीन । यहि कारण हो, चीनले विद्यादेवीको भ्रमणलाई विशेष प्राथमिकता दिइरहेको भन्ने टिप्पणी राजनीतिक वृतमा छ । 

राजनीतिक विश्लेषकका मत समेत यस्तै छन् । नेपालमा कम्युनिस्ट शक्तिमा सबैभन्दा ठुलो एमाले नै हो । तर, एमालेको नेतृत्वकर्तामाथि पेचिला बनिरहेका प्रश्नले पनि यो शक्ति कमजोर नबनोस र सबैले मान्ने व्यक्ति नेतृत्वमा आओस भन्ने चाहना चीनको छ । 

यसरी सरसर्ति बुझ्दा चीनले विद्यादेवीलाई नेतृत्वकर्ताका रुपमा अघि सार्न खोजेको हो र विस्तारै यस्तो वातावरण बन्ने  छ भनि विश्लेषण भइरहेको भएपनि तत्कालै वर्तमान नेतृत्वकर्ता केपी ओलीको विकल्प भइहाल्ने अवस्था छैन । 

चीनमा पाइरहेको सम्मान र रणनीति

विद्यादेवी एमालेबाट मन्त्री बनेकाहरुदेखि अन्य नेताहरुसहितको टोलीको नेतृत्व गर्दै गएको आइतबार चीन गएकी हुन् । उनले आफ्नो भ्रमण केवल नागरिकस्तरको भनेकी छन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूले भने उनलाई नेपालको ‘विशिष्ट नेता’ का रुपमा सम्मान दिइरहेका छन् । 

पूर्वराष्ट्रपति भएकाले पनि उनलाई विशिष्टको सम्मान दिनु ठिकै हो, तर उनी अहिले कुनैपनि दलकी नेता होइनन्, उनी आम नागरिक नै हुन् । बढीभन्दा बढी मुलुकको पूर्वराष्टाध्यक्ष हुन् । यद्दपी, चीनले अनौपचारिक रुपमा किन उनलाई एमालेको नेतानै घोषित ग¥यो ? यसभित्रको तथ्य कूटनीतिक एवम् रणनीतिक छ । 

चीनको सन्देश 

चीनले भनिरहेको छ नेपालमा स्थायित्व चीनको चाहना हो । साथै नेपालमा कम्युनिस्ट पार्टीको एकता चीनको रणनीतिक चाहना हो । नेपालमा कम्युनिस्ट शक्ति सधैं बलियो भए आफुलाई सहज हुने धारणा चीनको छ । राजनीतिक विचारधारा एक हुँदा मित्रतामा थप बलियोपन आउने र विश्वशक्ति राष्ट्र बन्ने यात्रामा थप सहजता पाइने स्वार्थ चीनको हो । 

हुनत, नेपालमा राजसंस्था रहुन्जेल चीनले राजालाई भरोसा गर्न सक्ने मित्रका रुपमा सम्बन्ध विकास गरेकै थियो । तर, अहिले चीन चाहन्छ कम्युनिस्टहरु बलिया बनुन् र साथी सरह काम गर्न पाइयोस । 

हो त्यसैले चीनले बलियो कम्युनिस्ट बनाउनका लागि विद्यादेवीलाई एक बलियो मियोका रुपमा हेरिरहेको छ । विद्यादेवीको छत्रछायाँमा सबै एकै घरमुनी बस्न सक्छन् र नेपालका कम्युनिस्ट यही बाटोमा बलिया हुनेछन् भन्ने विश्वास चीनको हो । 

साथै, नेपालमा चिनियाँ लगानीको सहि प्रयोग, चिनियाँ परियोजनालाई गति, चिनियाँ व्यापारिक क्षेत्रको विस्तार एवम् व्यवस्थापन साथै, विकास निर्माणका परियोजनाका सम्बन्धमा चीन फ्रेण्डली नेपालको चाहना चीनको छ । रणनीतिक योजनाहरु कार्यान्वयनका चरणमा देखिएका विविध अवरोधहरु नहोस भन्ने समेत चीनको चाहना हो । 

यो सबै वातावरणका लागि समन्वयकारी भूमिकामा रहन सक्ने व्यक्तिका रुपमा चीनले विद्यादेवी भण्डारीलाई लिएको छ । यद्दपी, चीनले विद्यादेवीलाई रणनीतिक मोहडा बनाउन खोजेपनि नेपालमा वामपन्थी एकता, एमालेभित्र देखिएको गुटगत राजनीति निष्तेज र कम्युनिस्ट शक्ति थप बलियो बनाउन सकिने ठोस आधार तत्काल देखिएका भने छैनन् । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update