News 24 Television
संसद बैठक : पेलेरै अघि बढ्ने सत्तापक्षको संकेत

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुंगिएको छ । 

आईतवार संसदको अवरोध हटाउन सभामुखले नेपाली काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभएको हो । छलफलमा सत्ता र प्रतिपक्षहरुले आ–आफ्नै अडान दोहो¥याउँदा सहमति हुन सकेको छैन । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदलाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए । उनले प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए । उनले प्रतिपक्षले असहयोग गरेपनि संसदको कारबाही अगाडि बढाउने जिकिर गरे । 

उनले भने, ‘आजबाट संसद सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनैपनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ । संसद सञ्चालन गर्न दिने कि नदिने भन्ने निष्कर्ष उहाँहरुले दिनु भएको छैन । उहाँहरुले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरुले अप्ठ्यारो गरेपनि केही असहज होला तर संसद अगाडि बढ्छ ।’

नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरु नरहेको बताए । उनले प्रतिपक्षीले अवरोध गरेपनि र नगरेपनि बैठक बजेटमाथिको छलफल शुरु हुने बताए । 

उनले भने, ‘प्रमुख प्रतिपक्षी दहलहरुले सहमतिको लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । हामीले त्यो हामीले मान्दै आयौँ । आजको बैठकमा चाँही हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन । आजदेखिको बैठक हामी स्मुथली अगाडि बढाउन चाहन्छौँ । बजेटमाथि आजदेखि छलफल आरम्भ हुन्छ ।’

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद अवरोध हुँदै आएको छ । निरन्तरको अवरेधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update