News 24 Television
गृहमन्त्रीको डोरी चुटाउन विपक्षी फनफनी ! भित्रभित्रै नयाँ सत्ता कनेक्शन !

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामाबारे प्रतिपक्षी दलहरु अडानसहित संसदमा आन्दोलन गर्ने भनिरहेका छन् । गृहमन्त्री भने राजीनामा नदिनेमा दृढ उभिएका छन् । कांग्रेस–एमालेले गृहमन्त्री लेखकलाई निर्दोष भनिरहँदा संसद बैठकको कार्यतालिका र सहजताबारेका प्रश्नहरु थप पेचिला बनेका छन् । 

भिजिट भीसा प्रकरणले पदीय संकटमा परेका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिने भनिरहेका छन् । निराधार आरोप लगाइएको, राजनीतिक प्रतिशोध साधिको दाबी गरिरहेका गृहमन्त्री लेखककै कारण संसद बन्धक बन्ने खतरा भने बढेको छ । 

संसदले कार्यसूची नै तयार पारेर जेठ २० देखि असार १२ सम्मको १९ दिने क्यालेण्डर नै पारित गरिसकेपनि संसद क्यालेण्डरअनुसार अघि बढ्ला ? सरकारले बजेट पारित गराउने समयसम्म प्रतिपक्षीको साथ पाउला ? तमाम प्रश्नहरु उब्जिएका छन् । यस्तोमा प्रतिपक्षी दलहरुले भनिरहेका छन, भिजिट भीसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ । यो बटम लाइन नै हो ।

प्रतिपक्षी दलले राजीनामा बटम लाइन नै बनाएको दाबी गरिरहेको बेला बजेट पेश गर्न प्रतिपक्षीले साथ दिएकाले अब बजेट प्रक्रियाका छलफल र संसदीय प्रक्रियालाई प्रतिपक्षले संवैधानिक ढंगले समर्थन गर्ने भनिरहेका छन् । 

यसरी सत्ता र प्रतिपक्षीबीच विवाद र जुहारी चलिरहेको बेला गृहमन्त्री लेखकमाथि नैतिक दबाब भने चर्को ढंगले परिरहेको छ । उनीमाथि कांग्रेस सांसदहरुले नै प्रश्न गरिरहेका छन भने बुद्धिमतापूर्वक राजीनामा दिएर नैतिकता देखाउनुपर्ने तर्क अघि सारिरहेका छन् । 

कांग्रेसमा यस्तो आवाज उठाउनेहरुमा इतरपक्षका नेताहरु नै सक्रिय बनेको चर्चा चलिरहेको छ । यस्तो बेला कांग्रेस सांसद सुनिल शर्माले समेत नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानपछि फेरि फर्किन सकिनेमा जोड दिएका छन् । 

सत्ता पक्षभित्र कांग्रेसकै एउटा पक्षले राजीनामाको विषयलाई नैतिकतासंग जोडेर हेरिरहेको छ भने अर्को पक्षले राजीनामा दिनै नहुनेमा जोड दिन थालेको देखिन्छ । जुन कुराले संसद बन्धक त बन्ने त होइन भन्ने शंका र चिन्ता समेत बढेको देखिन्छ । 

संसदको १९ दिने बैठक कार्यसूची र अहिलेको बाधा

२ गतेसम्म १९ दिन संसद बैठक बस्नेबारेमा कार्यतालिका पारित गरेको छ । असार १५ गते संघीय संसदको दुबै सदनको संयुक्त बैठक बसेर बजेट पारित गर्ने कार्यतालिका छ । तर, त्यसअघि बजेटबारेका छलफलदेखि संसदीय कार्यसूचीमा सम्भावित कार्यक्रम सहजै अघि बढ्लान ? शंका भने देखिन्छ । गृहमन्त्री प्रकरणमा राजीनामा र छानविनको माग उठिरहेको बेला प्रतिपक्षी दलहरुले कस्तो व्यवहार गर्छन बन्ने विषय पनि केन्द्रमा छ । 

लेखकको राजीनामा आरजुले रोकेपछि...

गृहमन्त्री रमेश लेखकले प्रश्न उठेपछि राजीनामा दिनेबारेमा छलफल गरेको बताइन्छ । तर, उनले राजीनामा दिदा बाहिर नराम्रो सन्देश जाने भन्दै कांग्रेस नेतृसमेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नै राजीनामा रोकेको चर्चा छ । उसोतः आरजु जापानबाट फर्किएको केहि समयमै हङ्कङ गइसकेकी छन् । 

उनी शनिवारमात्रै नेपाल फर्किने भनिएको छ। यस्तोमा आरजुकै सक्रियतामा राजीनामा अड्किएको छ भने गृहमन्त्रीकै कारण बजेट पारित गर्न संसदमा हंगामा सिर्जना हुने स्थिति सिर्जना भएमा सरकारको स्थायित्वमाथि समेत प्रश्न उठ्नेछ । साथै बजेटपछि सरकार फेर्ने अभ्यास समेत तीब्र गतिमा अघि बढ्ने कतिपयले चर्चा गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update