News 24 Television
विद्याको सक्रियताले ओलीलाई छटपटी, ‘रेड कार्पेट’ले स्वागत गर्ने तयारी कसको ? 

काठमाडौँ । देशको अभिभावकीय भूमिका निर्वाह गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले नेकपा (एमाले)को सक्रिय राजनीतिमा लगभग फर्किसकेकी छन्। पार्टीका विभिन्न संगठनात्मक गतिविधि र सार्वजनिक कार्यक्रममा उनको सक्रियता उल्लेख्य रूपमा बढिरहेको छ। चीन भ्रमणपछि झनै सक्रिय बनेकी भण्डारीको राजनीतिक संलग्नताले उनी एमालेको अग्रसर भूमिकामा फर्किन सक्ने चर्चा थप बलियो बनाएको छ। चीन भ्रमणका क्रममा उनलाई दिइएको उच्च सम्मान र त्यसपछिको सक्रियताले भण्डारीलाई एमालेको रणनीतिक राजनीतिमा महत्वपूर्ण भूमिकामा ल्याउने संकेत देखिएको छ। हालै उनले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा पुगी राजनीतिक सन्देश दिन खोजेकी छन्। यस घटनालाई एमालेको सक्रिय राजनीतिमा उनको पुनरागमनको संकेतको रूपमा हेरिएको छ ।

भण्डारीको सम्भावित फिर्तीले एमालेको आगामी महाधिवेशन तथा नेतृत्व चयनमा उल्लेख्य प्रभाव पार्ने अनुमान गरिएको छ। विशेषतः उनलाई पार्टीको अध्यक्ष बनाउन सक्ने गृहकार्य भइरहेको चर्चा एमाले भित्र चलिरहेको छ। भण्डारीको सक्रियता एमालेभित्र ओलीको एकलौटी नेतृत्वप्रति असन्तुष्ट समूहका लागि नयाँ आशाको रूपमा देखिएको छ। पार्टीभित्र ओलीप्रति आलोचक रहेका नेताहरू भण्डारीको उदयलाई असन्तुष्टि न्यून गर्न र बाँकी कम्युनिस्ट घटकलाई एकजुट गर्न सक्ने अवसरको रूपमा हेरेका छन्। एमालेभित्र एक समूहले भण्डारीलाई “रेड कार्पेट”ले स्वागत गर्ने तयारी गर्दा अध्यक्ष ओली भने उनलाई रोक्ने रणनीतिमा सक्रिय देखिन्छन्। 

भण्डारीको सक्रियता र सम्भावित नेतृत्वको दाबेदारी ओलीका लागि चुनौती बन्न थालेको छ। पार्टीभित्र गुटबन्दी नगर्न चेतावनी दिँदै ओलीले आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेका छन्। पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनले एमालेको आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने आँकलन गरिएको छ। उनी कम्युनिस्ट आन्दोलनको एकताका लागि बारम्बार नेताहरूलाई सुझाव दिँदै आएकी छन्, जसले उनलाई एकताका प्रतीकका रूपमा समेत प्रस्तुत गरिरहेको छ ।

ओलीले भण्डारीको सम्भावित फिर्ती रोक्न रणनीति अपनाएपनि  भण्डारीको लोकप्रियता र उनीप्रति समर्थन जनाउने नेताहरूको सक्रियताले उनी ढिलोचाडो एमालेको सक्रिय राजनीतिमा आउने पक्काजस्तै छ । यसले आगामी दिनमा एमालेको नेतृत्वमा कस्तो प्रभाव पर्छ भन्ने विषय नेपाली राजनीतिका लागि निकै महत्वपूर्ण बन्नेछ । भण्डारीको पुनरागमनको मूल आधार भनेको मदन भण्डारीको “जनताको बहुदलीय जनवाद (जबज)” को राजनीतिक दर्शन मानिन्छ। 

जबजको जगमा एमाले ठूलो संसदीय शक्ति बनेकोले भण्डारीलाई पार्टी नेतृत्वमा सहजै स्वीकार गर्न सकिने धारणा पार्टीभित्र फैलिएको छ। तर, सत्तामा आफ्नो वर्चस्व कायम राख्न चाहने ओली र उनको समर्थक समूहलाई चुनौती दिँदै नेतृत्व स्थापित गर्नु भण्डारीका लागि सहज हुने छैन। राष्ट्रपति जस्तो उच्च पदमा सम्हालिसकेको व्यक्ति फेरि सक्रिय राजनीतिमा आउने विषयलाई जनताले खास रुचाएको भने देखिन्न। तर, माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय बनिसकेको नजिरलाई देखाएर राजनीतिमा हाम फाल्ने प्रयास भने चलिरहेको छ । 

राष्ट्र प्रमुखको जिम्मेवारी सम्हालिसकेकी व्यक्तिले फेरि सक्रिय राजनीतिमा प्रवेश गर्नु नैतिक दृष्टिले विवादास्पद विषय बनेको छ। विद्याको सम्भावित उदयले पार्टीभित्रको शक्ति सन्तुलन र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिन सक्छ। तर, यो यात्रा सरल नहुने निश्चित छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update