News 24 Television
नारायणहिटीमा असार २४ सम्म निषेधाज्ञा, राजावादी निमिट्यान्न पार्ने ओली नीति !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायाणहिटी दरबार केन्द्रीत गतिविधि बढाउँदा सरकारले भने चुनौती भाव प्रकट गर्न थालेको छ । उता राजावादी संगठनहरु पनि मनमुटावलाई विर्सिएर आन्दोलनमै संगठित भइरहेका छन् । जसले पनि सरकारमाथि थप दवाब सृजना भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह अघिल्लो साता मात्रै पूर्वनवयुवराज हृदयेन्द्रलाई लिएर नारायणहिटी पुगेका थिए ।

राजतन्त्रको अन्त्यपछि यो नै ज्ञानेन्द्रको पहिलो नारायणहिटी प्रवेश थियो । अब उनी पुनः जेठ १९ गते नारायणहिटी दरबार जाने तयारी गरिहरका छन् । तर सरकारले भने त्यसअघि नै नारायणहिटी संग्रहालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै जेठ १७ गते देखि असार २४ गतेसम्म एक महिनाभन्दा बढी समयका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

सूचना अनुसार उक्त क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । त्यस्तै धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा गर्न पनि निषेध गरिएको छ । राजावादी एकता सरकारलाई भारी ! विभाजित राप्रपा र राप्रपा नेपालसहितका दलहरुले राजसंस्थाका लागि निरन्तर आन्दोलन गरिरहेका छन् । जेठ १५ गतेदेखिको यो आन्दोलन अनिश्चित रहने उनीहरुको दावी छ । राजा फर्काउन र गणतन्त्रको अन्त्य गर्न निर्णायक आन्दोलनमा उत्रिएका उनीहरुले यसलाई साझा आन्दोलनका रुपमा लिन आग्रह गरेका छन् ।

आन्दोलनकै पूर्वसन्ध्यामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो आन्दोलन कुनै एक पार्टीको मात्र नभइ नेपालका लागि नेपाली जनताले गर्ने पहिलो आन्दोलन भएकाले यसलाई साझा आन्दोलनका रुपमा अघि बढाउन आग्रह गरेका थिए । अहिले राजावादीको यो आन्दोलन निरन्तर चलिरहेको छ । यस्तैमा शनिबार उनीहरुले नारायणहिटी अगाडी प्रदर्शन गर्दैछन् ।

प्रदर्शनमा सहभागी हुन राप्रपा नेपालका अध्यक्ष कमल थापालेसमेत पटक पटक समर्थकहरुलाई उर्दी गरिरहेका छन् । मुख्यतः राजावादीहरु संगठित हुनु नै सरकारलाई चुनौतीको विषय बनेको छ । नारायणहिटी क्षेत्र किन निषेधित ? वर्तमान सरकारले गणतन्त्रको विरोध र व्यवस्थाकै खारेजीका लागि भइरहेका आन्दोलनलाई गैरसंवैधानिक भन्दै आएको छ । राजावादीहरुलाई नै इगित गरेर सरकारले आवश्यक परे निषेध नै गर्ने चेतावनी दिँदै आएको छ ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नै केही दिन अघि यस्तो चेतावनी दिएका थिए । अहिलेको छुटलाई सरकारको निरिहताका रुपमा नलिन बरु उदारता देखाएको रुपमा लिन भन्दै उनले राजावादीहरुलाई सभ्झाएका थिए । यदि अति गरे सरकार निषेध नै गरेर अघि बढ्ने समेत उनको चेतावनी छ । यस्तैमा राजावादीहरु अझ आक्रामक ढंगले व्यवस्था परिवर्तनका लागि आन्दोलन चर्काइरहेका छन् । र, पूर्वरजा ज्ञानेन्द्र समेत कहिले नाती हृदयेन्द्र डोहो¥याएर त कहिले आँफै राजा बन्ने हेतुले नारायणहिटी धाउन थालेका छन् ।

उता राजेन्द्र लिङ्देनले पनि आफूहरुले ज्ञानेन्द्रलाई निर्मल निवासबाट डोहो¥याएर नारायणहिटी प्रवेश गराउने चेतावनी दिँदै आएका छन् । यस्तोमा रोकेर देखाउन उनले सरकारलाई कडा चुनौतीसमेत दिएका थिए । र, अहिले राजावादीहरु सोही अभिव्यक्ति अनुसार नै परिचालित भइरहँदा सरकारले नारायणहिटी क्षेत्रमा एक महिनाभन्दा लामो निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update