
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संसद गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले यस्तो बताएका हुन् ।
संसद मुलुक र जनताको मुद्दाभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा सिमित रहेको उनको भनाइ छ । उनले संसद जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो बनेको टिप्पणी गरे ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने बताउँदै उनले कुनै पनि व्यक्तिमाथि आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्नुपर्ने दायित्व समेत सम्बन्धित मिडिया र व्यक्तिमा निहित हुने बताए ।
उनले भने, ‘हामीले कस्ता कुरा संसदमा उठाउने, कस्ता कुरालाई संसदमा महत्व दिने भन्ने कुरा नै हामीसँग भएन । हाम्रो संसद त मुलुकको र जनताको विषयभन्दा उरान्ठेउला कुरामा झगडा गर्नमा रह्यो । त्यसकारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भयो भन्ने कुरा मलाई लाग्छ । कुनैपनि केस प्रमाणित हुनुपर्छ । कुनै मिडिया र व्यक्तिले आरोप लगायो वा प्रश्न उठायो भने त्यो प्रश्नलाई प्रमाणित गर्नुपर्छ । जस्टिफाई नगरीकन हामीले कुरा उठाउनु हुँदैन जुन अहिलेसम्म देखिएको छ ।’
संसदको गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा डा. भण्डारीको जोड छ ।