News 24 Television
एमाले सचिव भट्टराई भन्छन्- 'रास्वपाको ५ बुँदे प्रस्तावमाथि छलफल हुँदैन'

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रश्तावमाथि छलफल नहुने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताए ।

बरू माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा भने सहमत रहेको उनकाे जिकिर छ । उनले विपक्षी दलहरूले फेरि छलफलको लागि एक दिनको समय मागेको कारण बुधबार स्थगित गरी बिहीवार अपरान्ह  संसद बैठक बोलाइएको बताए ।

उनले माओवादी केन्द्रको दुई बुँदे प्रस्तावमा विपक्षी दलहरूले सहमति जनाउन कोसिस गर्ने विश्वास व्यक्त  गर्दै भने,  “रास्वपाले पठाएको ५ बुँदेमा कुनै छलफल नै हुँदैन, त्यसमा जान सकिँदैन । हामीले माओवादीले ड्राफ्टसहित पठाएको कुरामा सहमत छौँ । विपक्षी दलले भोली एक दिन फेरी छलफल गर्न समय माग गर्नुभएको छ । त्यस कारण संसद्को बैठक पनि अपराह्न ३ बजे राखिएको हो । माओवादीको दुई बुँदेमा, जुन हामीले पनि सहमति जनाएका छौँ, त्यसमा सहमति गर्ने कोसिस गर्नुहुन्छ होला । त्यो भएन भने लामो समय संसद अवरुद्ध हुन सक्दैन । संसद अगाडी बढ्छ ।” 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएपछि नेकपा (माओवादी केन्द्र), रास्वपा लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । सोही अनुसार बुधवारको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध भयो । संसद्को गतिरोध अन्त्यका लागि रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update