
काठमाडौं । मुलुकको व्यवस्था बदल्ने दाबी सहित शुरु भएको राजावादी आन्दोलन मत्थर भएको छ । जेठ १५ कै दिन व्यवस्था उल्टिने राजावादीको उद्घोष थियो । तर आन्दोलन राजावादीहरुले भने जस्तो भएन, पाँचदिन सम्म चलेको आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित नेता–कार्यकर्ता प्रहरी नियन्त्रणमा पुग्नु बाहेक अरु केहि भएन ।
सरकारले निषेधाज्ञा जारी गर्दै राजावादी प्रदर्शनलाई सिफल पु¥याएपछि भने प्रदर्शन निकै कमजोर बनेजस्तै देखियो । यद्यपी प्रदर्शनमा जनताको व्यापक सहभागिता रहेको निष्कर्ष निकाल्दै संयुक्त जनआन्दोलन समितिले ६ बुदे विज्ञप्ति जारी गरेको छ ।
राजावादी आन्दोलनका प्रमुख नेतामध्येका एक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको दाबीलाई आधार मान्ने हो भने यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुले हेलिकप्टर लिएर भागिसक्नु पर्ने हो । तर नेता भगाउने भन्दा पनि आन्दोलनमा सहभागिलाई रोक्न अध्यक्ष लिङ्देनलाई सकस परेको छ ।
सयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा भएको राजावादीको निर्णायक आन्दोलनको पहिलो चरण सकिएको छ ।
जेठ १५ मा शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको आन्दोलन जेठ २० मा सिफल पुगेर कुनै उल्लेख्य दबाबबिनै मत्थर भएको हो । यो पछिल्लो प्रदर्शनपूर्व उनीहरुले यसलाई व्यवस्था बदल्ने निर्णायक आन्दोलन दाबी गरेका थिए । तर अनिश्चितकालिन आन्दोलन भनेर सुरु भएको एकसाता नपुग्दै छिन्नभिन्न हुँदा राजसंस्थ पुनस्थार्पना र हिन्दुराज्यको एजेण्डा स्थापित गर्ने राजावादीको जिकिरमा ब्रेक लागेको छ ।
राजावादी आन्दोलन कहाँ–कसरी भयो ?
पहिलो दिनको आन्दोलनमा उल्लेख्य सहभागिता–रत्नपार्क
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा सम्पुर्ण राजावादी शक्ति एकढिक्का भए । गणतन्त्र फाल्ने राजसंस्था र हिन्दुराष्ट्र कायम गर्ने उद्देश्य सहित राप्रपाका अध्यक्ष लिङ्देन, राष्ट्रिय शक्ती नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित विभिन्न ४५ राजावादी समुह एकै कित्तामा उभिए ।
सबै राजावादी शक्ति एकै कित्तामा उभिदाँ जेठ १५ का दिन रन्तपार्कको शान्तिबाटिकामा भएको आन्दोलनमा हजारौँको सहभागिता देखिन्थ्यो । कि वार कि पार भनिएको राजावादी आन्दोलन जागेको विश्लेषण भएको थियो । माहोल देखेर हौसिएका राजावादी नेताहरुले सहभागि संख्या देखेर नविन सम्झौता गर्न सरकारलाई चेतावनी दिएका थिए ।
दोस्रो दिनको आन्दोलन कमजोर सहभागिता–माइतीघर मण्डला देखि वानेश्वरसम्म
जेठ १५ को आन्दोलनमा सहभागिको संख्या देखेर हौसिएका राजवादीले जेठ १६ का दिन माइतीघर मण्डलालाई आन्दोलन स्थल बनाए ।
माइतीघर हुँदै विजुलीबजारसम्म नाराजुलुस सहित सडकमा ओर्लिएका राजावादीको आन्दोलनमा सहभागिता कमजोर देखिन्थ्यो । नाराजुलुस सहित कोणसभामा परिणत भएको उक्त दिनको राजावादी आन्दोलन भाषणबाजीमा सिमित भएको थियो ।
तेस्रो दिनको आन्दोलन–नारायणचौर
आन्दोलनका कार्यक्रम विभिन्न स्थानमा सार्दै आएका राजावादीहरु तेस्रो दिन नारायणचौरमा भेला भएका थिए । नारायणचौरमा भएको राजावादी प्रदर्शन पातलिदै गएको देखिन्थ्यो । नारा उहि राजाआउ देश बचाउ, हिन्दुराज्य कायम गर, संघीयता खारेज गर । तर राजावादीका यी मुद्दा सरकारले सुन्ने चाहेन । बरु आन्दोलनलाई सामान्य रुपमा लिएको भन्दै राजावादी नेता जंगिए ।
चौथौ दिनको आन्दोलन–कमल थापा सहितका नेता पक्राउ र नेपाल बन्दको धम्की
राजावादी नेता र प्रदर्शनकारीले अलि बढि जोड लगाएर जेठ १८ गते प्रदर्शन गरे । राज्यसत्ताले आफ्ना कुरा नसुनेको भन्दै आक्रामक बनेका राजावादी नेता–कार्यकर्ता प्रहरीसंग दोहोरो भिडन्तमा पनि उत्रिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार घेर्न दौडिदाँ प्रहरीसंग दोहोरो भिडन्त नै पर्याे । भिडन्तमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरी घिसार्दै नियन्त्रणमा लियो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका सभापति सुवेदी र राप्रपा अध्यक्ष लिङ्देनले विज्ञप्ति निकाल्दै नेपाल बन्दको आह्वान गरेका थिए । तर थापालाई अवेर राति रिहा गरेपछि नेपाल बन्दको घोषणा फिर्ता भयो ।
राजावादीहरुले जेठ १९ गते आन्दोलनका कार्यक्रम स्थगन गरेर स्वर्गिय राजा विरेन्द्र परिवारको सम्झनामा कमलादीस्थित गणेस्थान मन्दिरको दीप प्रज्वलन कार्यक्रममा सरिक भए । हिमानी ट्रस्टले राखेको दीप प्रज्वलनमा पुगेर राजावादी समुहका शिर्षनेता र समर्थकहरुले राजसंंस्था र हिन्दुराज्यको पक्षमा खुलेरै नाराबाजी गरे ।
पाँचौ दिनको आन्दोलन–सिफल चौरमा कमजोर सहभगिता
गणतन्त्र दिवसका दिन सुरु भएको राजावादीको अनिश्चितकालिन आन्दोलन सिफल पुगेर टुंगियो भन्दा फरक नपर्ला । जेठ २० अर्थात् मंगलबार सिफल चौरमा राजावादीको सहभागिता निकै कमजोर देखिन्थ्यो ।
रणनीतिक र निर्णायक मािनएको आन्दोलनमा सामान्य सहभागिता देखिएपछि राजावादी नेताहरुले पहिलो चरणको आन्दोलन सकिएको घोषणा गरे ।
अनिश्चितकालिन भनिएको आन्दोलनमा जनसहभागिता कमजोर हुनु नै आन्दोलन रोकिनुको मुख्य कारण बनेको छ । यसरी निरन्तर ओरालो यात्रामा लागेको राजावादी आन्दोलन उनीहरुले भनेजस्तो सार्थक नबन्ने राजनीतिका पण्डितले विश्लेषण गरिरहेका छन् ।
राजावादी आन्दोलनमा यसपटक सुरु देखिनै खासै उत्साह देखिएन । यसअघि फागुन २५ को पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कदा बाक्लो भिड र चैत १५ को तीनकुने आन्दोलनमा ठुलो मात्रामा जनताको सहभागिता थियो । चोकचोक र गल्लीगल्लीमा राजतन्त्र बारे बहस समेत सुरु भइसकेको थियो ।
त्यसयता भने राजावादी शक्तिहरुले जनताको मन जित्नेगरी गतिविधि गर्न सकेनन् । अर्थात् राजावादीको पक्षमा देखिएको माहोल जोगाउन सकेनन् ।
फलस्वरुप यतिबेला राजावादी आन्दोलन संकटको डिलमा पुगेको छ । पातलीदै गएको जनसहभागिता र राजावादी समुह विच चुलिदो अविश्वास त्यसको प्रमुख कारण बनेको छ । पूर्वराजा पोखराबाट फर्कदा देखिएको भीडबाट भने गणतन्त्रवादीको मुटु हल्लिएको अवस्था थियो । तर अहिले भने राजावादी समर्थकमाथि गणतन्त्रवादी पुर्ण रुपमा हाबी बनेका छन् । यसले राजावादी आन्दोलन जनतामाझ पुग्न नसकेको अनुमान लगाउन सकिन्छ ।
उसो त आन्दोलन सुरु गर्नपुर्व नै शान्तिलाई केन्द्रमा राख्ने राजावादी आन्दोलनको उद्देश्य थियो । तिनकुने हिंसात्मक घटनाबाट पाठ लिएका राजवादी यसपटक संयमित त भए, तर आन्दोलनको गति नै सुस्त बन्यो । यस्तोमा पटकपटक सुरु हुने र निष्कर्षमा पुग्न नसकेको राजावादी आन्दोलन सफल होला या नहोला त्यो भने हेर्न बाकी छ ।