News 24 Television
ओलीको अनेक कदममा देउवा छक्क, ओलीलाई भन्दा प्रचण्डलाई प्यार ? 

काठमडौं । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपले संसद अबरुद्ध छ । यो विषयमा विपक्षीहरु एक स्वर भएर गृहमन्त्रीको राजीनामा आउनुपर्ने र उनीमाथि निश्पक्ष छानविन गरिनुपर्ने माग जोडतोडले उठाइरहेका छन् ।

तर यहीबीचमा सर्वोच्चबाट पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा उत्प्रेषण आदेश आयो । 

त्यस्तै अख्तियारले पनि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता गराएको छ । यो परिघटनाले सत्ता नेतृत्वले नै विपक्षीलाई काउण्टर दिएको रुपमा चर्चा भइरहेका छन्  । यी विषयलाई नै लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ओलीबाटै प्रतिशोध साँधिएको टिप्पणी गरिरहेका छन् । 

अग्नी सापकोटा र माधव नेपालविरुद्धको मुद्धाको श्रृङ्खलालाई विपक्षीले ओलीको अस्त्रका रुपमा लिएका छन् । हुनपनि माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गराएको विषयमा अख्तियार प्रश्नरहित बनेको छैन । 

उता अग्नी सापकोटा प्रकरणको विषय पनि द्वन्द्वकालीन मुद्धा भएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगले छानविन गर्नुपर्नेमा प्रहरीलाई नै छानविन गराउन आदेश दिइएको भन्दै राजनीतिक दोहोरी चलिरहेको छ । यसर्थ यी केही आधारले पनि गृहमन्त्री प्रकरणको काउण्टरमा ओलीले विपक्षीलाई गलाउन यस्तो कदमहरु चालेका रुपमा व्याख्या भइरहेका छन् ।  

ओलीको एकल कदम !

वर्तमान सरकार सदनको सबैभन्दा ठूला दुई दल काँग्रेस र एमाले मिलेर बनेको हो । यसको नेतृत्व केपी शर्मा ओलीले गरिरहेपनि सत्ता साझेदार दल नेपाली काँग्रेस भने अख्तियारले पूर्वप्रधानमन्त्रीहरुमाथि नै खतराको संकेत गराउनेगरी कसरी कदम चाल्यो ? भन्नेबारे अनविज्ञता प्रकट गरिरहेको छ । अझ यी परिघटनाबारे जानकारी लिन पनि काँग्रेसलाई विपक्षी दलको नेतासँग भरपर्नुपर्ने स्थिति बनेको छ । प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ मान्ने हो भने माधव नेपालको मुद्धाबारे जानकारी लिन काँग्रेस सभापति शेरबहादुर देउले नै उनलाई टेलिफोन गरेका थिए । 

देउवाको टेलिफोनबारे प्रचण्डले नै भनेका छन् –‘माधव नेपालमाथि मुद्दा दर्ता भयो, त्यो विषयमा के भएको हो ? भनेर देउवाले सोध्दै हुनुहुन्थ्यो । शेरबहादुरजीले मलाई फोन गरेर सोधेपछि म आफै आश्चर्यमा परेँ । त्यसपछि मैले तपाईंलाई नै यस विषयमा थाहा हुनुपर्ने हो नि भनेर जवाफ दिएँ ।’

प्रचण्डको यो खुलासाले विपक्षी गलाउने गरी भईरहेका पछिल्ला श्रृङ्खलाबद्ध घटनाक्रमहरु प्रधानमन्त्री ओली एक्लैको कदमका रुपमा लिइएको छ ।  

ओलीसँगै सशंकीत देउवा !

माधवविरुद्धको मुद्धालाई देउवाले कानूनी कदमका रुपमा मात्रै लिएका छैनन् । उनले यसलाई ओलीको राजनीतिक दाउपेच वा चलखेलका रुपमा पनि बुझेको स्पष्ट छ । त्यसैले नै देउवाले प्रधानमन्त्री ओलीको साटो प्रचण्डलाई टेलिफोन गरेको रुपमा बुझ्न सकिन्छ । सत्ताको आलोपालोमा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने शर्त छ । यस्तैमा ओलीले देउवालाई सहजै पद हस्तान्तरण गर्नेमा पनि शंका नै देखिन्छ । तर यदी सत्ता भंग भएमा सदनको सबैभन्दा ठूलो दलको हैसियतले देउवा नै प्रधानमन्त्री बन्ने पक्का छ । 

यही परिस्थितिलाई ‘किल’ गर्न ओलीले माधवलाई तर्साएर उनी नेतृत्वको नेकपा एसलाई विभाजित वा सिंगो पार्टी नै एमालेमा समाहित गराउने ओली रणनीति पनि देखिन्छ । यदी यो रणनीति सफल भए ओलीले बाँकी कार्यकाल पनि सत्ता हातमा लिन सक्छन् । यही प्रयोजनका लागि ओलीले घरी–घरी यस्ता कदम त चालिरहेका  छैनन् ? भन्नेमा देउवा  आँफै अन्योलमा देखिन्छन् । यी कारणले पनि देउवा ओलीसँगै आशंकीत बन्नुपरिरहेको अवस्था छ । यतिमा मात्रै होइन, सत्तामा रहेका ओलीले विपक्षीसँगै काँग्रेसविरुद्ध नै फायर खोल्लान् कि भन्नेमा समेत देउवा त्रसित देखिन्छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update