काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादीप्रति लक्षित इँटको जवाफ पत्थरले दिनुपर्ने बताएका छन् ।
योङ कम्युनिष्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो राजावादीहरुप्रति लक्ष गर्दै उक्त निर्देशन दिएका हुन् ।
अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरु जिम्मेवार रहेको बताए । जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो ।
माओवादीले चलाएको अभियान आवश्यक परेको बेलामा अर्को क्रान्तिको तयारी भएको जिकिर पनि उनले गरे । अध्यक्ष दाहालले आउने दिनमा क्रान्ति गरेर वा निर्वाचनबाट नेपाल माओवादीले लिनैपर्ने नत्र बर्बाद हुने जिकिर समेत गरे ।
उनले भने, ‘हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्नेकुरा पनि जनतालाई भन्ने । तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्नेकुरा गर्नुस् । हामी छौँ । जरुरी पर्यो भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ । मैले के भन्ने गरेको छु हुलाकी मार्गमा पनि माथि पनि भनेँ, हामी अहिले जुन अभियान चलाएका छौँ त्यो जरुरी पर्यो भने अर्को क्रान्तिको तयारी हो । अरु केही होइन । जनतासँग नजोडिकन त क्रान्ति हुँदैन । अर्को समाजवादी क्रान्तिको तयारी हो ।’
अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्नु माओवादी केन्द्रकै जिम्मेवारी रहेको समेत बताए ।