News 24 Television
काँग्रेस महामन्त्री भन्छन्- 'भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ'

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । 

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शिर्ष तहसम्म संलग्नता देखिए कानूनअनुसार कारबाही हुनुपर्ने बताए । अघिल्ला गृहमन्त्री रवि लामिछानेको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको उनको टिप्पणी छ ।

शर्माले भने, ‘उजुरी जो व्यक्तिमाथि परेको छ । त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनुपर्यो । अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरु र प्रधानमन्त्रीसम्म पुग्छ भनेपनि जे कानूनको दायरा हो त्यो दायरमा सबै आउनुपर्छ ।’   

उनले संसदीय छानविन समिति बनाउनुभन्दा संवैधानिक अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै छानविन गर्न दिनुपर्ने बताएका छन् । 

यद्यपि प्रमुख प्रतिपक्षी नेकपा माओवादी) केन्द्रका सांसद माधव सापकोटाले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद अवरुद्ध गर्ने अडानमा कायमै रहेको बताएका छन् । सांसद सापकोटाले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । तर गृहमन्त्री व्यक्तिगत रूपमा राजीनामा दिन इच्छुक भए पनि गठबन्धन र आफ्नै पार्टीको दबाबका कारण राजीनामा नदिएको जानकारीमा आएको उनले बताए ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update