News 24 Television
फेरिएका देउवा, प्रचण्ड प्राथमिकतामा पर्दा ओलीमा त्रास

काठमाडौँ । गृहमगृहमन्त्री रमेश लेखकको राजीनामा माग, माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा र बजेट प्रस्तुतसँगै सत्ता गठबन्धनमा खटपटका संकेत देखिएका छन् । यी घटनाक्रमसँगै सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचसमेत असझदारी बढेको चर्चा भइरहेका छन् । यसअघि काँग्रेस र एमालेबीच गभर्नर नियुक्ति प्रकरणमा ठूलै असमझदारी चुलिएको थियो । यद्यपि काँग्रेसले नै गभर्नर हात पारेपछि गठबन्धनको संकट टरेको बताइन्छ । 

काँग्रेस नेताहरु नै अहिले त्यो बेला देउवाले अडान नलिएको भए गठबन्धन टुटिसक्ने खुलासा गरिरहेका छन् । तर गभर्नर नियुक्तिको च्याप्टर मिलिसकेपनि अहिले पुनः काँग्रेस र एमालेबीच अविश्वास बढ्दो छ । यसको संकेत स्वयम प्रधानमन्त्रीले ओलीले समेत गरिरहेका छन् । उनी विभिन्न बहानामा आफूहरुलाई काँग्रेससँग भिडाइरहेको दावी गर्छन् । 

गृहमन्त्री रमेश लेखकको राजीनामा मागसँगै माओवादीले यसै विषयमा काँग्रेससँग नयाँ सझदारी गरेको आशंका पनि भइरहेको छ । त्यस्तै माधव नेपालविरुद्ध अख्तियारले दायर गरेको मुद्धाका विषयमा पनि प्रधानमन्त्री ओलीसँग देउवा सन्तुष्ट छैनन् । उनी सरकारले ल्याएको बजेटप्रति पनि सन्तोश मानिरहेका देखिँदैनन् । देउवाले मंगलबार मात्रै बजेटको सवालमा आफू र पार्टी नै सन्तुष्ट नरहेको खुलाए ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरु एमाले र नेपाली काँग्रेसको सहकार्य भड्काउने खेलमा रहेको भनिरहँदा देउवाले बजेटमाथि यस्तो टिप्पणी गर्नुलाई संयोगमात्रै मान्न सकिन्न । किनकी अदालतले माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका अग्नीसापकोटाविरुद्धको मुद्धामा उत्प्रेषण आदेश जारी गरेपछि नै काँग्रेस र माओवादीबीच निकटता बढेको देखिन्छ ।

गृहमन्त्रीको राजीनामा माग नै बटमलाईन बनाइरहँदा आएको उत्प्रेषण आदेशले माओवादीलाई काँग्रेससँग नजिकिन बाध्य बनायो । त्यसलगत्तै माधव नेपालविरुद्ध भ्रष्टचारको मुद्धा दायर भएपछि अझ काँग्रेस माओवादी नजिकिएका छन् । यो सम्बन्धमा त देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेरै विषयवस्तुबारे जानकारी लिएका थिए । यसले ओली देउवाबीच अझ आशंका बढेकोे छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सक्रियतामा प्रचण्ड र देउवाबीच भेटवार्ता पनि भयो । यसपछि प्रधानमन्त्री ओली अझ झस्किएका छन् । पूर्णबहादुर खड्कालाई विगतमा पनि देउवा प्रचण्ड मिलाउने सुत्रधारका रुपमा लिइँदै आएको छ ।  

देउवा फकाउँदै ओली !

सत्तारुढ दल नेपाली काँग्रेसलाई फकाउने ओली रणनीति भने निरन्तर जारी छ । प्रधानमन्त्री बनेपछि ओलीले देउवालाई सत्ता छाड्ने मिति पटक–पटक सुनाउँदै आएका छन् । आधा–आधा कार्यकाल सत्ताको नेतृत्व गर्ने सहमति अनुसार ओलीको प्रधानमन्त्री काल अब १३ महिना मात्रै बाँकी छ । यस्तैमा ओलीले यही जेठ महिनामा मात्रै पनि देउवालाई सत्ता समयमै छाड्ने विषयमाथि दुई पटक प्रतिबद्धता जनाइसकेका छन् । 

विगतमा झैँ यो पटक पनि ओलीले सत्तामा संकट आउने वित्तिकै देउवालाई पद हस्तान्तरण मिति स्मरण गराएर थुमथुमाउने प्रयास गरेको देखिन्छ । तर बजेटको सवाल, गृहमन्त्री प्रकरण र पूर्वप्रधानमन्त्रीहरुमाथि नै अनुसन्धान गर्नेगरी ओलीले खोलेको फायरकाबीच देउवाले वर्तमान सत्ताको सहकार्यलाई नै निरन्तरता दिन्छन् ? वा विपक्षीसँगै नयाँ समझादारी गर्छन् ? त्यो भने अहिले भन्न सकिने अवस्था  छैन । तर विगतमा भेट माग्दा पनि समय नदिने देउवाले प्रचण्डसँग आफ्नै चाहनामा भेट गर्नुलाई भने महत्वका साथ हेरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update