
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताए । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउँदै उनले सबैजना तराईमा सरेको बताए । पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने उनकाे भनाइ छ ।
सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउँदै जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको पनि बताए । हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको उनकाे भनाइ छ ।
नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको बताउँदै देउवाले जंगल बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो देखिएको बताए ।
उनले भने, ‘विपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो । तर अब अहिले गाउँ नै रित्तिसक्यो । गाउँ छैन । कोही गाउँमा बस्न तयार छैन । सबै तराईमा आइसकेका छन् । पहाडमा बस्न कोही तयार छैनन् । पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ । हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ ।’
सभापति देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको बताउँदै ट्रम्प उक्त सम्झौताको विरुद्धमा रहेको समेत बताए ।