
काठमाडौँ । सरकारले राजावादीहरुप्रति कठोर बन्ने रणनीति बुनेको छ । विशेषत गणतन्त्रवादी दलहरु राजावादी संगठनहरुप्रति आक्रामक अभिव्यक्ति दिइरहेका छन् । उता राजावादीहरु पनि राजतन्त्र फर्काउन भन्दै उदेश्य प्राप्तिका लागि निरन्तर आन्दोलनमा छन् । यस्तैमा सरकारले भने राजावादीरुलाई अंकुश लगाउने रणनीति लिएको हो । पूर्वउद्घोष नै गरेर राजावादी संगठनहरुले जेठ १५ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहँदा सरकारले भने निश्चित क्षेत्रमा मात्रै प्रदर्शन गर्न सूचित गरेको छ ।
यसअघि शनिबार राजावादीहरुले नारायणहिटी दरबारअघि प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, सरकारले उक्त क्षेत्रलाई निषेधित घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो क्षेत्रमा जेठ १७ गतेदेखि आगामी असार २४ सम्म लागू हुनेगरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।
त्यसपछि पनि आन्दोलन नरोकिएपछि सरकारले पुनः काठमाडौंका तीन क्षेत्रमा मात्रै प्रदर्शन गर्ने सुविधा दिएर अन्य ठाउँलाई पनि निषेधित क्षेत्र घोषणा गरिदिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आईतबार एक सूचना जारी गर्दै सिफलचौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फ र बल्खु क्षेत्र बाहेक अन्य स्थानमा विरोधका कार्यक्रम नगर्न सूचित गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेकोे जनाएको छ ।
सरकार डराएको राप्रपाको दावी !
राजावादी गतिविधि र आन्दोलनलाई सरकारले निषेध गर्दै जाँदा आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सरकार डराएको रुपमा व्याख्या गरेको छ । शनिबार राजावादीहरुले नारायणहिटीअघि प्रदर्शन गर्न नपाएपछि नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार डराएको रुपमा व्याख्या गरेका थिए ।
दरबारमार्गमा स्पेश नपाएपछि राजावादीहरुले शनिबार नै शान्तिबाटिकामा प्रदर्शन गरे । तर उक्त प्रदर्शन अझै आक्रामक र उत्तेजित बन्दा राजावादीहरुले प्रधानमन्त्रीलाई घर पठाउने भन्दै बालुवाटार घेर्ने प्रयास गरे । उनीहरुले प्रधानमन्त्रीलाई वालुवाटार प्रवेश गर्न रोकेर बालकोट नै फिर्ता पठाउनेसमेत उद्घोष गरेका थिए ।
संख्यात्मक रुपमा सडकमा उल्लेख्य समर्थन पाइरहेका राजावादीहरुले निषेधित गर्ने प्रशासनको कदमलाई सरकार डराएको रुपमा चर्चा गरिरहेका हुन् ।
जेठ १५ पछि के–के भए ?
जेठ १५ गते पहिलो दिन राजावादीहरुले रत्नपार्कमा प्रदर्शन गरे । जुन दिन एमालेले पनि गणतन्त्र दिवसको अवसरमा उत्सव मनाएको थियो । सो दिन राजावादीहरुले एमालेलेभन्दा धेरै समर्थक उतारेको भन्दै सार्वजनिक चर्चा पनि भयो । उक्त कार्यक्रमबाट राजावादी हौसिएका छन् ।
त्यस्तै जेठ १६ मा पनि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका थिए । उक्त दिन विभिन्न स्थानाबाट नारा र जुलुस निकालेका राजावादीहरुले माइतीघर र विजुली बजारमा भेला भएर प्रदर्शन गरेका थिए ।
त्यस्तै जेठ १७ गते उनीहरु नारायणहिटी अघि प्रदर्शन गर्ने तयारीमा भए पनि सरकारले सो क्षेत्रलाई निषेधित घोषणा ग¥यो । यसपछि नै उनीहरु बालुवाटार घेर्ने रणनीतिमा पुगेका हुन् । यसपछि जेठ १८ गते पनि उनीहरुले बालुवाटारलाई नै केन्द्रविन्दू बनाए । तर निषेधित क्षेत्र नै तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले रोकेको थियो ।
यस क्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा तथा राप्रपा सांसद दीपक सिंहसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो । कमल थापासहितका नेताहरुको पक्राउको विरोधमा राप्रपाले काठमाडौं ठप्प पार्ने भनिरहँदा प्रहरीले भने उनीहरुलाई आइतबार नै रिहाइ गर्यो । यद्यपि सोमबार भने राजावादीहरुले कुनै पनि प्रदर्शनको कार्यक्रम राखेका छैनन् । उता सरकार भने राजावादी गतिविधिलाई निषेधकै भावना राखेर अघि बढीरहेको छ ।
यस्तैमा सरकारले दुई महिनासम्म निर्धारित क्षेत्रमा मात्रै प्रदर्शन गर्न राजावादीहरुलाई आदेश दिएको छ । जसले राजावादीहरु थप दवाबमा परेका छन् ।