
काठमाडौं । संसद बैठक बस्नै नसकेको एक हप्ताभन्दा बढी भइसक्यो । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले लगाइरहेको आरोप र राजीनामा मागदेखि छानविनको माग राख्दै प्रतिपक्षी दलहरु अड्डी कसरी रहेका छन् ।
यता, सत्ता पक्षले पनि प्रतिवाद गरिरहेको छ । यही जुहारीले संसद चल्न सकेको छैन् । संसद खुलाउने प्रयास सार्थक बन्न नसकेको बेला संसदको डेडलक कहिलेसम्म लम्बिएला त ? चासो बढेको छ ।
जेठ २० गतेदेखि सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा बैठक अझै चल्न सकेको छैन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा नियमित रुपमा बैठक सञ्चालन गर्न भन्दै पहल थालेपनि सत्ता र प्रतिपक्षीबीचको तानातानका कारण संसद चल्न सकेको छैन् । सभामुखले जेठ २२ गते बिहीबार बैठक सञ्चालन गर्न खोजेपनि प्रतिपक्षीको विरोधपछि स्थगित गर्नु प¥यो ।
प्रतिनिधिसभा गृहमन्त्री रमेश लेखकमाथि लागिरहेको आरोपको छानविनको मागमा अड्किएको छ। गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने विषय केन्द्रित बनिरहेको बेला उनको राजीनामा समेत जोडतोडका साथ माग्नेक्रम चलिरहेको हो । तर, सत्ता पक्षको अडानका कारण संसद खुल्ने कारण देखिन सकेको छैन् ।
सभामुख घिमिरेले नियमित संसद सञ्चालन गर्नका लागि पहल थालिरहेका छन् । तर, सत्ता र प्रतिपक्षका कारण माहोल बन्न सकेको छैन् । यस्तो स्थितिपछि संसद अब आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबारका लागि तय भएको बैठक बस्दै नबसी स्थगित गर्नु परेको हो ।
प्रतिपक्षी सक्रिय
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित अन्य दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले छलफल गर्दै संसदको डेडलक खुलाउने विषयमा उपाय खोज्ने भनेका छन् ।
प्रतिपक्षीको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउन सरकारबाट छानविनको प्रतिबद्धता खोजेको भनेका छन्, भने एक पटक कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफल गर्नुपर्ने समेत भनेका छन् ।
प्रचण्डले प्रतिपक्षीको धारणा सार्वजनिक गरेको जिकिर गरिरहेको बेला संसदको डेडलक खुलाउने बाटो निकाल्ने काम होला ? यो विषयको विमर्श भने चलिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको कार्यकक्षमा नेताहरुले गरेको छलफलले यो विषयमा गम्भिरतापूर्वक जाने र संसद चलाउनका लागि सरकार नै जिम्मेवार बन्ने भनेका छन् । तर, सरकारका प्रवक्ता पृथ्विसुब्बा गुरुङले भने संसद खुल्ने जिकिर गरेका छन् ।
सरकारका प्रवक्ता गुरुङले भने जस्तो संसद सहजै खुल्ने स्थिति भने देखिन्न । तर, प्रतिपक्षी दलहरुले लचकताका साथ छानविन समितिको मागमा आइपुगेको विश्लेषण समेत हुन थालेको छ ।
सत्ता राजनीतिमा तरङ्गको संकेत
गृहमन्त्री प्रकरणकै कारण प्रतिपक्षी र कांग्रेस नजिकिन थालेका छन् । सार्वजनिक रुपमै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भनिरहेका प्रचण्ड यहि प्रकरणबाट देउवासंग नजिकिन सक्ने संकेत देखा परेका छन् ।
प्रतिपक्षी दलको बैठक चलेपछि उनीहरुले तय गरेको रणनीति बुझ्न भन्दै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का लगाएतका नेताहरु प्रचण्डलाई भेट्न पुगे । खड्का र प्रचण्डबीच लामो समयदेखिको घनिष्ठता छ ।
कांग्रेस माओवादी सत्ता गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका खड्कालाई उछिन्दै गृहमन्त्री रमेश लेखकले एमालेसंग नजिक पु¥याएपछि सत्ता सहकार्य सहज बनेको थियो ।
यस्तो स्थितिपछि अहिले फेरि उनै खड्का सक्रिय बन्नु र प्रचण्डले संसद खुलाउन देउवासंग भेट्ने इच्छा जाहेर गर्नुलाई सत्तामा नयाँ तरङ्गको शंका गर्न थालिएको छ । उसोतः छलफलमा खड्कासहित ज्ञानेन्द्रबहादुर कार्की र श्याम घिमिरे उपस्थित रहेका थिए ।
के गर्लान् ओली ?
सरकारले ल्याएको बजेटमाथि अहिले संसदमा छलफलनै रोकिएको छ । सरकारले बजेटलाई अंकगणितका आधारमा बहुमतले पारित गर्न त सक्छ । तर, लामो समय संसद अवरोध कायमै रहेमा सरकारसंग राजनीतिक नैतिकता भने संकटतर्फ हेलिनेछ । प्रतिपक्षी दलहरुले संसदमा गरिरहेको अवरोध भ्रष्टाचार र अवैध आर्थिक कारोबारसंग समेत जोडिएकाले प्रतिपक्षी उच्च मनोबलका साथ देखिन्छन् ।
यस्तो बेला प्रधानमन्त्री ओली र उनको दलले सत्ता साझेदारमाथि लागेका आरोपलाई कडा बचाउ गर्दै संसद खुलाउने विषयमा चलाखी गर्न नसके सत्ता गठबन्धन फेरिने बिन्दुको शुरुवात हुन सक्ने कतिपयले बताउने गरेका छन् । राजनीतिमा चतुर ओलीले अब के गर्लान ? यो विषयमा भने चासो बढेको छ ।