
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध केही दिनभित्रै हट्ने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उनको भनाइ छ । भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आए संसदको अवरोध हट्ने उनकाे भनाइ छ । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको तर छानविन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति भने नभएको जानकारी दिए ।
प्रचण्डले भन्नुभयो, ‘अस्ति हामी बालुवाटारमा बसेपछि बिस्तारै वातावरण सहजीकरण गर्ने कोशिस भइरहेको छ । दिन प्रतिदिन थोरै थोरै भएपनि प्रगति भएको छ । छानविन मुख्य कुरा हो । भरपर्दो छानविनमा सरकारको प्रतिवद्धता आयो भने यो विषयलाई हामीले सकारात्मक ढंगले टुंग्याउन सकिन्छ भन्ने प्रतिपक्षको कुरा भयो । यस बारेमा नेपाली काँग्रेसका सभापतिसँग एक पटक कुरा गर्न उचित हुन्छ भन्ने पनि भयो । भर्खरै फेरि सत्तापक्ष नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, श्यामजी लगायतसँग पनि कुरा भयो । आज सदन नचलाउने, सूचना टाँसेर जाने भन्नेमा सहमति भएको छ । मलाई लाग्छ, एक दुई दिनभित्रमा यो विषयमा सकारात्मक ल्याण्डिङ हुन्छ । सत्तापक्ष छानविन गर्न सहमत नै देखिएको छ । छानविन समिति बनाएर जाने, पूर्वन्यायाधीशको नेतृत्वमा छानविन गर्ने वा केही अर्को गर्ने भन्ने विषयमा सहमति भएको छैन । अर्को कुरा अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले त्यसको कुरा विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको छ । यो विषय पनि छलफलमै छ ।’
उनले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानविन शुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन कि भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताए ।