News 24 Television
माओवादीले राष्ट्रिय सभामा पनि माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिषा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभए पनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिए ।

 प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्ने कुरा सहमति नजिक पुगे पनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनलाई सहज बनाइदिनुपर्ने बताए । गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निश्पक्ष छानविन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानविन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड दिए ।

उनले अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानविनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको स्पष्ट पारे । 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update