News 24 Television
हाइड्रोपावर ठेक्कामा जालझेल ! समितिबाटै छानविनको तयारी 

काठमाडौं । जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग गरिएको छ । कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता आरोप यस आयोजनामा लागेको छ । यो अनियमिततासँग ऊर्जामन्त्री दीपक खड्काको नामसमेत जोडिएको छ । 

जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्नुपर्ने आवाज उठ्न थालेका छन् । लेखा समितिमा सांसदहरुले छानविनको माग गरेका हुन् । 

डोल्पाका लाक्पा शेर्पाले राष्ट्रिय महत्वको आयोजनामा अनियमितता भएको भनि दिएको  उजुरीका आधारमा शुक्रबार लेखा समितिमा भएको छलफलमा माओवादी सांसद अमनलाल मोदीले कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता भएको आरोप लगाए । 

खरिद नियमावली अनुसार जोडिएका विषयहरुमाथि खेलबाड गरिनुले गम्भीर प्रश्न उठेकाले यसबारे लेखा समितिले छानविन गर्नुपर्ने उनको भनाई छ । यस आयोजनामा मापदण्डमा चार वटा कम्पनी राखिएको थियो । 

चार वटामा २ वटालाई पहिल्यै फालिए । उनीहरुको मापदण्ड पुगेन भनियो । दुई वटा कम्पनी छानिएको मध्येमा सिनो हाइड्रोपावरकै डकुमेण्ट जोवाइन्ट कम्पनी छ । अर्काको कम्पनी लिएर, अर्काले काम गरेको सर्टिफिकेट लिएर, त्यही मोडलमा एकैपटक हालिएको आरोप मोदीको छ । 

नेपाली काँग्रेस सांसद राजन केसीले झुटो जालसाझी गरेर गरेर ठेक्का हत्याउन खोजेकोबारे अनुसन्धान हुनुपर्ने बताए । उनले यसबारे समितिले विस्तृतमा छलफल चलाउन समेत माग गरे । सम्बन्धित निकायसँग कागजात मगाएर अनुसन्धान गर्नुपर्ने र त्यतिनजेल केही काम अघि नबढान निर्देशन दिनुपर्ने उनको भनाई छ । 

यसैगरि, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ठेक्कामा प्रयोग गरिएका कागजातहरुबारे प्राविधिकहरुलाई राखेर छानविन गरिनुपर्ने बताए । दुवैतिर ख्याल गरेर छानविन हुनुपर्नेमा उनको जोड छ । 

केही समयअघि जगदुल्ला हाइड्रोपावरको ठेक्कामा झूटो कागजात बनाएको आरोपमा दुई वटा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेसीई–एएनके जेभीमाथि छानविन थालेको थियो । 

लेखा समितिमा उजुरीकर्ताले डोल्पा जगदुल्लाको १०६ मेगावाटको आयोजनामा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पाेरेसन लिमिटेड (जेसीई) र नेपाली कम्पनी एएनकेले फर्जी अनुभवको कागजात देखाई ठेक्का प्रक्रियामा सहभागी भएको उजुरीकर्ताले आरोप लगाएका छन् । 

यता, यो प्रकरणको कनेक्सन ऊर्जामन्त्री दीपक खड्कासम्मै रहेको टिप्पणी शुरु भएका छन् । यो र अन्य हाइड्रोपावरसँग सम्बन्धित अनियमितता सतहमा आउनेक्रम जारी छ । 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update