News 24 Television
प्रधानमन्त्री ओलीले किन चलाए ‘झोले’ अभियान ? 

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको एमालेले सामाजिक सञ्जालमा ‘म झोले हो’ अभियान चलाएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो अभियानले तीव्रता पाएको हो । उनले दुई हात जोडेको तस्बिरसहित लेखेका छन्, ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो ।’ 

पोस्टर बाहेक ओलीले स्ट्याटस पनि लेखेका छन्– ‘हिजोआज एउटालाई भगवान् बनाउनुप¥यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भिडमा बदलिन्छ । भिडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ  ।’ 

ओलीको यो शैलीलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव पद्य अर्याल,  सांसदहरू सुनिता बराल, सुहाङ नेम्वाङ र राष्ट्रिय युवा सङ्गठनका अध्यक्ष क्षितिज थेवेसहितका नेताहरूले पछ्याएका छन् । युवा, विद्यार्थी नेता र केही पत्रकारले समेत ‘म झोले हो’ भन्दै पोस्ट गरेका छन् । 

नेपाली राजनीतिमा ‘झोले’ शब्दलाई नकारात्मक अर्थमा बुझिन्छ । खासगरी राजनीतिक रूपमा एकले अर्कालाई गाली गर्नुपर्यो, रोष पोख्नुप¥यो भने झोले शब्दको प्रयोग गरिन्छ । अझ भन्नुपर्दा, झोले शब्दले अन्धभक्त भएर नेताहरूको पछि लाग्नुलाई जनाउँछ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले आफूलाई ‘जनताको झोले’ भनेर प्रस्तुत गर्न खोजेका छन्, जसले यो शब्दलाई सामान्यीकरण गर्न र नकारात्मक धारणालाई चुनौती दिन खोजेको देखिन्छ ।

सामाजिक सञ्जालमा एकदमै नकारात्मक प्रतिक्रिया आउन थालेपछि प्रधानमन्त्री ओलीले प्रतिक्रियास्वरूप झोले अभियान थालेका हुन् । ओलीको उक्त ‘अभियान’ मा एमालेका सबै नेताहरूले साथ दिएका छन् । अहिले एमाले नेताहरू सबैले ‘म झोले हो’ भन्ने पोस्टर बनाएर सामाजिक सञ्जालहरूमा पोस्ट गरिरहेका छन् । 

मोदीको कपी गरेको चर्चा 

सन् २०१९ मा भारतमा कंग्रेस आईका नेता राहुल गान्धीले कुनै सन्दर्भमा ‘चौकीदार नै चोर बने’ भनेर टिप्पणी गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीको चर्को आलोचना गर्ने राहुल गान्धीको यही टिप्पणीलाई मोदीले अवसरको रूपमा लिए । 

मोदीले “मै भी चौकीदार” भन्ने नारा सहित अभियान नै सुरु गरे । त्यसबेला मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलको नाम पनि परिवर्तन गरेर ‘चौकीदार नरेन्द्र मोदी’ राखेका थिए । त्यसपछि भाजपाका नेताहरूले आफ्नो ट्वीटरको डिस्प्ले नामका अघिल्तिर चौकीदार थप्न थाले । 

अहिले ओलीको पनि मोदीकै कपी गर्दै झोले राखेको टिप्पणी भइरहेको छ । पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमा एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रियताको ग्राफ विस्तारै खस्किंदै गएको छ । कतिसम्म भने कसैले प्रधानमन्त्रीको प्रशंसा गर्दा ती मान्छेहरूलाई नै झोले भनेर सामाजिक सञ्जालमा ट्रोल गर्नेसम्म भएको छ । 

केही समयअघि पुस्तक विमोचनमा गायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दा त्यसको असर उनको चलचित्र ‘बसन्त’लाई परेको थियो । यस्ता घटनाक्रमपछि ओलीले ‘झोले’ शब्दलाई सकारात्मक अर्थमा पुनःस्थापित गर्न खोजेका हुन् । 

सामाजिक सञ्जालमा रक्षात्मक बनिरहेका बेला एमालेलाई आक्रामक बनाउन प्रधानमन्त्री सचिवालयले थालेको यो अभियानको पनि सामाजिक सञ्जालमा एमाले बाहेक अरूले सकारात्मक प्रतिक्रिया दिएका छैनन् । 

यसअघि पनि प्रधानमन्त्री ओलीले पार्टी र पार्टी नेतृत्वबिरूद्ध बोल्नेहरूमाथि अरिंगाल र बाघ बन्न निर्देशन दिएका थिए । सामाजिक सञ्जालमा एमालेका कार्यकर्तालाई झोले शब्दले आलोचना हुन थालेपछि ओलीले अभियानमार्फत आलोचकहरूलाई जवाफ दिन खोजेका हुन् । तर, यो अभियानले उल्टै एमालेलाई ट्रोल र मिमको विषय बनाएको छ । 

‘झोले’ अभियानले एमालेलाई सामाजिक सञ्जालमा ट्रेन्डिङ बनाए पनि यसले पार्टीको साख जोगाउनेभन्दा आलोचनाको आगोमा घिउ थपेको छ । यो अभियानले एमालेलाई बलियो बनाउँछ वा थप कमजोर बनाउँछ, त्यो आगामी दिनमा देखिनेछ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update