News 24 Television
शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न लिङदेनको चेतावनी

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको शान्तिपूर्ण आन्दोलन र भद्रतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन् ।

आईतवार बालुवाटार लक्षित प्रदर्शनका क्रममा कमल थापालगायत केही व्यक्ति पक्राउ परेपछि उनले खास लडाइँ भोलिबाट हुने चेतावनी दिए । देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै उनले आफूहरूको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिएका हुन् । उनले प्रश्न गरे– के आजका युवाहरू बन्दुक बोकेर जंगल पस्न सक्दैनन् ? 

अध्यक्ष लिङदेनले प्रमुख राजनीतिक दलहरुले राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप समेत लगाए । भ्रष्टाचार र अपराधमा संलग्नहरुलाई बचाउन अदालत र प्रहरीको दुरुपयोग गरिएको उनको भनाइ छ ।

उनले भने- ‘देशले थप द्वन्द्व थेग्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको हो । हामीले शान्तीपूर्ण प्रदर्शन गरेको हो । एक जना प्रहरी मर्नु नपरोस्, एक जना पनि नागरिक मर्नु नपरोस् भनेर हामीले शान्तीपूर्ण बाटो अपनाएको हो । यसलाई कमजोरी नठानियोस् । आज दुईचार हजार युवा बन्दुक बोकेर जंगल पस्न छैनन् होला त यो अभियानमा ? हामीले दुई/चार ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त ? हामीले त्यो चाहेकै छैनौँ । तर यही हाम्रो भद्रतालाई कमजोरी ठानेर देश तपाईले लुटिराख्नुहुन्छ, बर्बाद पारिराख्नुहुन्छ ? आफ्ना मान्छेहरुलाई जोगाउने र अरुलाई फसाउने काम गर्नुहुन्छ । इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई अदालतको नाममा छाडेको कुरा हामीलाई मात्रै होइन हामीसँगै बसेको प्रहरीलाई पनि थाहा छ ।’

राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई स-सम्मान नियन्त्रणमुक्त गर्न समेत उनले माग गरे । आईतवार काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update