
काठमाडौँ । कोरोना संक्रमण फैलिने खतरा बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा सतर्कता अपनाउनुपर्ने भएपनि यसबारे खास चासो दिएको देखिन्न । भारतमा पछिल्लो करिब एक महिना यता धेरैले कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या समेत बढिरहेको छ । यसै पक्षलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले समेत कोरोना बढ्दोक्रममा रहेकाले सतर्कताको अपिल गरेको छ, भने डेंगी संक्रमणको खतरा समेत उत्तिकै देखिन्छ ।
भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि खुला सीमाका कारण संक्रमण फैलिने खतरा उत्तिकै बढेको देखिन्छ । भारतमा कोरोना संक्रमणका कारण पछिल्ला केही दिनमै ५६ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या मात्रै बढेको छैन, संक्रमितको संख्या समेत बढिरहेको छ । अहिले भारतमा ४५ सय बढिमा कोरोना संक्रमण पुष्टी भएको बताइन्छ भने केराला राज्यमा मात्रै संक्रमितको संख्या १४ सय हाराहारी रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । यस्तो स्थितिमा नेपालसंगको खुला सीमानाका र सहज आवतजावतका कारण संक्रमण भयावह बन्ने खतरा बढेको छ । तर, स्वास्थ्य मन्त्रालयले पूर्वतयारी चलिरहेको दाबी गर्दै सतर्क भने रहन भनेको छ ।
कोरोना संक्रमण बढ्ने संकेत पाएपछि राष्ट्रियसभामा समेत यो विषयमा प्रश्न उठेको छ । सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले सरकारको ध्याणाकर्षण गराएका छन् ।
कोरोना संक्रमणको खतरा बढेपनि सरकारले राजनीतिक सेटलमेन्टमै ध्यान दिनुपर्नेदेखि बजेट लगायतका विषयमा केन्द्रिकृत ध्यान दिएकाले यसमा समेत सचेतता अपनाउनुपर्ने देखिन्छ । नेपाल–भारत खुला सीमानाका रहेका कारण पनि नाकामा स्वास्थ्य परिक्षण, क्वारेन्टाइन लगायतका कुरामा ध्यान दिन नसके कोरोना संक्रमण चुनौतिपूर्ण बन्ने खतरा समेत उत्तिकै देखिन्छ ।
डेंगीको खतरा पनि उस्तै
– सामान्य वर्षा लागेपछि पानी जम्मा हुने र डेंगी सार्ने लामखुट्टेको विकास तीव्र गतिमा हुने कारण यो समयमा डेंगी संक्रमण समेत ठूलो चुनौतिको रुपमा देखापर्ने गरेको छ ।
– गर्मि समयमा डेंगी संक्रमण तीव्र गतिमा फैलिने हुनाले पनि सतर्कता अपनाउनुपर्नेमा विज्ञहरुले जोड दिदै आएका छन् ।
– पानी जम्मा हुने खाल्डा पुर्ने, घर वरपरका खाल्डाखुल्डीमा पानी जम्मा हुन नदिने लगायतका उपाय अवलम्बन गर्दै डेंगी सार्ने लामखुट्टेको लार्भा विकासमै अवरोध सिर्जना गर्नुपर्नेमा जोड दिने गरिन्छ ।
– न्यूनीकरणको प्रयासका बाबजुत पनि डेंगी संक्रमण समेत नेपालका लागि ठुलो चुनौति बन्ने गरेको छ ।
– समयमै उपचार नगर्दा ज्यानै जाने खतरा हुने भएकाले समेत डेंगी नियन्त्रणमा सचेतता आवश्यक देखिन्छ ।