
काठमाडौँ । हरेक व्यवस्थाले आफ्नो चिहान आफै खन्छ भन्ने भनाइ नेपालमा सिद्ध हुँदै आएको छ । चाहे त्यो राणातन्त्र, पञ्यायत, बहुदल या राजतन्त्र नै किन नहोस्, ती व्यवस्थाहरु दिगो नहुनु र पतन हुनुमा त्यसभित्रकै कमजोरी व्याप्त देखिन्छन् । संसारकै उन्नत व्यवस्था मानिएको लोकतान्त्रिक गणतन्त्र समेत अहिले हुर्किन नपाउँदै संकटमा परेको छ । गणतान्त्रिक नेताहरुका तमाम कमजोरी, पुरानै सत्तावादी चरित्र, भ्रष्टाचार, लूट, अकर्मण्यता आदिका कारण गणतान्त्रिक व्यवस्था अहिले संकटमा परेको छ । जनताले व्यवस्थाकै विकल्प खोजेका हुन् कि यसभित्रका कुपात्रहरुको विकल्प खोजेका हुन् ? यो कुरा बिस्तारै प्रस्ट हुँदै गएको छ ।
राजतन्त्र फालेर ल्याइएको गणतान्त्रिक व्यवस्था आज सत्तासीन नेतृत्वहरुको कुप्रवृत्तिका कारण प्रश्न र विवादको घेरामा परेको छ । राजावादी शक्तिहरुले नै टाउको उठाउन थालेका मात्र हैनन्, अनिश्चितकालीन जनआन्दोलन नै घोषणा गरिसके । गणतन्त्र दिवसकै दिन जेठ १५ देखि सुरु भएको आन्दोलन चौथो दिन पुग्दा झडपमा रुपान्तरण भएको छ । आइतबार नक्सालस्थित नारायणचौरबाट निस्किएका प्रदर्शनकारीहरु निषेधित क्षेत्र बालुवाटार प्रवेश गर्न खोज्दा झडप भयो । सो क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित केही व्यक्ति पक्राउ परे भने झपडमा केही घाइते भए । यद्यपि पक्राउ परेकाहरू साेही साँझ रिहा भइसकेका छन् ।
त्यस क्रममा राजेन्द्र लिङदेनले राजावादीहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए । देशले अब थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै उनले आफूहरुको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिए । उनले के आज बन्दुक बोकेर हामीसँग भएका युवाहरु जंगल पस्न सक्दैनन् ? भनेर प्रश्न समेत गरे । प्रमुख राजनीतिक दलहरुले राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउँदै उनले भ्रष्टाचार र अपराधमा संलग्नहरुलाई बचाउन अदालत र प्रहरीको दुरुपयोग गरिएको बताए ।
नाममा गणतन्त्र भनिए पनि प्रवृत्तिमा पञ्चायत तन्त्र र नवराजातन्त्र रहेको बताउँछन् एकीकृत समाजावादीका महासचिव घनश्याम भुसाल । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने ठोकुवा गरे । यहाँ पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायमै रहेको बताउँदै उनले देश र जनता बनाउनुको सट्टा नेताहरु भ्रष्टाचार गरेर धन कमाउनमा केन्द्रित भएको बताए । राजा र राणाकालीन भारदारहरु र अहिलेका नेताहरुमा कुनै फरक नरहेको भन्दै उनले लोकतन्त्रका नेताहरुको विलासी जीवनशैली र भ्रष्ट व्यवहार नसुधारेसम्म संकट अझै बढ्ने बताए ।
स्वयं सत्तारुढ दलहरुकै केही प्रभावशाली नेताहरु अहिलेले व्यवस्था चलाउन नेतृत्वको कार्यशैली रुपान्तरित हुनुपर्ने बताउँछन् । एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन् । बन्दुकले सेना कुट्ने र मार्ने र हान्नेबाहेक केही नदेखेको माओवादी पनि रुपान्तरण भएर अहिलेको संविधानमा आएको भन्दै उनले आवश्यक पर्दा राजनीतिक दल र नेताहरु रुपान्तरण भइरहेको र हुनुपर्ने बताए । पुनः एकपटक नेताहरु रुपान्तरण हुनु जरुरी रहेको र आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्ने तथा राज्यलाई जनतासँग नजिक पु¥याउने काममा लाग्नुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय भइरहेका आन्दोलन रोक्ने र व्यवस्था बचाउने हो भने ठूला राजनीतिक दलका शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिनुपर्ने काँग्रेसका महामन्त्री गगनकुमार थापा बताउँछन् । लामो समयदेखि एउटै अनुहार शासन सत्तामा दोहोरिरहनुले गणतन्त्रमाथि समस्या खडा भएको उनको भनाइ छ ।
पछिल्ला केही घटनाक्रमहरूले वर्तमान काँग्रेस एमाले गठबन्धनको सत्ताको साख नराम्ररी गिराएको छ । राजावादीहरुको कुरै छाडौँ परिवर्तन, सुशासन, युवा नेतृत्व र रुपान्तरणका कुरा गर्ने विपक्षी दलका नेताहरु तथा कतिपय पार्टीकै नेताहरुलाई दमन गर्न सत्ता र शक्तिको दुरुपयोग भइरहेको छ । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर मारेर जन्मकैद भोगिरहेका आलमजस्ता व्यक्तिको संरक्षण र सफाइमा राज्यसत्ता दुरुपयोग हुँदा जनतामा आक्रोश नथामिनु स्वाभाविकै हो । मानव तस्करी, भिजिट भिसा प्रकरण, भुटानी शरणार्थी काण्ड, सहकारी ठगी तथा सुन तस्करी लगायत अनेक ठूला भ्रष्टाचार र राज्यविरुद्धकै अपराधमा मुछिएका ‘आफ्ना’लाई जोगाउन यो सत्ताले जति जति बल लगाइरहेको छ, उति नै जनतामाझ आफ्नो साख गिराउँदो छ । व्यवस्था जोगाउने हो भने दल, नेता र सत्ताको चरित्र फेरिनु जरुरी देखिन्छ ।