
काठमाडौं । प्रतिनिधिसभा बन्धकप्राय बन्न पुगेको छ । संसद खुलाउन भन्दै चलेका बैठकले निष्कर्ष निकाल्न सकेका छैनन् भने प्रतिपक्षी पनि भिड्ने मुडमै छ । सत्ता र प्रतिपक्षीको अडानका कारण संसद सहज बन्न नसकिरहँदा राजनीतिक तनाव चुलिएको छ, भने प्रचण्ड र शेरबहादुर देउवाबीचको भेट पनि मिठासपूर्ण बन्न सकेन ।
संसदको अवरोध कायमै रहेको बेला चलिरहेका छलफल बैठकले निष्कर्ष निकाल्न सकेको देखिन्न । प्रतिपक्षीको अडान र सत्तापक्षको हठले संसद चल्ने स्थिति नबनेपछि सत्तापक्षले भन्दैछ, प्रतिपक्षीले अर्घेल्याई गर्न थाले । धेरै समय संसदलाई बन्धक बनाएर राख्न सकिन्न ।
सत्तापक्षले संसदमा पेलेर अघि बढ्ने भनेपनि प्रतिपक्षीले यसलाई स्वीकार नगर्ने भनिरहेका छन् । गृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अनुसन्धान छानविनको माग गर्दै आएका उनीहरुले लचकता देखाउन खोजेको सन्देश दिइसकेका छन् । तर, संसदीय जुहारी रोकिएको छैन । सत्ता पक्षले जबरजस्ती गरे प्रतिवादमा उत्रिने मुडमा रहेका विपक्षीहरुले रणनीति तयारका लागि निरन्तर छलफल समेत गरे । तर, सहमति भने जुटेन् । सत्ता पक्ष छानविन समिति गठन गर्न तयार नभएको आरोप लगाउदै प्रतिपक्षी दलले संसद कसरी सहज बनाउने भन्ने जिम्मा सत्तापक्षकै रहेको भनिरहेको छ ।
देउवा प्रचण्डको भेट
संसद चलाउन भन्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे । देउवा प्रचण्डको भेट भने उत्साहपूर्ण हुन सकेन् ।
संसद खुलाउनका लागि प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेट्ने वा देउवालाई ? यो विषयमा समेत चासो चलिरहेको बेला सत्ता गठबन्धनमा संकट र अविश्वास पैदा हुन सक्ने डरका कारण देउवा खास नखुलेको बताइन्छ । देउवा प्रचण्डबीचको छलफलले सार्वजनिक निष्कर्ष निकाल्न नसकेपनि दुई नेताहरुबीच लामो छलफल भएको बताइन्छ । तर, देउवाकै विश्वासपात्रमाथि छानविन समिति गठनमा भने देउवाले चासो नदेखाएको माओवादी नेताहरुले बताउने गरेका छन् । उसोतः देउवा प्रचण्डको भेटलाई अर्थपूर्ण मानिएको छ ।
खुलेन संसदको डेडलक
संसद बजेट पेश भएदेखि अवरोधमै रहिरहेको छ । प्रतिपक्षी र सत्तापक्षको अडानका कारण चल्न सकेको छैन भने सभामुख देवराज घिमिरेले नियमित रुपमा संसद सञ्चालनका लागि सहयोग गर्न भनिरहेका छन्, भेटघाट बढाइरहेका छन् । तर दलीय सहमतिका लागि नयाँ आधार भेटिन थालेको पनि सभामुख घिमिरे बताइरहेकका छन् ।
प्रतिनिधिसभा चल्न नसकेपनि प्रतिपक्षी दल र कांग्रेसले एकखाले सहमति तयार पारेको बताइन्छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रचण्डसहितका नेताहरुसंग गरिेरहेको सम्वादले सहमतिको बिन्दु पहिल्याउन थालेको चर्चाकाबीच प्रचण्डले पनि भाषामा केहि सहमति जुटे संसद चल्ने भनिसकेका छन् ।
यसरी संसद बैठकका लागि बैठकस्थलसम्म पुग्ने अनि फर्किने गरिरहेका सत्ता र प्रतिपक्षका सांसदहरुले समेत आफ्ना तर्क राख्ने र दोषारोपणसहित आफैलाई सहि भन्नेमा समय खर्चिदै आएका छन् ।
संसद चलाउनका लागि सहमतिको नजिक पुगेको भनिएपनि प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ भने सम्भवत अख्तियारको छानविन सकिएपछि आयोग गठन गर्ने विषयमा सहमतिको प्रयास गर्ने गरि अघि बढेको बताइन्छ ।
सत्ता नेतृत्वमा एमाले, निर्णायक कांग्रेस
सत्ताको नेतृत्व एमालेले गरिरहेको छ । एमालेले अहिले सरकारको नेतृत्व गरिरहेपनि संसदमा चलिरहेको गतिरोधमा भने एमाले निर्णायक बन्न सकेन । एमाले निर्णायक बन्ने स्थितिको अन्त्य गर्दै कांग्रेसले लिड रोल खेलिरहेको छ । संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्षसंगको सहमति कांग्रेसले एमालेलाई ब्रिफिङ गर्ने र सहमति जुटाउने तहको राजनीतिक वातावरण बन्नुलाई धेरैले अर्थपूर्ण भनिरहेका छन् । उसोतः कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबारमात्रै एक कार्यक्रमलाई सम्वोधन गर्दै भनेका थिए, कांग्रेस बलियो बन्नुपर्छ ।
कांग्रेसले सत्ताको नेतृत्व नगरेपनि प्रतिपक्षीसंगको सहकार्यलाई थप प्रगाढ बनाउदै लगेको बेला प्रधानमन्त्री केपी ओलीले अबको १३ महिनापछि सत्ता हस्तान्तरण गर्ने भन्दै दिएको अभिव्यक्ति बीचमै तुहिने त होइन ? आशंका भने बढेका छन् ।
सत्ता सहकार्यमा भाँजो हाल्ने प्रयासमा प्रतिपक्षी जुटेको आरोपमा कडा पेश भएका प्रधानमन्त्री र सत्तामा हस्तक्षेपकारी कदम चाल्दै आएको कांग्रेसले पल्लाभारी कायम गर्न खोजेको चर्चा समेल चल्न थालेको छ ।