News 24 Television
सत्ता भर्सेस प्रतिपक्षी जुहारी, आ–आफ्नो दम जाँच्दै नेताहरु ?

काठमाडौं । संसद बैठक बस्न नसक्ने स्थिति थप बलियो बन्दै गएको छ । भिजिट भिसा प्रकरणका कारण संसद लम्बेतान बन्न पुगेको छ भने, सत्ता र प्रतिपक्षी दल आमनेसामने बनेका छन् । यस्तो स्थितिमा संसद कहिलेदेखि सञ्चालन होला ? यो आम प्रश्न बनेको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई प्रतिपक्षी दलहरुले बटम लाइन नै बनाएका छन् । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामाको विषयलाई चर्को ढंगले उठाउन थालेपछि सरकार रक्षात्मक बनेको छ । 

यता, गृहमन्त्री रमेश लेखक भने राजीनामा नदिने, संसदबाटै चित्त बुझ्दो जवाफ दिनेमा केन्द्रित बनिरहेका छन् । गृहमन्त्रीले राजीनामाको विषयलाई अन्यत्रै मोड्दै जवाफ दिने बताइरहेपनि माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी छानविन समिति र राजीनामाकै पक्षमा दृढ देखिन्छन् । 

यसरी चलिरहेको जुहारीकाबीच सभामुख देवराज घिमिरेले संसदको डेडलक खुलाउनका लागि पहल त गरिरहेका छन् । तर, सहमतिको बिन्दु निस्किन सकेको छैन् । प्रतिपक्षी दलहरुले राजीनामा र छानविन समितिको मागलाई नै जोड दिन थालेपछि संसद अकर्मण्यतातर्फ धकेलिएको छ । तर, सत्ता र प्रतिपक्षी ददलहरु आफ्नै दाबी र अडानमा कायमै छन् । प्रतिपक्षी दलले सरकार संसद चलाउनका लागि तयार नभएको आरोप जोडतोडले लगाइरहेको छ । संसदलाई सहज सञ्चालनको बाटो निर्माण गर्नु सरकारको दायित्व समेत हो । तर, प्रतिपक्षीको मागमा सरकारले कसिरहेको अड्डी सत्ता सञ्चालनको समस्याको रुपमा देखिन थालेको छ। 

प्रतिपक्षीको अडानमा सत्ता पक्ष भने झन कडा उभिन खोजेको देखिन्छ । संसद सञ्चालनको विषयभन्दा पनि सत्ता पक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र छानविन समिति पनि नबन्ने भन्दै अडानलाई थप कडा पार्दै लगेको छ । 

संसद बन्धक बन्ने देखिएपनि सरकारले अनियमितता आरोपमा समेत छलकपट गर्न खोजेको देखिन्छ । गृहमन्त्री रमेश लेखकमाथि गम्भिर आरोप लागेपनि सरकारले उजुरी नपरेकोदेखि अनेक विषय झिकेर छानविन वा राजीनामाको विषयलाई नै अवैध र अलोकतान्त्रिक भनिरहेको छ । तर, सुशासनको पक्षमा चर्को ावाज उठाउनेहरुले यस्ता सवाल देखाउदा राजनीतिक नैतिकता भने गहिरो संकटमा फसेको देखिन्छ । 

मंगोलियाको उदाहरण कस्तो ?

मंगोलियाका प्रधानमन्त्री लुभान्सान्नामर्साइन ओयुन–एर्डेनले राजीनामा दिएका छन् । छोराको विलासी जीवन झल्किने तस्विर सार्वजनिक भएपछि राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भ्रष्टाचारविरोधी अनुसन्धान र हप्तौँदेखि जारी व्यापक विरोधपछि एर्डिन प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएको बताइन्छ । 

उसोतः उनले संसदबाट विश्वासको मत समेत गुमाएका छन् । १२६ सदस्यमध्ये ६४ मत आवश्यक पर्ने भएपनि ४४ मत मात्रै प्राप्त गरेको बताइएको छ । 

मतदानमा ८८ सांसदमात्रै उपस्थित भएको भनिएको छ । प्रधानमन्त्री एर्डेनका छोरा र प्रेमिकाको तस्बिर विलासी जीवन झल्काउने गरि सार्वजनिक भएपछि चर्को आलोचना र सामाजिक सञ्जालबाट आक्रोश पोख्न थालिएको थियो । यहि दबाबमा उनी परेपछि संसदमा समेत सांसदहरुको उपस्थिति कम भएको भनिन्छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update