News 24 Television
राजावादीभित्र शक्ति हत्याउने होड, आन्दोलन नै तुहाउने को ? 

काठमाडौं । राजसंस्था फर्काउने आन्दोलन विवाद र नेतृत्व तानातानका कारण भताभुङ्ग बन्न पुगेको छ । राजावादी नेताहरु एकले अर्कोको अस्थित्व स्वीकार गर्न नसक्दा समस्या सिर्जनामात्रै भएको छैन, आन्दोलन नै के हुने हो भन्ने अन्योलमा धकेलिएको छ । यता, राजावादी जनआन्दोलन समिति नै भंगको स्थितिमा पुगिसकेको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीको अभिव्यक्तिले स्थिति फेरिने संकेत देखा पर्न थालेका छन् । 

राजसंस्था फर्काउने भन्दै आन्दोलन चलिरहेपछि राजावादी नेताहरु हौसिए । जेठ १५ गतेबाट हुने आन्दोलनले राजालाई नारायणहिटी दरबारमा ल्याइहाल्ने समेत भनिरहेका थिए । तर, अहिले राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने बताएका छन् । वर्षा लाग्ने वित्तिकै आन्दोलन रोक्नेहरुले राजसंस्था तत्काल फर्काउने स्थिति सकिएको हो भन्ने सन्देश दिएका हुन् त ? राजावादीहरुमा कौतुहलता बढेको छ । 

राजावादी आन्दोलन कसरी अघि बढ्ला ? यो आम चासोको विषय बनिरहेको बेला राजसंस्था पुनस्र्थापना आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदीले अहंकार पालेको भन्दै राजावादी गतिविधि टुक्रिन पुगेको छ । राजसंस्था पुनस्र्थापना महाअभियानका प्रवक्ता स्वागत नेपालले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै आफु बाहिरिने भनेका छन् । 

बुढाहरु अहंकारी भएकोदेखि पार्टीका नेताहरु रहेको हुनाले आन्दोलन अघि बढ्न नसक्ने भन्दै स्वागतले चर्को असन्तुष्टी र आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा लेख्दै स्वागतले भनेका छन्, ’संयुक्त जनआन्दोलन समितिमा एकजना बाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरु थिए ।

स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रुपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो । उसले सकेसम्म बुढाहरुलाई मिलाउन सम्झाउन प्रयास गर्यो, तर बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको वीचमा गरेर भताभुङ्ग पारे, जनभावनालाई तुहाउन प्रयास गरे । तर युवाले तुहिन दिने छैन आन्दोलन सफल भएरै छोड्ने छ । केही समयको मात्र धैर्य जरुरी छ । 

हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरु ढुक्क हुनुहोला।’ कुनै बेला एमालेको राजनीति हुंदै आफ्नै दल खोलेर पनि चुनावमा समेत स्वतन्त्र उम्मेदवार बनेका उनी पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय रहेका छन्, भने उनको यो सन्देशबाटै राजावादी गतिविधिमा नेतृत्वको खोजी चलिरहेको भन्न थालिएको छ। 

नेतृत्वको दौड

राजावादी आन्दोलनको नेतृत्व स्वभाविक रुपमा संसदमा पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपथ्र्यो । तर, पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्च नवराज सुवेदीलाई जिम्मा लगाइदिए । युवा पुस्तादेखि पछिल्लो समय पर्दापछाडी पुगिसकेका सुवेदी एकाएक चर्चामा त आए तर, उनको नेतृत्व धेरै लामो समय टिक्नै सकेन् । दुर्गा प्रसाईलाई बोकेर अघि बढ्न खोजेका सुवेदीलाई प्रसाई पक्राउ परेपछि स्थिति बिग्रिन पुग्यो । त्यसपछि राजावादी नेताहरुले केहि समय एकताबद्ध भएको सन्देश त दिए तर, त्यो लामो समय टिक्न सकेन् ।
 
कमल थापा, केशरबहादुर विष्ट, नवराज सुवेदी संगै उभिन खोजेपनि राजेन्द्र लिङ्देन यसमा चासो देखाउन तयार देखिन्नन् । बलियो शक्ति हुँदाहुँदै पनि आफूलाई पाखा लगाउन खोजिएको ठानेका लिङ्देनले दोश्रो चरणको आन्दोलन घोषणा गर्ने भनिएको दिन सहभागीता नै जनाएनन् । हलमा कोलाहाल र विवाद चल्यो । कमल थापाले बोल्नै पाएनन् । त्यसपछि नवराज सुवेदीले आन्दोलन घोषणा नै गर्न नसकेर कार्यक्रम स्थगित गरे । यसरी चलिरहेको आन्दोलनको माहोलमा लिङ्देनले वर्षा लागेको भन्दै उपर्युक्त समयमा आन्दोलन गर्ने भन्न थालेका छन भने राजावादी अन्य व्यक्ति र शक्तिहरु नेतृत्व फेर्ने र सुवेदीको स्थानमा अरुलाई नै उभ्याउने प्रयासमा जुटेका छन् ।

हिमानीको अपेक्षा र राजावादी निस्क्रियता

कमल थापाले अब राजाको रुपमा हिमानीका छोरा हृदयेन्द्र शाह हुन सक्ने र त्यसमा ज्ञानेन्द्रले पनि सहमति जनाउनुपर्ने भन्दै बहस छेडिदिए । त्यसपछि अमेरिकामा अध्ययन गरिरहेका हृदयेन्द्र नेपालमा छन् । उनी राजा वीरेन्द्र शाहको वंश नास भएको जेठ १९ को दिनमा दीप प्रज्वलनमा सहभागी बने । त्यसमा आमा हिमानीसंगै समर्थकसहित उनी कमलादी पुगे । अहिले हिमानीसंगै हृदयेन्द्र फेरि जुम्ला पुगेका छन् । 
उनीहरुले त्यहा परोपकारी काम गर्ने भनेका छन् । ठूलो स्वागत गरिएको थियो । तर, राजावादी शक्ति र व्यक्तिहरु भने जस लिने होडमा जुध्न थाल्दा आन्दोलन सेलाउने बाटोमा पुगेको छ । 

पुर्वराजा ज्ञानेन्द्र शाहको परिवारले राजसंस्था फिर्ताको अपेक्षा तीब्र पारिरहेको बेला आन्दोलन गर्नेहरु अनेक बहाना, अहंकार र तानातानमा फस्दा फेरि राजसंस्था फर्किने आन्दोलनले ठूलो धक्का व्यहोर्न पुगेको छ । यद्यपी युवाहरुले छुट्टै आन्दोलन गर्ने भन्दै स्वागत नेपालजस्ता केहि युवाहरुले छुट्टै तयारी भने गरिरहेको बताइन्छ । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update