
काठमडौं । नेपालको पछिल्लो राजनीतिक परिदश्यमा राजसंस्था पुनस्थापनाको माग राख्दै भइरहेको प्रदर्शनले नयाँ तरंग ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य राजावादी समूहले जेठ १५ देखि काठमाडौंको शान्तिबाटिका केन्द्रीत प्रदर्शन गरिरहेका छन् ।
राष्ट्रिय झण्डा र छातासहितको यो प्रदर्शनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको मागलाई जोड दिइरहँदा प्रदर्शनलाई नेत्तृत्व गरिरहेका नेताहरुको आवाज झनझन चर्को र आक्रामक बनिरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका राजावादी समूहहरुको प्रदर्शन तेस्रो दिनसम्म आइपुग्दा केही तनावपूर्ण बनेको छ । आइतवार प्रदर्शनको तेस्रो दिन पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले निषेधित क्षेत्र तोड्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
थापासँगै अन्य ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्साल नारायणचौरबाट राजावादीहरुको समूह बालुवाटारतर्फ जान लाग्दा थापासहितका अन्य प्रदर्शनकारी पक्राउ परेका हुन् ।
थापा लगायतका प्रदर्शकारी पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आक्रोशित बनेका छन् । उनले खास आन्दोलन अब शुरु हुने भन्दै देशभरीबाट प्रदर्शनकारी झिकाउने चेतावनी दिएका छन् ।
राजावादीको प्रदर्शन र जोश !
नेपालबाट राजसंस्था विस्थापित भएको झण्डै दुई दशक हुन लाग्यो । यो बीचमा नेपालमा राजाको शासन नै नदेखेको एउटा पूस्ता नै तयार भइसकेको छ ।
यस हिसाबले राजसंस्था पुनस्थापनाको माग असम्भव र अनावश्यक जस्तो देखिनु पर्ने हो । तर पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गतको पूर्वसन्ध्यामा जारी गरेको भिडियो सन्देशपछि माहोल अर्कै बनिरहेको छ ।
आफ्नै कालखण्डमा राजसंस्था विस्थापित भएको देखेको एउटा पूस्ता अहिले राजवादीहरुले गरिरहेको प्रदर्शनले नोस्टाल्जिक भएको छ भने राजाको शासनको अनुभव नै नगरेको पूस्ता झिनो संख्यामै भएपनि राजसंस्थाको वकालत गरिरहेको छ । अहिले युवा र खासगरी मध्यम वर्गले सामाजिक सञ्जालहरुमा राजसंस्थाको बारेमा चर्चा परिचर्चा गरिरहेको पाइन्छ ।
पूर्वराजा पोखराबाट काठमाडौँ फर्कदा उनको स्वागतमा उर्लिएको भीड देखेर उत्साहित बनेका राजावादी समूहहरुले त्यसयता घोषणा नै गरेर विभिन्न प्रदर्शनहरुको आयोजना गरिसकेका छन् ।
यसपटक पनि जेठ १५ देखि उनीहरुको प्रदर्शन जारी छ । यसपटक प्रदर्शन अलि बढि संयमित देखिएपनि नेताहरुको अभिव्यक्ति भने निकै चर्को छ ।
उनीहरुले वर्तमान व्यवस्थाप्रति धावा मात्रै बोलिरहेका छैनन्, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाग्ने अवस्था आउने आंकलन गर्दै हेलिकप्टरको सुविधा दिनेसम्म भन्न बाँकी राखेका छैनन् ।
शनिबार नारायणहिटी संग्राहलय क्षेत्रमा प्रदर्शनको तयारी गरिरहेका राजावादीहरुलाई जिल्ला प्रशासन कार्यालयले अनुमति दिएन । यसलाई पनि राजावादीहरुले आफ्नै कोणबाट ब्याख्या गर्दै सरकार डराएको प्रतिक्रिया दिएका छन् ।
राजावादी आन्दोलनले निरन्तरता पाइरहँदा गणतन्त्रवादी दलहरूले भने यो आन्दोलनलाई गणतन्त्रविरुद्धको चुनौती ठान्दै कडा प्रतिक्रिया जनाएका छन् । राजनीतिक विश्लेषकहरू यो आन्दोलन केवल भावनात्मक नभई सामाजिक ध्रुवीकरणको कारक बन्न सक्ने चेतावनी दिन्छन् । राजावादीहरुको अहिले भइरहेको प्रदर्शन राजसंस्था पुनस्थापना गराई हाल्ने किशिमको छैन । तर शीर्ष नेताहरु अलि बढि नै आत्तिएझै गरिरहेका छन् । जुन, उनीहरुले दिइरहेको आक्रामक प्रतिक्रियाबाट पुष्टि हुन्छ ।
राजावादी प्रदर्शनमै उत्रिने वातावरण कसरी ?
राजावादीहरु सार्वजनिकरुपमै प्रदर्शनमा उत्रिने र राजसंस्था पुनःस्थापनाको माग राख्ने हैसियत यही पछिल्लो एक वर्षमा बनेको हो ।
त्यसो त राजावादीहरु शुरु देखि नै भित्रभित्र राजसंस्था पुनःस्थापनाको प्रदर्शन गर्ने तयारी त गरिरहेका थिए । तर जनमत बिलकुल फरक हुँदा उनीहरु बन्द कोठाहरुमा बसेर छलफल र गोष्ठी गर्ने हैसियतभन्दा माथि थिएनन् । तर राजनीतिक दलहरुले वातावरण यस्तरी विगार्दै लगेकी आम नागरिक उनीहरुको शैली र रवैयाबाट असन्तुष्ट छन् ।
नागरिकको असन्तुष्टिको ग्राफ घट्ने काम राजनीतिक दलहरुबाट हुन सकेको छैन । पछिल्लो पटक राजावादीहरु हिम्मत गर्दै र धावा बोल्दै सडकमा उत्रिदाँ पनि दलहरुको चेत फर्किएको छैन ।
विभिन्न उल्झन र लफडामा फसि नै रहेका छन् । अनेक काण्ड र प्रकरण पछ्याइरहेको नेपाली राजनीति पछिल्लो पटक भिजिट भिसा प्रकरणले झन गिजोलिएको छ ।
सरकार र दलहरुका तर्फबाट आउने यस्ता काण्डहरुकै कारण नागरिक असन्तुष्टि बन्दा उनीहरुमाथि आक्रामक बन्न राजावादी समूहहरुलाई हौसला बढिरहेको हो । यस्ता कैयौ उद्धाहरण र घटनाक्रम छन्, जसका कारण पनि शुषुप्त अवस्थामा रहेका राजावादीहरु अनेक चेतावनी र हाँक दिदै गणतन्त्रविरुद्ध सडकमै उत्रिन सक्ने हैसियतमा पुगेका हुन् ।